STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अब जनयुद्धको नक्कल गरेर विद्रोह असम्भव अध्यक्ष दाहाल

Janjati Khabar – जनजाति खबर | २०७६ फाल्गुण १, बिहिबार

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्ध र जनआन्दोलनको बलमा शान्ति प्रक्रिया हुँदै समाजवादको आधार निर्माणतर्फ मुलुक अघि बढेकाले अब जनयुद्धको नक्कल गरेर विद्रोह सम्भव नहुने बताउनुभएको छ । नेकपा केन्द्रीय कार्यालय धुम्रबाराहीमा ‘जनआन्दोलन र जनयुद्धका शहीदको स्मृतिमा आज आयोजित श्रद्धाञ्जलिसभा’मा अध्यक्ष दाहालले जनयुद्ध र विद्रोह एक ऐतिहासिक तथा विशिष्ट परिस्थितिमा जनताको आवश्यकता र नेतृत्वको सही विचारका आधारमा हुने भएकाले अब जनयुद्धको नक्कल हुन नसक्ने स्पष्ट गर्नुभएको हो । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहलाई सङ्केत गर्दै उहाँले भन्नुभयो, “एकथरि साथीहरु फेरि विद्रोहतिर लाग्नुभएको छ, तर हामीले सबै परिस्थिति र विश्व अनुभवको समीक्षा गरेर शान्ति प्रक्रियामा आएर मौलिक तरिकाको जनवादी क्रान्तिमा सामेल भएका हौँ, जनयुद्धलाई निरन्तरता दिएको भए हामी पेरु वा श्रीलङ्काको विद्रोहजस्तै सकिने थियौँ, हामीले कम्युनिष्टहरुबीचको सहकार्यसहित बुर्जुवाको साथ लिएर गणतन्त्र स्थापना गरेका छौँ ।” [caption id="attachment_31233" align="alignnone" width="900"] तत्कालीन नेकपा माओवादीले विसं २०५२ फागुन १ गते गणतन्त्र स्थापनाको लक्ष्यसहित जनयुुद्धको आरम्भ गरेको थियो । विश्व कम्युनिष्ट आन्दोलनका उपलब्धि र क्षतिका अनुभवबारे चर्चा गर्दै उहाँले क्रान्ति कुनै आयात या निर्यात गर्ने विषय नभएकाले यसलाई हरेक देशको ऐतिहासिक आवश्यकता र मौलिकताका आधारमा हेर्न आग्रह गर्नुभयो ।[/caption] अध्यक्ष दाहालले कम्युनिष्टहरु सत्तामा पुगेपछि विचलन हुने रोगबाट माथि उठेर जनताको मनोभावनालाई आत्मसात् गर्र्दै त्याग, समर्पण र बलिदानको भावनाका साथ शान्तिपूर्ण सङ्घर्ष, विकास र समृद्धिबाट वैज्ञानिक समाजवादको दिशामा अघि बढ्न नेता–कार्यकर्तालाई आग्रह गर्नुभयो । उहाँले सात राजनीति दलसँग १२ बुँदे सहमति हुनुअघि तत्कालीन नेकपा एमालेका नेता वामदेव गौतमलगायतसँग संविधानसभाका लागि सहमति भएको स्मरण गर्दै उहाँले शान्तिपूर्ण जनआन्दोलनमा रहेका नेपाली काँग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले समेत राजतन्त्रविरुद्ध अझ फौजी आक्रमण बढाइदिन आफूलाई आग्रह गरेको स्मरण गर्नुभयो । तत्कालीन एमाले र माओवादी जनयुद्धका शुरुआती वर्षमा तीखो सङ्घर्षमा रहे पनि पछिल्ला समयमा कम्युनिष्ट शक्तिबीचको सहकार्यलाई जोड दिने माओवादीको निर्णयकै पृष्ठभूमिमा हाल नेकपाको एकता भएको उल्लेख गर्दै उहाँले विसं २०२९ को झापा विद्रोह सुखानीका शहीद र जनयुद्धका शहीदसम्मलाई जोडेर नेतृत्वले सही विचार र सोचका साथ मुलुकलाई सही गन्तव्यमा पु¥याउने दृढता पनि व्यक्त गर्नुभयो । नेकपाका उपाध्यक्ष वामदेव गौतमले नेपालको जनयुद्धको घटना विश्व इतिहासमा विरलै हुने ऐतिहासक घटना भएको जनाउँदै जनयुद्ध र जनआन्दोलनले सामन्तवादलाई परास्त गरेको र साम्रज्यवादलाई कमजोर बनाउने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “जनयुद्ध बलिदानको युद्ध हो, मुक्ति र सङ्घर्षको युद्ध हो, यति ठूलो बलिदान संसारको इतिहासमा भएको थिएन, ती शहीदहरुलाई सम्मान गर्दै अब हामीले बहुदलीय प्रतिस्पर्धाका आधारमा समाजवाद स्थापनामा लाग्नुपर्छ ।” उपाध्यक्ष गौतमले जनयुद्धका क्रममा तत्कालीन एमालेका करीब ३०० नेता–कार्यकर्ता मारिएकामा त्यसको लेखाजोखा पनि हुनुपर्ने बताउनुभयो । कार्यक्रममा शहीदहरुप्रति श्रद्धाञ्जलि व्यक्त गरिएको थियो । तत्कालीन एमाले र माओवादी केन्द्रबीच गत २०७५ जेठ ३ गते एकता भएपछि हरेक फागुन १ लाई ‘जनआन्दोलन र जनयुद्धका शहीदको स्मृतिमा आज आयोजित श्रद्धाञ्जलिसभा’ का रुपमा मनाउन थालिएको छ ।
Categorized in राष्ट्रिय