
अब घरायसी प्रयोजनका ग्यासमा अनुदान
Janjati Khabar – Janjati Khabar | २०८१ माघ २१, सोमबार
काठमाडौँ - नेपाल आयल निगमले एलपी ग्यास व्यावसायिक र घरायसी प्रयोजनका लागि परल मूल्यमा बिक्री गर्ने तयारी गरेको छ । दुवै प्रयोजनमा ग्यास परल मूल्यमा बिक्री गरेता पनि घरायसी प्रयोजनमा खपत हुने ग्यासमा भने अनुदान दिने तयारी थालेको निगमले जनाएको हो ।
घरायसी प्रयोजनमा खपत हुने ग्यासमा अनुदान दिन सफ्टवेयर प्रणाली निर्माण अघि बढेको जनाइएको छ । घरायसी प्रयोजनमा एलपी ग्यास उपयोग गर्ने उपभोक्तालाई अनुदान दिनका लागि निगमले राष्ट्रिय वाणिज्य बैंकको सहकार्यमा अहिले सफ्टवेयर निर्माण थालिएको छ । अब उक्त सफ्टवेयरमा घरायसी प्रयोगकर्तालाई सहभागी गराई अनुदान उपलब्ध गराइने तयारी भइरहेको छ । हाल निगमले प्रतिसिलिण्डर ३२२ रुपैयाँ घाटा खाएर बिक्री गरिरहेको छ । तर अब परल मूल्य कायम हुँदा हाल बिक्री भइरहेको मूल्यमा घाटा रकम ३२२ रुपैयाँ प्रतिसिण्डिरमा जोडेर बिक्री गर्ने तयारी थालेको छ । निगमले हाल १४.२ किलो परिमाणको ग्यास १९१० रुपैयाँमा बिक्री गर्दै आएको छ । उक्त मूल्यमा घाटा रकम जोड्दा २ हजार २३२ रुपैयाँ प्रतिसिलिण्डर पर्न जान्छ ।
अबदेखि परल मूल्यमा बिक्री गर्ने र घरायसी प्रयोजनमा खपत हुने ग्यासमा घाटा रकम अनुदान सिधै उपभोक्ताको खातामा पठाउने व्यवस्था गरेको छ । साथै घाटा बेहोरेको बराबरको मूल्य घरायसी प्रयोजनका उपभोक्तालाई अनुदानका रूपमा दिने उनले बताए ।
घरायसी प्रयोजनमा ग्यासमा अनुदान उपलब्ध गराउनका लागि निगमले राष्ट्रिय वाणिज्य बैंकको सहकार्यमा एउटा सफ्टवेयर तयार गरिरहेको छ । साथसाथै अनुदान उपलब्ध गराउनका लागि निगमले एउटा मोडालिटी तयार गरेको छ । उक्त मोडालिटी अनुसार कम्तीमा ४ जना सदस्य भएको एउटा परिवार मानेको छ ।
साथै घरायसी प्रयोजनमा ग्यास उपयोग गर्ने उपभोक्ता कम्तीमा चार जना सदस्य भएको हुनुपर्नेछ । साथै यस्तो परिवारलाई वार्षिक रूपमा बढीमा ८ वटा सिलिण्डरमा अनुदान रकम उपलब्ध गराउने उक्त मोडालिटिमा व्यवस्था गरिएको छ ।
अनुदानका लागि निगमले घरायसी प्रयोजनमा खपत गर्ने उपभोक्ताको नागरिकता अथवा राष्ट्रिय परिचय पत्र सिस्टममा राख्ने व्यवस्था गरिनेछ । सिस्टम बनिसकेपछि निगमले परीक्षण गरी कार्यान्वयनमा ल्याउने छ ।
घरायसी प्रयोगकर्ताले पनि खरिद गर्दा परल मूल्यमा खरिद गर्ने र त्यसको बिल सफ्टवेयरको सिस्टममा अपलोड गर्ने व्यवस्था हुनेछ । साथै सिस्टममा स्वीकृति भइसकेपछि अनुदानको रकम सम्बन्धित उपभोक्ताको खातामा ट्रान्सफर हुने व्यवस्था गरिएको छ ।
गत पुस २६ गते निगमको ५५ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले घरायसी प्रयोजनमा खपत हुने ग्यासमा अनुदान दिने माघ महिनाभित्र अभ्यासमा लैजाने बताएका थिए ।
व्यावसायिक प्रयोजनमा भन्दा घरायसी प्रयोजनमा अनुदान दिँदा निगम र उपभोक्ता दुवैलाई फाइदा पुग्ने उनको भनाइ थियो । सोही अनुरूप निगमले अहिले यस्तो अनुदान प्रक्रिया कार्यान्वयनमा ल्याउन पहल गरेको प्रवक्ता ठाकुरको भनाइ छ ।
अब सफ्टवेयर बन्नलाई एक महिना लाग्ने र बनिसकेपछि परीक्षण गरी कार्यान्वयनमा ल्याउने उनको भनाइ छ । साथै फागुन अन्तिम सम्म यस्तो अनुदान वितरणका लागि प्रक्रिया सुरु हुने उनले बताए ।
Categorized in बिजनेस