STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

अन्तर्राष्ट्रिय बजार प्रवर्द्धनका लागि विकास बोर्डले ‘चलचित्र प्रतिनिधि’ तोक्ने

Janjati Khabar – विजयरत्न असंबरे | २०८० माघ २९, सोमबार

चलचित्र विकास बोर्डले ठूला अन्तर्राष्ट्रिय बजारमा नेपाली चलचित्रको प्रवर्द्धन हेतु ‘चलचित्र प्रतिनिधि’ तोक्ने भएको छ । लण्डनमा नेशनल डेल्फिक काउन्सिल नेपालले आयोजना गरेको समारोहमा बोर्ड अध्यक्ष भुवन केसीले विदेशमा नेपाली फिल्मको प्रदर्शन, निर्माण, बजारीकरण र प्रशासनिक समन्वयका लागि ‘प्रतिनिधि’ नियुक्त गर्ने बताए ।

नेशनल डेल्फिक काउन्सिल नेपालले आयोजना गरेको ‘नेपाली चलचित्रको ६ दशक : चुनौति र अन्तर्राष्ट्रिय बजारको खोजी’ विषयक कार्यक्रममा बोल्दै अध्यक्ष केसीले प्रतिनिधि तोक्ने काम बेलायतबाटै हुने बताए । तर, कसलाई तोकिनेछ भन्ने कुराको जानकारी चाहिँ काठमाडौं फर्किएपछि गर्ने उनको तयारी छ ।

यसका लागि केसीले लण्डनस्थित नेपाली नियोग पुगेर राजदूत ज्ञानचन्द्र आचार्यलाई भेट्ने कार्यक्रम पनि तय भएको छ । उक्त भेटमा प्रतिनिधि चयन गर्नेदेखि बेलायतमा नेपाली फिल्मको प्रवर्द्धनया समन्वय र सहकार्यबारे छलफल हुने बताइएको छ । अध्यक्ष केसीले युकेदेखि नै प्रतिनिधि चयनको काम हुने समेत बताए ।

नेपाली फिल्मको दूत अथवा प्रतिनिधि तोकेर अघि बढ्ने चर्चा केहीवर्ष पहिलेदेखि सुरु भएको हो । ‘विदेशमा नेपाली फिल्म चलाउने, बनाउनेदेखि अन्य सहकार्यका कामको जिम्मा दिएर नै बोर्डले प्रतिनिधि तोक्नेछ’ केसीले भने । केसीसहितको टीमले सोमबार ब्रिटिस फिल्म कमिसन भ्रमण गर्ने कार्यक्रम छ ।

डेल्फिक काउन्सिलको उक्त कार्यक्रममा केसीले आफू जागिर खान बोर्डमा नगएको बताउँदै जीवनमा पहिलोपटक १० देखि ५ बजेसम्मको नियमित काममा लागेको छु र यो क्षेत्रलाई  सिस्टममा ल्याउन विकास बोर्डमा पुगेको हुँ भनि भनेका छन् ।

उनले यतिबेला आफ्नो लडाइ सरकारसँग भैरहेको बताए । ‘म अहिले सरकारसँग लडिरहेको छु, पहिला त हामीले गर्न खोजेका चीज यो यो हुन्, त्यसका लागि ऐन चेन्ज गर्नुपर्छ । पुरानो ऐन कानूनमा हामीले गर्न सक्ने कुरा केही पनि छैन । मेरो कार्यकाल २ वर्षको छ । सबैले प्रयास गर्नुभएको हो तर, नसकिएको हो । मैले अन्तिम घडीसम्म प्रयास गरेको छु । अन्तिम प्रयाससम्म पनि ऐन पारित हुन्छ भन्नुभएको छ मन्त्रीज्यूले’ उनले भने ।

Categorized in सिनेमा