STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

अन्तर्राष्ट्रिय नाट्य महोत्सवको नाटक मञ्चन तालिका सार्वजनिक

Janjati Khabar – विजयरत्न असंबरे | २०७९ कार्तिक १७, बिहिबार

नेपाल अन्तर्राष्ट्रिय नाटेय महोत्सव २०७९ आयोजनाको दिन नजिकिंदै गर्दा आयोजक संस्था मण्डला थिएटर नेपालले नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) दोस्रो संस्करणमा  विश्वभरीबाट छनौट भएका नाटकहरुको सूची र मञ्चन तालिका सार्वजनिक गरेको छ । सामाजिक रुपान्तरणको लागि रङ्गमञ्चः विविधिताको उत्सव भन्ने नारा बोकेर आगामी मंसिर ९ गतेबाट सुरु हुने महोत्सवमा छनौट भएका २२ नाटकको सूची तथा ती नाटकहरुको मञ्चन तालिका महोत्सवको आधिकारिक वेभसाइट  मार्फत सार्वजनिक भएको हो । मञ्चन तालिका अनुसार ती २२ नाटकको महोत्सवमा कुल ३२ मञ्चन (शो) हुनेछन् ।

आयोजक मण्डला थिएटर नेपालले सार्वजनिक गरेको सूचीमा नेपालका ६ नाटक र विश्वभरीबाट प्राप्त आवेदनबाट छानिएका १६ नाटकको मञ्चन तालिका प्रकाशित गरिएको छ । महोत्सवमा नेपालसहित भारत, भुटान, श्रीलंका, रुस, इटाली, स्पेन, बेलायत, बेलारुस, इजिप्ट, संयुक्त राज्य अमेरिका, उरुग्वे र अर्जेन्टिनाका नाटकहरु समावेश छन् ।

तालिका अनुसार मण्डला थिएटरको थापागाउँ, काठमाडौंस्थित मुख्य नाटकघर, स्टुडियो र खुल्ला परिसर गरी तीन स्थानमा हरेक दिन फरक–फरक नाटकको एकदेखि पाँच मञ्चनसम्म हुने बताइएको छ । महोत्सवमा ९ वटा नाटकको भने दुई–दुई मञ्चन हुने तालिकामा उल्लेख छ ।

९ दिन सम्म आयोजना हुने महोत्सव मंसिर ९ देखि मंसिर १७ ((नोभेम्बर २५–डिसेम्बर ३) सम्म हुनेछ । उद्घाटनको दिन दुई र समापनको दिन एक नेपाली नाटक मञ्चन हुने र  उद्घाटन मंसिर ९ गते दिउँसो १:३० बजे र समापन मंसिर १७ गते साँझ ७:३० बजे हुने भएकोछ ।

नाटकको सूची र मञ्चन तालिका सार्वजनिक भएसँगै निटफेस्ट दोस्रो संस्करणको महोत्सव निर्देशक तथा मण्डला थिएटरका अध्यक्ष रङ्गकर्मी सिर्जना सुब्बाले नाटकहरुको उत्सव नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवलाई कलाप्रेमीहरुले आफ्नो समयको महोत्सव बनाउनु हुनेछ भन्ने विश्वास व्यक्त गर्नुभएको छ ।

महोत्सव सदस्य तथा सञ्चार संयोजक नाट्यकर्मि केदार श्रेष्ठले विभिन्न देशका कला, संस्कृति, राजनीतिक–सामजिक परिवेश र वस्तुस्थिति तथा भावना र संवेगको समग्रता यस महोत्सव रहेको उल्लेख गर्दै यो महोत्सवलाई साथ, समर्थन र सहयोगको आह्वान गर्नुभएको छ ।

Categorized in साहित्य-कला