STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

 सवारी दुर्घटनामा २७ लाख क्षति  

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र २५, सोमबार

 सवारी दुर्घटनाका कारण बाँकेमा चालू आर्थिक वर्षमा रु २७ लाख ५६ हजार बराबरको क्षति भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयको फागुन मसान्तसम्मको तथ्याङ्कअनुसार गत भदौ महीनामा सबैभन्दा बढी र माघमा सबैभन्दा कम क्षति भएको छ । 
तथ्याङ्कअनुसार साउनमा रु एक लाख ७५ हजार, भदौमा रु १३ लाख ५० हजार, असोजमा रु दुई लाख ३४ हजार, कात्तिकमा रु दुई लाख ५० हजार, मङ्सिरमा रु एक लाख ९४ हजार, पुसमा रु दुई लाख ४५ हजार, माघमा रु ८५ हजार र फागुनमा रु दुई लाख २३ हजार बराबरको क्षति भएको छ । 
त्यसैगरी बाँकेको मुख्य राजमार्ग ९पूर्व–पश्चिम० क्षेत्रमा सवारी दुर्घटनाको दर पनि उच्च देखिएको छ । चालू आवको फागुन मसान्तसम्मको तथ्याङ्कअनुसार ६० सवारी दुर्घटनामध्ये २६ दुर्घटना मुख्य राजमार्ग क्षेत्रमा भएका छन् भने २२ सवारी दुर्घटना शहरी क्षेत्रमा र ११ सवारी दुर्घटना ग्रामीण क्षेत्रमा भएको ट्राफिक प्रहरीको तथ्याङ्क छ । तथ्याङ्कअनुसार ८२ सवारी साधन दुर्घटनामा संलग्न रहेका पाइएको छ । यस आवको फागुन मसान्तसम्म सडक दुर्घटनामा परी बाँकेमा ३७ को मृत्यु भएको छ भने ४२ गम्भीर घाइते, ५२ सामान्य घाइते भएका छन् । 
जिल्ला ट्राफिकका प्रमुख प्रहरी निरीक्षक हीरेन्द्र रोकायले सवारी साधनको सङ्ख्या दोब्बरले वृद्धि हुनु र करीब ४० वर्षअघि निर्माण भएका सडक स्तरोन्नति हुन नसक्दा दुर्घटना बढेको बताउनुभयो । पुराना र जीर्ण सडकमा तीव्र गति, जथाभावी ओभरटेक, ओभरलोड र चालकको लापर्वाहीले दुर्घटना बढेका बताइएको छ । 
एक्काइस किमीमा एक ट्राफिक प्रहरी 
प्रदेश ५ मा ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण देखिएको छ । प्रदेश ५ मा एक जना ट्राफिक प्रहरीले औशतमा २१।११ किलोमिटर क्षेत्रमा ट्राफिक व्यवस्थापन गर्नुपर्नेहुन्छ । यस प्रदेशमा ३६१ किलोमिटर पूर्व–पश्चिम राजमार्ग मात्रै पर्छ । योसँगै ट्राफिक प्रहरीलाई अन्य जिल्लासँग जोडिएका सडकको व्यवस्थापनमा पनि उत्तिकै सक्रिय हुनुपर्छ । 
प्रदेश ५ मा २४ महिला र ४३६ पुरुष ट्राफिक गरी जम्मा ४६० ट्राफिक प्रहरीको दरबन्दी छ । न्यून जनशक्तिले धेरै दूरीमा ट्राफिक व्यवस्थापन गर्न चुनौतीपूर्ण रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक गणेश चन्दले बताउनुभयो ।
ट्राफिक प्रहरीको तथ्याङ्कअनुसार, प्रत्येक वर्ष सडक दुर्घटनामा वृद्धि भइरहेको छ । आव २०७२÷०७३ मा ८२५, आव ०७३÷०७४ मा ८४३ र आव ०७४÷०७५ मा ८५६ वटा दुर्घटना भएका छन् । प्रहरी उपरीक्षक गणेश चन्दका अनुसार सडक दुर्घटनाका कारण प्रदेश ५ मा ज्यान गुमाउने, गम्भीर घाइते र साधारण घाइतेको तथ्याङ्क पनि डरलाग्दो देखिएको छ । ट्राफिक प्रहरीको तथ्याङ्कअनुसार आव २०७२÷०७३ मा ५८१ जनाले दुर्घटनामा ज्यान गुमाएका थिए भने ८०७ गम्भीर ६९२ जना सामान्य घाइते भएका थिए । आव ०७३÷०७४ मा ५७० जनाको दुर्घटनामा ज्यान गएको छ । 
सोही आवमा ७२१ गम्भीर ५८८ जना सामान्य घाइते भएका छन् । आव ०७४÷०७५ मा दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या अघिल्लो वर्षभन्दा केही कमी आएको छ । यस अवधिमा दुर्घटनाका कारण ५४५ को मृत्यु, ८५४ जना गम्भीर र ५७१ जना सामान्य घाइते भएका छन् । चालू आवको फागुनसम्म ३४८ जनाले दुर्घटनाका कारण अकालमा ज्यान गुमाएका छन् । 
उक्त अवधिमा ६४२ जना गम्भीर घाइते भएका छन् भने ४८३ जना सामान्य घाइते भए । अहिले प्रदेश ५ मा पाँच लाख ५० हजार सवारी साधन छन् । सडक भने एक हजार ८४९ किलोमिटर मात्र कालोपत्र छ । चालू आवमा बाँकेमा मात्रै ६० वटा सडक दुर्घटना भएका छन् । सोमा ३७ को मृत्यु ४२ गम्भीर घाइते र ५० सामान्य घाइते भएका छन् । 
प्रदेशका मुख्य न्यायाधिवक्ता ठाकुरप्रसाद डिसीको संयोजकत्वमा गठित सडक सुरक्षा सुझाव कार्यदलमा आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव, प्रदेश ५ का प्रहरी प्रमुख सदस्य र भौतिक पूर्वाधार विकास मन्त्रालयका उपसचिव सदस्यसचिव छन् । कार्यदलले प्रदेशका विभिन्न जिल्लामा सुझाव सङ्कलन गरिरहेको छ । 
कार्यदललाई प्रदेशका सडकको अवस्था, सडक सुधारका लागि गर्नुपर्ने काम, दुर्घटना रोक्ने उपायसहितको प्रतिवेदन दुई महीनाभित्र तयार गरी प्रदेश सरकारलाई बुझाउने जिम्मेवारी दिइएको छ । प्रतिवेदनका आधारमा प्रदेश सरकार सडक सुरक्षा योजना बनाएर लागू गर्ने योजनामा छ । 
Categorized in अपराध-दुर्घटना