STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

हनुमानढोकामा लिङ्गो ठड्याइयो ः इन्द्रजात्रा शुरु

Janjati Khabar – जनजाति खबर | २०७६ भाद्र २४, मंगलबार

यँया पुन्हीका अवसरमा काठमाडौँको हनुमानढोकाको कालभैरव अगाडि परम्परानुसार विधिपूर्वक लिङ्गो ठड्याइएको छ । नेपाल भाषामा यसलाई योसिँ स्वाय्गु भनिन्छ । अ यँलाथ्व अर्थात् आज भाद्रशुक्ल द्वादशीका दिन इन्द्रध्वजोत्थानसँगै विधिवत्रुपमा इन्द्रजात्रा यँया शुरु भएको हो । यँलाथ्व अष्टमीका दिन भोटाहिटीबाट ‘योसिँ’ लिङ्गो तानेर तलेजु मन्दिर अगाडि सिंध्वाकामा ल्याइएको लिङ्गो आज बिहान ९ः१५ बजेको साइतमा ठड्याइएको सो कार्यमा संलग्न मानन्धर समुदायले जनाएको छ । आजैदेखि योसिँको मुनि सानो फलामको खोरमा ऐरावत हात्तीमा विराजमान स्वर्गका राजा देवराज इन्द्रलाई पनि प्रदर्शन गरिएको छ । किंवदन्तीअनुसार इन्द्रकी आमाले यँलागा तृतीयाका दिन वसुन्धरादेवीको व्रत बस्न नेपालमण्डलमा ‘पालिजा स्वाँ’ पारिजातको फूल र छिक्छिक बुँ एक फूलको कोपिला लिएर आउन छोरा इन्द्रलाई अह्राइन् । सोअनुसार इन्द्रले नेपालमण्डलस्थित मरुहिटीको पश्चिमपट्टि एक घरको बगैँचामा घरधनीसँग नसोधी पारिजातको फूल चोरेर लैजान लाग्दा येँलाथ्व द्वादशीका दिन आज उपाकू यात्रामा रहेका मानिसले इन्द्रलाई पक्रेर तान्त्रिक विधिबाट पञ्चसूत्रले बाँधेर राखी सजाय दिएका थिए । छोरा धेरै समयसम्म नफर्केको देखेर इन्द्रकी आमा स्वयं मत्र्यलोक अर्थात् नेपालमण्डलमा आइन् । काठमाडौँमा धान फलाउन हुुस्सु पठाइदिने र पितृहरुलाई स्वर्ग लगी तारिदिने वचन दिने शर्तमा उनलाई मुक्त गरिएको थियो । इन्द्रजात्राको प्रारम्भसँगै नेपालमण्डलका केही चोक र गल्लीका साथै लिङ्गो ठ्ड्याइएको स्थान तथा काष्ठमडपको दायाँ, वंघःमा उच्चस्थानमा सबैले देख्ने गरी इन्द्रलाई पञ्चसूत्रले बाँधेर खोरभित्र कैद गरी प्रदर्शन गरिराख्ने प्रचलन छ । काठमाडौँमा इन्द्रजात्रा शुरु भएसँगै कुमारी, गणेश तथा भैरवको रथयात्रा, मजिपातका रञ्जित समुदायबाट लाखे तथा झ्यालिन्चा नाच, सव भक्कु नाच, पुलुकिसी नाच पनि प्रदर्शन गरिन्छ । देशका विभिन्न पर्व तथा जात्रामध्ये इन्द्रजात्रा बूढाबूढीदेखि केटाकेटीसम्मले रमाउने निकै रमाइलो जात्राका रुपमा लिइन्छ । लिङ्गो ठड्याउने जात्रा अर्थात् इन्द्रध्वजोत्थान हेर्न हनुमानढोका वरपर ठूलो सङ्ख्यामा मानिसको भीड लागेको थियो । त्यस अवसरमा गुरुजुको पल्टनले तोप पड्काउनाका साथै विशेष धून बजाएको थियो ।
Categorized in राष्ट्रिय