relans
ni new 83
nib 2082 5

प्रमुखसँग मात्रै सूचना

Janjati Khabar – जनजाति खबर | २०७६ भाद्र ११, बुधबार

जिल्लास्थित सरकारी कार्यालयका सूचना अधिकारीले कार्यालय प्रमुखसँग मात्रै कार्यालयका सूचना रहने गुनासो गरेका छन् । जिल्ला प्रशासन कार्यालय धुलिखेलमा मङ्गलबार सूचना अधिकारीको बैठकमा अधिकांश सूचना अधिकारीले यस्तो गुनासो गरेका हुन् । “सूचना अधिकारीलाई कार्यालयका गतिविधिसम्बन्धी सूचना नै हुँदैन, सबै विषयमा नगरप्रमुख र लेखाप्रमुखलाई मात्रै थाहा हुन्छ”, बनेपा नगरपालिकाका सूचना अधिकारी श्यामकृष्ण त्रिपाठीले भन्नुभयो । उहाँले ‘सूचनाको हक’ प्रयोग गरी सूचना माग्नेले सूचना दिने प्रक्रियामा लाग्ने दस्तुर तिर्नुपर्ने थाहा पाएपछि लिन नचाहेको बताउनुभयो । पनौती नपाका प्रमुख प्रशासकीय अधिकृत एवं सूचना अधिकारी इन्द्रप्रसाद अधिकारीले सूचना अधिकारीलाई सबै सूचना थाहा नहुने गुनासो गर्नुभयो । “कसैले सूचना माग्दा ठ्याक्कै दिन नसक्ने अवस्था धेरैपटक भयो, नगरप्रमुख तथा कार्यालयका सम्बन्धित विषयका ज्ञातासँग सोधेर दिनुपर्ने बाध्यता हुँदोरहेछ”, उहाँले भन्नुभयो । केहीले कार्यालयसँग लिखित रुपमा सूचना मागेर लिन नआएको अधिकारीले बताउनुभयो । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका सूचना अधिकारी राजकुमार हुमागाईंले पनि आफूसँग कार्यालयको सूचना नहुने र अन्य कार्यालयका सूचना अधिकारीले पनि आफूसँग यस्तै गुनासो गर्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “सूचनासम्बन्धी कुराकानी हुँदा सरकारी कार्यालयका सूचना अधिकारीले आफूसँग कार्यालयको सूचना नहुने निकै गुनासो गर्नुहुन्छ ।” उहाँले केही कर्मचारीलाई कार्यालयमा दोहोरो जिम्मेवारीले गर्दा सूचनासम्बन्धी ध्यान नपुग्ने गरेको पनि अनुभव सुनाउनुभयो । जिल्लास्थित १३ स्थानीय तहमध्ये अधिकांश स्थानीय तहका सूचना अधिकारीले प्रमुख तथा अन्य जनप्रतिनिधिले सूचना नदिने गुनासो गनुभयो । सरकारी कर्यालय तथा स्थानीय तहका सूचना अधिकारी सम्मिलित बैठकमा प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले ‘सूचना अधिकारीलाई कार्यालयको सूचना नहुने’लाई हात उठाउन लगाउँदा आधाभन्दा बढी सूचना अधिकारीले हात उठाएपछि केहीबेर हाँसो पनि चलेको थियो । प्रजिअ रानाले व्यङ्यात्मक शैलीमा भन्नुभयो, “सूचना अधिकारीसँगै सूचना छैन, प्रमुखसँग मात्रै सूचना १” प्रजिअ रानाले सूचना अधिकारीलाई दिन मिल्ने तथा नमिल्ने सूचनाबारे जानकारी लिन सूचनाको हक ऐन–२०६४ बारे जानकार बन्न, सूचना अधिकारीले सूचना दिनसक्ने बन्न, आधाभन्दा बढी कार्यालयमा सूचना अधिकारीको बोर्ड नभएको देखिएपछि सूचना अधिकारी बोर्ड तत्काल राख्न, वेवसाइट बनाएर कार्यालयका गतिविधि अद्यावधि गर्न र उजुरी पेटिका राख्न निर्देशन दिनुभएको छ । जिल्लास्थित सूचना अधिकारीको बैठक प्रत्येक चौमासिकमा हुँदै आएको छ ।
Categorized in राष्ट्रिय
ppp 2