STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

जोखिम बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिने

Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण ३, शुक्रबार

पर्वत जिल्लामा बाढी र पहिरोको उच्च जोखिममा रहेका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिने भएको छ । जिल्ला विपद् व्यवस्थापन समिति पर्वतको बैठकले जोखिममा रहेका व्यक्ति र बस्तीहरुलाई स्थानीय तहले सुरक्षित स्थानमा स्थानान्तरण गर्ने निर्णय गरिएको हो । नदी किनारका बस्ती, पहिरोको जोखिममा रहेका बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण नगर्दासम्म सधैँ जोखिममा रहने भएकाले जोखिम पहिचान भएका बस्ती र व्यक्तिलाई समेत स्थानान्तरण गर्न स्थानीय तहलाई जिम्मेवार बनाउने निर्णय भएको प्रजिअ कल्पना घिमिरे नेपालले जानकारी दिनुभयो । गत वर्ष बाढी आएका कारण जलजला गाउँपालिकाका लस्ती, लुङ्गदीमा घर बगाउनाका साथै धेरै घर जोखिममा परेका थिए । कालीगण्डकी नदी, मोदीखोला, सेती खोला, रतीखोला लगायतका नदी र खोला किनारमा बनेका घर र बस्तीसमेत जोखिममा छन् । पर्वतका भङ्गरा, देउराली, धाइरिङ्ग, तिलहार, देउपुर, होस्राङ्गदी लगायतका बस्तीहरुमा गत वर्ष पनि पहिरोको चपेटामा परेका थिए । जथाभावी रुपमा खनिएका कारण धेरै घर र बस्ती जोखिममा छन् । सुकुम्वासी र जबर्जस्ती सार्वजनिक जमीन कब्जा गरेरसमेत घर बनाउने काम भएको छ । यस्ता घर र संरचना जुनसुकै बेला बाढीको चपेटामा पर्ने भएकाले स्थानान्तरण गर्न जरुरी रहेको प्रजिअ नेपालले बताउनुभयो । “सधैँभरी बाढी तथा पहिरोको जोखिममा रहेका बस्ती र संरचना नहटाएसम्म जोखिम सधैँ रहने भएकाले स्थानीय तहलाई जिम्मेवार बनाएर सुरक्षित स्थानमा बसोबासको व्यवस्था मिलाउन जरुरी छ”, उहाँले भन्नुभयो, “विपद् आउनुपूर्व नै सुरक्षित बनाउन सके जनधनको क्षति न्यूनीकरण गर्न सकिन्छ भनेर यस्तो निर्णय भएको हो ।” पर्वत जिल्लाको समग्र विपद् व्यवस्थापनका बारेमा बनाइएको उक्त विपद् प्रतिकार्य योजनामा सात वटा स्थानीय तहमा जोखिमयुक्त स्थानहरुको पहिचान र तत्काल घटना घट्दा चाहिने स्टक सामान सहयोगी निकाय लगायतको सूचनासहितको विवरण उल्लेख गरिएको छ । जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर बी पौडेलले स्थानीय पालिकाहरुले विपद्का बारेमा जिम्मेवार भई बैठकमा उपस्थित हुनुपर्नेमा जोड दिनुभयो ।
Categorized in राष्ट्रिय