नेपाल संवत् ११४७ को क्यालेन्डर विमोचन बालबालिकाहरुबाट
Janjati Khabar – विजयरत्न असंबरे | २०८३ मङ्सिर २, मंगलबार
नेवा: देय् दबू काठमाडौं महानगरपालिका वडा नं. २५ समितिको आयोजनामा नेपाल संवत् ११४७ को अवसरमा क्यालेन्डर विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम प्रदीप्त पुस्तकालयको सभाहलमा सम्पन्न भएको छ। आयोजक: संस्था नेवा: देय् दबू, काठमाडौं महानगरपालिका वडा नं. २५ समितिका अध्यक्ष सभा अध्यक्ष मनोजमान कर्माचार्य सभापति रहेको साे कार्यक्रम कमला मानन्धरले संचालन गरेका थिए ।:
सामान्यतया पुस्तक, स्मारिका तथा क्यालेन्डर विमोचनजस्ता औपचारिक कार्यक्रममा वरिष्ठ व्यक्तित्व, नेता तथा मन्त्रीहरूबाट विमोचन गराउने परम्परा रहँदै आएको छ। तर यस परम्पराभन्दा फरक र नयाँ सन्देश दिने उद्देश्यले यो दोश्रो बर्ष नेपाल संवत् ११४७ को क्यालेन्डर बालबालिकाहरुको हातबाट विमोचन गरिएको छ।
कार्यक्रमको यो विशेष पहलले नयाँ पुस्तालाई आफ्नो भाषा, संस्कृति, परम्परा र मौलिक पहिचानप्रति जिम्मेवार बनाउनुका साथै उनीहरूलाई सांस्कृतिक अभियानको नेतृत्व तहसम्म पुर्याउनुपर्ने सन्देश दिएको छ।
कार्यक्रममा नेवा: देय् दबूका केन्द्रीय सचिव श्रीजनमान श्रेष्ठ, मिसा दबूकी रमिता बज्राचार्य,स्थानीय बौद्धिक व्यक्तित्वहरू प्रबोध वीर सिंह कसाः, रोशन शाक्य तथा पूर्व वडा अध्यक्ष बाबुराजा महर्जन लगायतले नेपाल संवतको ऐतिहासिक, सांस्कृतिक तथा सामाजिक महत्वबारे आ–आफ्ना विचार राख्दै शुभकामना व्यक्त गर्नुभएको थियो।
वक्ताहरूले नेपाल संवत् केवल समय गणना गर्ने संवत् मात्र नभई नेवाः समुदायको ऐतिहासिक पहिचान, मौलिकता र गौरवसँग जोडिएको राष्ट्रिय सम्पदा भएको उल्लेख गर्दै यसको संरक्षण, प्रवर्द्धन र नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्नेमा जोड दिनुभयो।
विशेषगरी बालबालिकाको हातबाट क्यालेन्डर विमोचन गरिनुले संस्कृति संरक्षणको जिम्मेवारी नयाँ पुस्तालाई हस्तान्तरण गर्ने सकारात्मक अभ्यासको सुरुवात गरेको सहभागीहरूको धारणा रहेको थियो।
बिगत केहिं बर्ष देखि चाडपर्वमा एकरुपता नहुनु, मनाउने दिन फरक हुदै आएकोमा बक्ताहरु यस्लाई सुधारेर एकरुपता ल्याउनुपर्नेमा एकमत ब्यक्त गरे।
कार्यक्रमले एउटा महत्वपूर्ण सन्देश दिएको छ भन्दै दबुका सचिब एवम अभियन्ता श्रीजनमान श्रेष्ठले — संस्कृतिको संरक्षण भाषणले मात्र होइन, पुस्तान्तरणले हुन्छ। आजका बालबालिका भोलिका संस्कृतिका संवाहक र समाजका नेतृत्वकर्ता हुन्।
वरिष्ठ व्यक्तित्वबाट विमोचन गराउने परम्परालाई तोड्दै बालबालिकाको हातबाट गरिएको यो विमोचन केवल एउटा औपचारिक कार्यक्रम मात्र होइन, नयाँ पुस्तालाई सम्मान, जिम्मेवारी र नेतृत्व हस्तान्तरण गर्ने सुन्दर सांस्कृतिक सन्देश पनि हो।
संस्कृति पुस्ताले जोगाउँछ, तर त्यसको भविष्य नयाँ पुस्ताले निर्माण गर्छ।
कार्यक्रमले बालबालिका केवल दर्शक वा सहभागी मात्र नभई भाषा, संस्कृति, परम्परा र सम्पदाको संरक्षण तथा पुस्तान्तरणका संवाहक हुन् भन्ने सन्देश दिएको छ। समाजमा स्थापित औपचारिक परम्पराभन्दा फरक ढंगले नयाँ पुस्तालाई प्राथमिकता दिइएको यस कार्यले बालबालिकामा आफ्नो मौलिक पहिचान, संस्कृति र नेपाल संवत्प्रति अपनत्व र गौरवको भावना विकास गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।
नेपाल संवत् ११४७ को अवसरमा आयोजित यस कार्यक्रमले नेवाः संस्कृति, पहिचान र पुस्तान्तरणको अभियानलाई थप ऊर्जा प्रदान गरेको छ।
कार्यक्रममा समाजसेवि बिमला मानन्धरले नेपाल सबत र यस्का प्रवर्तक संखधर साख्वाको बारेको कबिता बाचन गर्नु भएको थियो भने श्री कुमारी नृत्य साहिना शाक्य र मिरिका उदासले नृत्य प्रस्तुत गर्नुभएको थियो।
Categorized in उपत्यका

