STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

ओल्ड इज गोल्ड अन्तर्गतका पुराना फिल्म हेर्न उर्ल्याे भीड

Janjati Khabar – विजयरत्न असंबरे | २०८३ श्रावण २४, आइतबार

चलचित्र विकास बोर्डद्वारा आयोजित ‘ओल्ड इज गोल्ड’ विशेष चलचित्र प्रदर्शन शृंखला अन्तर्गत शुक्रबारदेखि दस वटा पुराना नेपाली फिल्म हरु प्रदर्शन गरिरहेकाे छ भने त्यसको दोस्रो दिन शनिबार   दर्शकको उल्लेख्य भीड उर्लेकाे देखिएको छ। शनिबार बिहान ११ बजे प्रदर्शन गरिएको ‘सिन्दूर’ र दिउँसो २ बजे प्रदर्शन गरिएको ‘परिवर्तन’का दुवै शो हाउसफुल भएका छन्।

नेपाली चलचित्र क्षेत्रकी पहिलो व्यावसायिक हेयर ड्रेसर प्रतिभा (प्रभा) ढकाल तथा चलचित्र ‘परिवर्तन’का प्रमुख कलाकार यज्ञराज घिमिरेको परिवारको उपस्थितिले दोस्रो दिनको प्रदर्शनलाई थप विशेष, भावनात्मक र ऐतिहासिक बनाएको थियो।  

दोस्रो दिन बिहान ११ बजे ‘सिन्दूर’ प्रदर्शन गरिएको थियो। शो सुरु हुनुअघिदेखि नै दर्शकको उल्लेख्य उपस्थिति देखिएको थियो भने दिउँसो २ बजेको ‘परिवर्तन’ प्रदर्शनमा पनि हल खचाखच भरिएको थियो।

चलचित्र चलिरहँदा दर्शकले पर्दाका दृश्य, संवाद र गीतमा प्रत्यक्ष प्रतिक्रिया जनाएका थिए। कतिपय दृश्यमा हल तालीले गुञ्जिएको थियो भने भावुक दृश्यमा दर्शक शान्त भएर चलचित्रमा डुबेका देखिन्थे।

पहिलो दिनदेखि देखिएको दर्शकको उत्साह दोस्रो दिन पनि निरन्तर रहनुले पुराना नेपाली चलचित्रप्रति दर्शकको आकर्षण अझै बलियो रहेको संकेत गरेको छ।

नेपाली चलचित्र इतिहासका चर्चित चलचित्रमध्ये पर्ने ‘सिन्दूर’लाई वर्षौंपछि पुनः ठूलो पर्दामा हेर्न पाउँदा पुराना पुस्ताका दर्शकले विगतको स्मरण गरेका थिए भने नयाँ पुस्ताका दर्शकका लागि यो नेपाली चलचित्रको पुरानो कालखण्डसँग परिचित हुने अवसर बनेको थियो।

दिउँसो प्रदर्शन गरिएको ‘परिवर्तन’ हेर्न पनि विभिन्न उमेर समूहका दर्शक उपस्थित भएका थिए। पुरानो पुस्ताका लागि चलचित्रसँग जोडिएका सम्झना पुनर्जीवित भएका थिए भने नयाँ पुस्ताका धेरै दर्शकले पहिलोपटक यी चलचित्र ठूलो पर्दामा हेर्ने अवसर पाएका थिए।

‘सिन्दूर’सँग जोडिनुभएकी नेपाली चलचित्र क्षेत्रकी पहिलो व्यावसायिक हेयर ड्रेसर प्रतिभा ढकाल, जो प्रभा ढकालका नामले समेत परिचित हुनुहुन्छ, कार्यक्रममा विशेष रूपमा उपस्थित हुनुभएको थियो।

नेपाली चलचित्रको प्रारम्भिक चरणमै हेयर ड्रेसिङलाई व्यावसायिक रूपमा अँगालेर पर्दापछाडिको प्राविधिक क्षेत्रमा योगदान दिनुभएकी ढकालको उपस्थिति दर्शकका लागि समेत विशेष आकर्षण बन्यो।

आफू संलग्न भएको चलचित्रलाई दशकौँपछि नयाँ पुस्ताका दर्शकसँगै ठूलो पर्दामा हेर्ने अवसर उहाँका लागि स्मरणीय बनेको थियो। कार्यक्रममा उपस्थित नयाँ पुस्ताका दर्शकले नेपाली चलचित्रको प्रारम्भिक चरणमा काम गरेका प्राविधिक व्यक्तित्वलाई प्रत्यक्ष भेट्ने अवसरसमेत पाए।

चलचित्रका कलाकार मात्र नभई पर्दापछाडि रहेर नेपाली चलचित्र निर्माणमा योगदान पुर्‍याएका प्राविधिक व्यक्तित्वलाई समेत दर्शकमाझ ल्याउनु ‘ओल्ड इज गोल्ड’को महत्वपूर्ण पक्षका रूपमा देखिएको छ।

चलचित्र ‘परिवर्तन’का प्रमुख कलाकार यज्ञराज घिमिरेको परिवार पनि विशेष प्रदर्शनमा सहभागी भएको थियो। उहाँकी आमा तथा श्रीमती समेत हलमै उपस्थित भएर दर्शकसँगै चलचित्र हेर्नुभएको थियो।

पर्दामा परिवारसँग जोडिएको कलाकारको अभिनय हेर्दै परिवारका सदस्य स्वयं दर्शकमाझ उपस्थित हुँदा हलको वातावरण भावनात्मक बनेको थियो। उपस्थित दर्शकले घिमिरे परिवारलाई ताली बजाएर स्वागत गरेका थिए।

पुराना नेपाली चलचित्रसँग प्रत्यक्ष रूपमा जोडिएका कलाकार, प्राविधिक तथा उनीहरूका परिवारलाई नयाँ पुस्ताका दर्शकसँग एउटै स्थानमा जोड्ने प्रयासले ‘ओल्ड इज गोल्ड’लाई सामान्य चलचित्र प्रदर्शनभन्दा फरक ऐतिहासिक भेटघाटको स्वरूप दिएको छ।

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले पुराना नेपाली चलचित्र नेपाली समाजको साझा सम्पत्ति भएको बताउनुभयो।

‘पुराना चलचित्र मनोरञ्जनका सामग्री मात्र होइनन्, ती हाम्रो समाज, भाषा, पहिरन र समयको जीवित दस्तावेज हुन्, ’ अध्यक्ष डिसीले भन्नुभयो, ‘त्यसैले यी चलचित्रलाई संरक्षण गर्नु र नयाँ पुस्तासम्म पुर्‍याउनु बोर्डको दायित्व हो।’

दुवै दिनको प्रदर्शनमा देखिएको दर्शकको उपस्थितिप्रति सन्तुष्टि व्यक्त गर्दै उहाँले भन्नुभयो, ‘हल हाउसफुल हुनुले पुराना नेपाली चलचित्रका दर्शक अझै छन् भन्ने प्रमाणित गरेको छ। यो हामीले सोचेभन्दा बढी उत्साहजनक छ।’

अध्यक्ष डिसीले पर्दाअघाडि र पर्दापछाडि दुवैतिर योगदान गर्नुभएका व्यक्तित्वको सम्मान गर्नु ‘ओल्ड इज गोल्ड’को मूल भावना रहेको उल्लेख गर्नुभयो। ‘आजको पुस्ताले हाम्रा जग बसाल्ने कलाकार र प्राविधिकलाई चिन्नुपर्छ, ’ उहाँले भन्नुभयो, ‘उहाँहरूकै मेहनतमा आजको नेपाली चलचित्र उभिएको छ।’

पुराना चलचित्रको संरक्षण र डिजिटाइजेशनलाई बोर्डले निरन्तरता दिने प्रतिबद्धतासमेत उहाँले व्यक्त गर्नुभयो।

‘ओल्ड इज गोल्ड’ अन्तर्गत आइतबार पनि दुई ऐतिहासिक नेपाली चलचित्र विशेष रूपमा प्रदर्शन हुँदैछन्।

बिहान ११ बजे ‘के घर के डेरा’ नायिका शर्मिला मल्लको विशेष उपस्थितिमा प्रदर्शन हुनेछ। त्यसैगरी दिउँसो २ बजे ‘मनको बाँध’ नायिका सुष्मा शाहीको उपस्थितिमा प्रदर्शन गरिनेछ।

वर्षौंपछि ठूलो पर्दामा यी चलचित्र हेर्न पाउनु आफैंमा विशेष अवसर हुनेछ भने अझ महत्वपूर्ण पक्ष भनेको चलचित्रसँग प्रत्यक्ष रूपमा जोडिएका कलाकारसँगै बसेर दर्शकले चलचित्र हेर्न पाउनेछन्।

प्रदर्शनपछि कलाकारसँग भेटघाट तथा चलचित्रसँग सम्बन्धित अनुभव सुन्न पाउने अवसरले भोलिको प्रदर्शनलाई पनि विशेष बनाउने अपेक्षा गरिएको छ।

दोस्रो दिनका दुवै शो हाउसफुल भएपछि आगामी प्रदर्शनप्रति दर्शकको चासोसमेत बढेको छ।

चलचित्र इतिहास जोगाउने अभियान

पुरानो पुस्ताका चलचित्रकर्मी र नयाँ पुस्ताका दर्शकबीच नेपाली चलचित्रको इतिहासलाई जोड्ने उद्देश्यसहित चलचित्र विकास बोर्डले ‘ओल्ड इज गोल्ड’ विशेष प्रदर्शन शृंखला सञ्चालन गरेको हो।

दशकौँअघि निर्माण भएका महत्वपूर्ण नेपाली चलचित्रलाई संरक्षण, डिजिटाइजेशन तथा पुनः ठूलो पर्दामार्फत दर्शकमाझ पुर्‍याउनु कार्यक्रमको प्रमुख उद्देश्य हो।

Categorized in सिनेमा