सांस्कृतिक तथा राष्ट्रिय महत्वका चलचित्रका लागि ३करोड ५० लाख बजेट छुट्याइने
Janjati Khabar – विजयरत्न असंबरे | २०८३ श्रावण २२, शुक्रबार
नेपाल सरकारले अब सांस्कृतिक तथा राष्ट्रिय महत्वका विषयवस्तुमा आधारित चलचित्र निर्माणलाई प्रोत्साहन गर्न तीन करोड ५० लाख रुपैयाँ अनुदान उपलब्ध गराउने भएको छ।
सूचना तथा सञ्चार मन्त्रालयले तयार पारेको ‘सांस्कृतिक तथा राष्ट्रिय महत्वको क्षेत्रमा चलचित्र निर्माणका लागि प्रोत्साहन अनुदान कार्यक्रम सम्बन्धी कार्यविधि, २०८३’ को मस्यौदामाथि चलचित्रकर्मी तथा सरोकारवालासँग छलफल पछि याे निर्णय गरेको हाे।
छलफलमा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मौलिक, यथार्थपरक र राष्ट्रिय पहिचानसँग जोडिएका चलचित्र निर्माणलाई प्रोत्साहन गर्ने उद्देश्यले अनुदान कार्यक्रम ल्याउन लागिएको बताउनुभयो। उहाँले अनुदान वितरण प्रक्रिया पारदर्शी, प्रभावकारी र जवाफदेही बनाउन स्पष्ट कार्यविधि आवश्यक रहेको उल्लेख गर्नुभयो।
मन्त्री तिमिल्सिनाले सरकारी लगानीबाट निर्माण हुने चलचित्रले नेपालको इतिहास, संस्कृति, सामाजिक मूल्य र राष्ट्रिय पहिचानलाई प्रभावकारी रूपमा प्रस्तुत गर्नुपर्ने बताउनुभयो।
छलफलमा सहभागी चलचित्र निर्माता, निर्देशक तथा कलाकारहरूले अनुदान वितरण प्रक्रिया निष्पक्ष र पारदर्शी हुनुपर्ने सुझाव दिएका छन्। उनीहरूले नयाँ तथा उदीयमान चलचित्रकर्मीलाई प्राथमिकता दिनुपर्ने, स्पष्ट मापदण्ड निर्धारण गर्नुपर्ने र अनुदान प्राप्त चलचित्रको गुणस्तर तथा प्रभाव मूल्याङ्कन गर्ने व्यवस्था राख्नुपर्ने धारणा राखेका छन्।
मन्त्रालयले सरोकारवालाबाट प्राप्त सुझाव समेटेर कार्यविधिलाई अन्तिम रूप दिने जनाएको छ। कार्यविधि स्वीकृत भएपछि सांस्कृतिक तथा राष्ट्रिय महत्वका उत्कृष्ट चलचित्र निर्माणका लागि अनुदान वितरण गरिनेछ।
Categorized in राष्ट्रिय

