STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अमर वान्तु र हरि ढुंगेललाई हिमालयन इन्टरनेशनल अवार्ड-२०२६ दीर्घसाधना सम्मान

Janjati Khabar – विजयरत्न असंबरे | २०८३ आषाढ ३१, बुधबार

नेपाली भाषा, साहित्य, संगीत, कला र सामाजिक सेवामा लामो समयदेखि निरन्तर योगदान पुर्‍याउँदै आउनुभएका वरिष्ठ स्रष्टाद्वय अमर वान्तु र हरि ढुंगेललाई ‘हिमालयन इन्टरनेशनल अवार्ड-२०२६’ मा ‘दीर्घसाधना सम्मान’ बाट सम्मानित गरिने भएको छ । हिमालयन इन्टरनेशनल अवार्डको छैटौं संस्करणमा गीतसंगीत साहित्य, कला र संस्कृतिको संरक्षण, संवर्द्धन तथा प्रवर्द्धनमा पुर्‍याएको दीर्घकालीन योगदानको कदरस्वरूप उहाँहरूलाई दीर्घसाधना सम्मान अर्पण गर्न लागिएको अवार्ड संयोजक गीता अधिकारीले जनाकारी गराउनुभयो ।

वान्तु र ढुंगेलले दशकौँदेखि नेपाली भाषा, साहित्य, गीतसंगीत तथा सामाजिक क्षेत्रमा पुर्‍याएको योगदानले नेपाली सिर्जनशील जगतलाई समृद्ध बनाएको छ । उहाँहरूको निरन्तर साधना, सिर्जना र सामाजिक उत्तरदायित्वको सम्मानस्वरूप यसवर्षको ‘दीर्घसाधना सम्मान’ प्रदान गर्ने निर्णय गरिएको अधिकारीले बताउनुभयो ।

सिक्किममा जन्मिनुभएका हरि ढुंगेल नेपाली साहित्य, अभिनय तथा सामाजिक सेवामा लामो समयदेखि सक्रिय व्यक्तित्व हुनुहुन्छ । सरकारी सेवाबाट अवकाशपछि उहाँ साहित्य सिर्जना, सांस्कृतिक गतिविधि र सामाजिक सेवामा निरन्तर समर्पित रहँदै आउनुभएको छ । उहाँका ‘हिमशिखा’, ‘मेरो जिन्दगी’, ‘अमृत वर्षा’, ‘यात्रा अमेरिकाको’ र ‘हिमालदेखि सागरसम्म’लगायत कविता, कथा, गीत र नियात्रासम्बन्धी सात कृति प्रकाशित छन् । उहाँका साहित्यिक कृतिहरूले नेपाली भाषा र साहित्यको विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याएका छन् । ढुंगेल नेपाली साहित्य परिषद्, सिक्किमका अध्यक्ष हुनुहुन्छ । साहित्यसँगै अभिनय क्षेत्रमा पनि उहाँको योगदान उल्लेखनीय छ । उहाँले विभिन्न नाटक, चलचित्र तथा वृत्तचित्रमा अभिनय गर्दै आफ्नो बहुआयामिक प्रतिभा प्रस्तुत गर्नुभएको छ । हरि ढुंगेलको गीतकारका रूपमा पनि उतिकै ख्याति रहेको छ । उहाँका शब्दमा नेपाली संगीत क्षेत्रका चर्चित गायक–गायिकाले स्वर दिएका दर्जनौं गीत लोकप्रिय छन् ।

यस्तै, भोजपुरमा जन्मिनुभएका वरिष्ठ गीतकार अमर वान्तु नेपाली गीत-साहित्यका स्थापित नाम हो । बाल्यकालदेखि नै संगीतप्रति रुचि राख्ने वान्तु परिवारकै सांगीतिक वातावरणमा हुर्किनुभएको थियो । उहाँका दाजुहरूले गिटार र हार्मोनियम बजाउने भएकाले बाल्यकालमै नारायण गोपाल, जेबी टुहुरेलगायत गीत गाउने वातावरण उहाँले पाउनुभयो ।

विद्यालय र कलेज जीवनदेखि नै गीत, कविता तथा साहित्यिक गतिविधिमा सक्रिय वान्तुले आफ्नो सिर्जनशील यात्रालाई निरन्तर अघि बढाउनुभयो । भोजपुरको दिल्पा अन्नपूर्ण विद्यालयबाट एसएलसी उत्तीर्ण गरेपछि धनकुटा कलेजमा अध्ययन गर्नुभएका उहाँ गीतकार बन्ने सपना बोकेर वि.सं. २०४५ मा काठमाडौं आउनुभएको थियो । त्यसयता उहाँले नेपाली सांगीतिक क्षेत्रमा १५० भन्दा बढी गीत सिर्जना गरिसक्नुभएको छ । जीवन, प्रेम, समाज र दर्शनलाई सरल तर गहिरो भावमा प्रस्तुत गर्ने उहाँको लेखन शैली नेपाली गीतसाहित्यमा विशिष्ट मानिन्छ ।

आयोजकका अनुसार अमर वान्तु र हरि ढुंगेलको सम्मान केवल दुई व्यक्तिको योगदानको कदरमात्र नभई नेपाली भाषा, साहित्य, संगीत र संस्कृतिको दीर्घकालीन सेवाप्रतिको सम्मान पनि हो । उहाँहरूको सिर्जनात्मक यात्रा आगामी पुस्ताका लागि प्रेरणाको स्रोत बन्ने विश्वास आयोजकले व्यक्त गरेको छ ।

यसअघि दीर्घसाधना सम्मान विशिष्ठ संगीतकार राजु सिंह, स्वर्गीय गुरुदेव कामद, वरिष्ठ गायिका तथा संकलक चन्द्रकला शाह, वरिष्ठ गायिका ज्ञानु राणा तथा वरिष्ठ गायक खड्ग गर्बुजालाई प्रदान गरिएको थियो ।

अवार्ड समारोहमा नेपाली गीत संगीतकर्मीलाई विशेष सम्मान गरिने साथै कला क्षेत्रमा कलम चलाउने पत्रकारलाई समेत सम्मान गरिने अवार्डका अध्यक्ष गणेश सुवेदीले जानकारी गराउनुभयो । यस्तै, बालप्रतिभालाई राजिङ्ग स्टार अवार्ड पनि प्रदान गरिने उहाँले जानकारी गराउनुभयो ।

Categorized in साहित्य-कला