STC 810x100 adv
nepal invistment new 31
janswastha 11 11 78

" चोभार ब्लुज ” लगायत उत्तम आख्यान पुरस्कारका लागि तीन कृतिहरुको नाम सार्वजनिक

Janjati Khabar – विजयरत्न असंबरे | २०८० आषाढ १२, मंगलबार

साहित्यपोस्ट उत्तम आख्यान पुरस्कार – २०७९’ का लागि अन्तिम सूची प्रकाशित गरिएको छ । जसअनुसार विक्रम भक्त जोशीको निकथा सङ्ग्रह ‘चोभार ब्लुज’ पर्न सफल भएको छ । पहिलो पुस्तकको रूपमा आख्यान लेखेर नेपाली भाषा साहित्यमा औपचारिक पाइला चालेका लेखकहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले सुरु भएको ‘साहित्यपोस्ट उत्तम आख्यान पुरस्कार’को अन्तिम सूचीमा ‘चोभार ब्लुज’ पर्न सफल भएको हो ।

पुरस्कारको अन्तिम सूचीमा जोशीको ‘चोभार ब्लुज’सँगै दिला शाहको कथासङ्ग्रह ‘अँध्यारो बस्तीकी नायिका’  र हरिबोल काफ्लेको उपन्यास ‘यशोधरा’ रहेका छन् । अन्तिम सूचीमा छानिएका तीन कृतिमध्ये एकलाई ५० हजार रुपियाँ राशिको ‘साहित्यपोस्ट उत्तम आख्यान पुरस्कार- २०७९’ प्रदान गरिनेछ ।

‘साहित्यपोस्ट उत्तम आख्यान पुरस्कार – २०७९’ का लागि ०७९ सालभरि प्रकाशनमा आएका ४४ आख्यान विधाका कृतिहरू प्राप्त भएका थिए । पहिलो चरणमा ४४ आख्यान विधाका कृतिहरूबाट १२ कृतिको ‘लामो सूची‘ जारी गरिएको थियो भने दोस्रो चरणमा उत्कृष्ट ५ आख्यान कृतिको ‘छोटो सूची‘ सार्वजनिक गरिएको थियो । विशेष मूल्याङ्कन समितिको मूल्याङ्कनका आधारमा छोटो सूचीमा समावेश ५ कृतिमध्येबाट उत्कृष्ट तीन कृतिको ‘अन्तिम सूची’ जारी गरिएको हो ।

‘साहित्यपोस्ट उत्तम आख्यान पुरस्कार – २०७९’को विजेताको घोषणा सार्वजनिक समारोह आयोजना गरी गरिने साहित्यपोस्टका प्रधानसम्पादक तथा मूल्याङ्कन समितिका संयोजक अश्विनी कोइरालाले जनाउनुभएको छ । उहाँले , ‘अन्तिम सूचीमा परेका तीन आख्यान विधाका कृतिहरू आ-आफ्नै अलग विशेषताका साथ दर्बिलो गरी उभिएका छन् । तीन कृतिमध्ये सर्वोत्कृष्ट कृतिलाई पुरस्कृत गर्ने कुरामा हामी प्रतिबद्ध छौं । सार्वजनिक समारोहको आयोजना गरी पुरस्कृत कृति र स्रष्टाको घोषणा र पुरस्कार वितरण गरिनेछ ।’ भनि भन्नु भएको छ ।

कोइरालाका अनुसार, गुरूपूर्णिमाको अवसर पारेर आउँदो असार १८ गते साहित्यपोस्टले विशेष सार्वजनिक समारोहको आयोजना गरी विजेताको घोषणासहित पुरस्कार तथा सम्मानपत्र वितरणसमेत गरिने भएकोछ ।

‘साहित्यपोस्ट उत्तम आख्यान पुरस्कार’को पुरस्कारको प्रायोजन अनुसन्धानदाता एवं शिक्षा व्यवसायी उत्तमप्रसाद पन्तले गर्नुभएको हो । राणाकालमा समाज परिवर्तनका लागि जलसमाधि लिएकी योगमायाका विषयमा विस्तृत अध्ययन गर्नुभएका उत्तमप्रसाद पन्त साहित्यकार पारिजातसँग लामो समय रहनुभएको थियो ।

Categorized in साहित्य-कला