STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

शिक्षासेवी जयपृथ्वीबहादुर सिंह राष्ट्रिय विभूति घोषणा

Janjati Khabar – Janjati Khabar | २०७९ आषाढ ७, मंगलबार

काठमाडौँ - सरकारले शिक्षासेवी जयपृथ्वीबहादुर सिंहलाई राष्ट्रिय विभूति घोषणा गरेको छ । यससँगै हालसम्म घोषित राष्ट्रिय विभूतिको संख्या १८ पुगेको छ ।

सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले मंगलबार उक्त कुराको जानकारी दिएका हुन् । सोमबारको मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै मन्त्री कार्कीले नेपालको शिक्षा क्षेत्रको विकासमा दिएको महत्वपूर्ण योगदानका लागि सिंहलाई राष्ट्रिय विभूति घोषणा गरिएको बताए ।

जयपृथ्वीबहादुर सिंह एक बझाङ्गी राजा थिए । उनले लेखेको ‘अक्षराङ्क शिक्षा’ नामक पुस्तक नेपाली भाषाको पहिलो पाठ्यपुस्तक मानिन्छ । यसका साथै उनले ‘प्राकृत व्याकरण’ नामक पुस्तक पनि लेखेका थिए । उनले वि.सं. १९५८ सालमा गोरखापत्र प्रकाशनमा ल्याएका थिए ।

जयपृथ्वीबहादुर सिंहले लेखेका नेपाली भाषाको पुस्तक ‘अक्षराङ्क’मा देवनागरी लिपिका साँवाअक्षर, गणितका साधारण हिसाव, तत्कालीन चलनचल्तीमा रहेको नापतौल, वर्ष, महिना, दिन, ऋतु, अङ्ग्रेजी महिनाका नाम आदि कुरा समावेश गरिएका थिए। विसं १९५८ मा प्रकाशित उक्त पुस्तकमा बाह्रखरी अक्षर ज्ञान, गणितको एकावली, पहाडा, विभिन्न वर्गाङ्क, जोडघटाउ, भाग, गुणन र इस्लाम धर्मका चाडपर्वको पनि उल्लेख छ। जयपृथ्वीले अक्षराङ्क शिक्षा लेखेर (इ.सं.१९०१)मा प्रकाशित गरेपछि, त्यो पुस्तक कोसेढुङ्गोको रूपमा स्थापित भएको छ।

जयपृथ्वीको जन्म विसं १९३४ भदौ ७ गते  बझाङ जिल्लामा भएको थियो भने निधन चाहिँ  वि.सं १९९७ असोज १ गते  भएको थियो ।

Categorized in शिक्षा