जापानमा नौमती बाजा घन्किन्छ
Janjati Khabar – जनजाति खबर | २०७४ माघ १७, बुधबार
भादगाउँले टोपी र दौरा सुरुवालमा ठाँटिएर निस्कन्छन्, एक हुल युवा । कलम समाउने हातले समाउँछ कर्नाल । होटलमा परिकार पस्कने हातले समाउँछ नरसिंगा । कम्युटरमा औंला चलाउने हातले पिट्छ झ्याली । पसलमा सामान बेच्ने हातले ठोक्छ ट्याम्को । कफिसपमा कुनै अन्तर्राष्ट्रिय ब्रान्डको कफी ग्राहकसम्म पुर्याउने हातले उचाल्छ ढोलक । घर, अफिस चक्किलो बनाउने हातले उठाउँछ दमाहा अनि घन्कन्छ टोकियोमा नौमती बाजा ।
अध्ययन तथा कामका लागि सपनाको सहर जापान पुगेका नेपालीलाई त्यही सहर बिरानो लागेपछि नेपाली नौमती बाजाको मोहनीले एकै ठाउँ भेला गराउने काममात्रै गरेको छैन, परिवारै भेटेको आत्मीयतासमेत दिलाएको छ ।त्यही नौमती बाजाको रन्कोले जोड्छ, टोकियो हुँदै नागोया, उसिगो लगायतका जापानी सहरका नेपालीलाई । बेलाबेला उनीहरु जम्मा हुन्छन् र घन्काउँछन् नौमती बाजा र नाच्छन्, नचाउँछन् सबैलाई ।
विभिन्न समयमा जापान पुगेका नेपाली युवाले अहिले नौमती बाजालाई त्यहाँका नेपालीसम्म मात्रै होइन जापानीकोसमेत मन जितेको घुम्टे नौमती बाजा समूहका अध्यक्ष चन्द्रबहादुर खत्री बताउँछन् ।
पढाइ, व्यापार व्यवसाय र जागिरबाट थोरै समय निकालेर नेपालीलाई भेट हुने र नौमती बाजामा रम्ने साझा थलोको रुपमा जापानमा विकास भएको खत्री बताउँछन् ।
बागलुङको गलकोट घुम्टे नौमती बाजा बनेपछि जापानभरिका नेपालीमाझ ख्याती कमाएको छ ।
नेपालमा विहाह लगायत विशेष बेलामात्र बजाइने पञ्चेबाजा तथा नौमती बाजा जापानमा भने जुनसुकै बेला घन्कन्छ ।
नेपालमा जाति विशेष रुपमा बाजाका रुपमा प्रयोग गरिने परम्पराभन्दा माथि उठेर यहाँ व्राहृमणदेखि पुन, मगर, खत्री, क्षेत्री, परियार, विक, नेपाली सबैजातिको साझा बाजा बनेको खत्रीको भनाइ छ । ‘जापानका नेपालीलाई कसरी जोड्न सकिन्छ भनेर युवाबीच सल्लाह गरिरहन्थ्यौं । त्यही क्रममा नेपाली नौमती बाजालाई जापानसम्म ल्याउने र समय मिलाएर एकै ठाउँ भेला हुने गरी नौमति बाजा समूह नै गठन गर्यौं,’ घुम्टे नौमती बाजा समूहका अध्यक्ष खत्रीले भने, ‘नौमतीले नेपालीपनलाई जोड्ने काममात्रै गरेको छैन, नेपाली लोक संस्कृति र पहिचानलाई अन्तर्राष्ट्रियकरण गर्ने कामसमेत भएको छ ।’
विवाह, व्रतबन्ध लगायत शुभ कार्यदेखि विभिन्न सांस्कृतिक कार्यक्रममा नौमती समूहलाई निम्तो आउँछ । ‘विवाह, शुभकार्यदेखि विभिन्न सांस्कृतिक कार्यक्रमा नौमती बाजा बजाउन निम्तो आउँछ,’ नौमती बाजा समूहका सदस्य तथा गायक सूर्य खड्का भन्छन्, ‘नेपाली लोक संस्कृति र जापानमा नौमतीमा छमछमी नाँच्न पाउँदा यहाँका नेपालीले आत्मीयता महसूस गर्छन् ।’
नौमती बजार समूहले जापानको सरकारी स्तरबाटै गरेको सांस्कृतिक कार्यक्रममासमेत प्रस्तुती राखेर जापानीलाई छमछमी नचाएका थिए । ‘हामी आफैं बजाउँछौं, हामी आफैं गाउँछौं,’ खत्रीले भने, ‘नेपाली नौमती बाजा घन्केको देख्दा जापानीसमेत दंग पर्छन् ।’
नेपाली चाडपर्वदेखि विभिन्न समयमा यो समूहले जापानमा थुप्रै पटक सांस्कृतिक कार्यक्रम गरेको छ । घुम्टे नौमती बाजा समूह भनेपछि जापाना छुट्टै पहिचान बनाउन सफल भएको खत्रीको भनाइ छ । नौमतीको ख्यातीसँगै जापानमा यसका नेपालबाट बाजाको मागसमेत बढिरहेको छ । २०७२ सालको भूकम्पका बेला होस् या अन्य विपतका बेला नौमती बाजा घन्काएरै पैसा उठाएर उनीहरुले सहयोग जुटाउने गरेका छन् ।
Categorized in सिनेमा