STC 810x100 adv
nepal invistment new 31
janswastha 11 11 78

बसपार्क निर्माणले तुलसीपुरवासीमा खुशियाली

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र १५, शुक्रबार

तुलसीपुरमा आधुनिक सुविधासम्पन्न बसपार्क निर्माण हुने भएपछि यहाँका नागरिक खुशी भएका छन् । यात्रुलाई सहज र सुरक्षित तरिकाबाट यातायात सेवा प्रदान गर्ने उद्देश्यले तुलसीपुर उपमहानगरपालिकाले आधुनिक सुविधासम्पन्न बसपार्क निर्माणको कार्यलाई तीब्ररुपमा अगाडि बढाएको छ । तुलसीपुर क्षेत्रमा अहिलेसम्म बसपार्क निर्माण नभएकाले यातायात सञ्चालन कार्य निकै चुनौतीपूर्ण र जटिल हुँदै आएको थियो । “बसपार्क निर्माण कार्य अन्तिम चरणमा पुगेको छ”, तुलसीपुर उपमहानगरपालिकाका इन्जिनियर पवनकुमार योगीले भन्नुभयो, “ निर्माणको काम ९० प्रतिशत पूरा भएकाले वैशाखको अन्तिम सम्ममा बसपार्क सञ्चालनमा आउने छ । नगर विकास कोषको रु ९ करोड ऋण सहयोगमा विसं २०७४ वैशाखदेखि शुरु भएको सो बसपार्क निर्माणको जिम्मेवारी शिवशक्ति कन्स्ट्रक्सन प्रालिले पाएको छ । शुरुको करीब दुई महिनासम्म जग्गा विवादका कारण अवरुद्ध भएको निर्माण कार्य जनप्रतिनिधिहरुको पहलमा समाधान भएपछि निर्माण कार्यले तीब्रता पाएको इन्जिनियर योगीले जानकारी दिनुभयो । आवश्यक सबै संरचनाहरु निर्माण भएपनि अहिले रङ लगाउने, मार्वल विछ्याउने काम भैरहेको निर्माण कम्पनीका विजय वोगटीले जानकारी दिनुभयो । बसपार्क नजिकै रहेको अटोभिलेजलाई त्यहाँबाट तुलसीपुर नगरपालिका वडा नं ६ रजौरास्थित कमल पोखरी सामुदायिक वनको जग्गामा सारेपछि सो क्षेत्रमा बसपार्कको निर्माण थालिएको हो । झन्डै साढे ५ विगाहा क्षेत्रफलमा फैलिएको सो अत्याधुनिक बसपार्कमा तीन सयभन्दा बढी सवारी साधनलाई व्यवस्थित रुपमा राख्न सकिने क्षमता छ । बसपार्कभित्र आधुनिक यात्रु प्रतिक्षालयसँगै भवन, शौचालय, पार्क र पक्की सडक निर्माण गरिएको पनि इन्जिनियर योगीले जानकारी दिनुभयो । उहाँका अनुसार वसपार्कभित्र ५२ ओटा व्यावसायिक टहराका साथै टिकट काउन्टर, प्रशासनिक भवन, रेष्टुरेन्ट लगायतका संरचना पनि निर्माण गरिएको छ भने महिला तथा शिशुहरुका लागि स्तनपान कक्षको छुट्टै व्यवस्था गरिएको छ । यसअघिको बसपार्क सानो, फोहोर, दुर्घन्ध र धुलोयुक्त भएकाले यात्रुहरु सास्ती खेप्न बाध्य भएका थिए । यसका साथै रातको समयमा बसपार्क असुरक्षित हँुदै आएको पनि थियो । बसपार्क निर्माणको म्याद असार महिनासम्म भएपनि वैशाख अन्तिमसम्ममा हन्तान्तरण गर्ने तयारी भैरहेको निर्माण कम्पनीले जनाएको छ । आधुनिक बसपार्क निर्माणले आफूलाई निकै उत्साहित बनाएको तुलसीपुरका बस व्यवसायी प्रकाश भट्टले बताउनुभयो । उहाँले भन्नुभयो– “भौतिक पूर्वाधार सहितको सुविधायुक्त बसपार्क नहुँदा आफूसहित यहाँका बस व्यावासायीले निकै सास्ती खेप्नुपरेको र बस लगायतका सवारी साधनहरु अन्यत्रै पार्किङ्ग गर्दा रातको समयमा असुरक्षा बढ्ने र यात्रुलाई पनि असजिलो हने गरेको थियो ।” तुलसीपुर–काठमाडौँ बस चालकको काम गर्दै आउनुभएका भुपेन्द्र भण्डारीले पनि आधुनिक बसपार्क निर्माणले आफूलाई खुशी लागेको बताउनुभयो । उहाँले टाढाको दूरीबाट गाडी चलाएर आउनुपर्ने, गाडी पार्किङ्गका लागि साहुको घर खोज्नुपर्ने वाध्यता रहेकोमा अब त्यस्तो समस्या हट्ने भएकोले खुशी लागेको बताउनुभयो । राप्ती यातायात व्यवसायी समितिका अध्यक्ष सुरेश हमालले आधुनिक वसपार्क सञ्चालनमा आएपछि जथाभावी रुपमा गाडी राख्नुपर्ने वाध्यता हट्ने र यसले शहर पनि व्यवस्थित र सफा हुने धारणा व्यक्त गर्नुभयो । उहाँले भौतिक पूर्वाधारयुक्त बसपार्क नहुँदा घाम पानी तथा रातको समयमा यात्रुहरुले निकै सास्ती भोग्नुपर्ने पिडाको पनि अब अन्त्य हुने बताउनुभयो । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले जग्गाको विवादका कारण निर्माण सुरु हुन नसकेको आधुनिक वसपार्क निर्माणको कामलाई उपमहानगरपालिकाले पहिलो प्राथमिकता राखेको बताउनुभयो । उक्त बसपार्क निर्माणको कार्यलाई चुनावी एजेण्डा नै बनाउनुभएका उहाँले पनि आफू सफल भएको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो– “यसले नगरको सुन्दरता बढाएको छ र नागरिकलाई सुविधा प्रदान गर्ने तथा तुलसीपुर बजारलाई व्यवस्थित गर्न पनि सहयोग पु¥याउने छ ।”
Categorized in उपत्यका