“उच्च शिक्षा लिनेहरु प्रोत्साहन गर्न कलेजले ४० र नगरपालिकाले ६० % रकम दिने गरेको छ : शिक्षक नारायण महर्जन
Janjati Khabar – ललेन्द्र शाक्य | २०८२ श्रावण २७, मंगलबार
“कलेजलाई जग्गा नदिएको भए यो पोखरी कै रुपमा हुने थिएन होला” – शिक्षक नारायण महर्जन
कीर्तिपुर\हाल कीर्तिपुर नगरीमा चर्चा परिचर्चाको विषय भइरहेको छ, शहीद स्मारक कलेज र कलेजको नयाँ भवनमा मिठाई पसललाई सटर भाडामा दिइएको विषय ।
सामाजिक संजालमा पनि यसरी कलेजले आफ्नो नयाँ भवनमा मिठाई पसललाई सटर भाडामा दिएको विषयमा विभिन्न प्रतिक्रियाहरु आइरहेका छन् ।
कीर्तिपुर नगरपालिका १० वडा नयाँबजार क्षेत्रमा अवस्थित उक्त कलेज हुनतः ऐतिहासिक सार्वजनिक पोखरीको जग्गा हुन् ।
यस विषयमा शिक्षक नारायण महर्जन भन्नु हुन्छ, “जुन बेला कलेजलाई जग्गा दिइएको थियो त्यस बेला शहीद स्मारक कलेजलाई प्रदान गरिएको जग्गा पाउन तत्कालीन गा.वि.स.मा निवेदन दिनेहरु शहीद स्मारक कलेज, कीर्तिपुर प्रहरी वृत, व्यक्तिगत रुपमा हाम्रो जग्गा हो भनेर सामान्य प्रमाण सहित आउने ... एक महर्जन, ...एक निवेदक बिर्से।”
पोखरी जग्गाको दुबैतिर व्यक्तिगत जग्गा धनीहरुले कोटारी कोटारी जग्गा करिब १० फुटभन्दा बढी घटीसकेको अवस्था थियो नै, जति पोखरीको क्षेत्रफल थियो त्योभन्दा कम हुँदै गइरहेको थियोभन्नु हुँदै शिक्षक नारायण महर्जन भन्नु हुन्छ, “तत्कालीन गा.वि.स. अध्यक्षले केही गर्न सकिरहेको थिएन । उहाँको भनाई अनुसार त्यति बेलाको परिस्थितिलाई मध्यनजर गरी यो जग्गा बचाउनु छ भने सबैभन्दा राम्रो आफ्नो जग्गा नभएर भवन बनाउन नसकिरहेको र कीर्तिपुर माध्यमिक विद्यालयमा संचालनमा रहेको सामुदायिक शहीद स्मारक कलेजलाई दिए वरिपरीको encrochment पनि बच्ने, प्रहरीलाई पनि दिन नपर्ने, व्यक्तिगत रुपमा आउनेले पनि बोल्न नसकिने ठानेर कलेजलाई र नयाँबजार क्लबलाई एउटै निर्णयबाट परिपत्र गरि दिएको हो। शायद यसरी कलेजलाई जग्गा नदिएको भए यो पोखरी कै रुपमा हुने थिएन होला भन्ने अनुमान गर्न सकिन्छ । व्यक्तिले गुठी जग्गा जस्तै रैकरमा परिणत गरी ब्यक्तिको भैसक्थ्यो कि वा प्रहरी वृतको भवन भै सक्थ्यो।”
शिक्षक महर्जन भन्नु हुनछ, “शहीद स्मारक कलेज , सरकारी कलेज पनि हैन र निजी पनि हैन । सम्पूर्ण संचालन गर्न आवश्यक रकम साथै भौतिक पूर्वाधार बनाउन सम्पूर्ण रकम आफ्नै आम्दानी (विद्यार्थीबाट न्युन रुपमा लिईएको शुल्क), दान दातब्यबाट चल्ने हो । स्नातक तहको आम्दानीले कलेज संचालन खर्च पुग्दैन । +२ को आम्दानीबाट आजसम्म स्नातक तह ठेगीरहेको हो। नयाँ शिक्षा ऐन पास भईसक्यो +२ कलेजबाट अलग्गिदैछ ।”
स्नातक तह संचालन गर्न कलेजलाई कठिन भइरहेको जानकारी दिनुहुँदै शिक्षक महर्जनले अर्को कुरा BCA जस्ता स्नातक तहको कार्यक्रम अन्य बाहिरी कलेजमा न्युनतम ७ लाखमा अध्यापन गराउँछ तर यस कलेजमा ३ लाख ६० हजारमा अध्यापन गराउँछ साथै प्रत्येक विद्यार्थीलाई ५० हजार कलेजले छुट दिन्छ र नगरपालिकाबाट ५० हजार छुट गरी थोरै रकममा यहाँका विद्यार्थीहरुले सहुलियत रकममा अध्ययन गर्न पाईरहेको छ, यसरी सहुलियत दिई दिई कलेज संचालन गर्न कहीं न कहींबाट स्रोत नजुटाई हुन्न होला । त्यसैले कलेज भवनको अगाडि पसल संचालन गर्न दिई सहुलियत दिने रकम जोहो गरेको हो भन्नु हुन्छ ।
त्यस्तै गरी कीर्तिपुरका नागरिकहरुलाई एक घर एक स्नातकको नारा सार्थक गरी कीर्तिपुरमा उच्च शिक्षा लिने व्यक्तिहरु प्रोत्साहान गर्न कलेजले ४० प्रतिशत र नगरपालिकाले ६० प्रतिशत रकम दिने गरेको जानकारी पनि शिक्षक नारायण महर्जनले दिनुभयो ।
शिक्षक महर्जन भन्नु हुन्छ, “कलेज QAA मा जाने क्रममा प्रयास गर्दैछ, उनीहरुको विभिन्न मापदण्डमध्ये एक राम्रो क्यान्टिन पनि हो । कलेजकै आफ्नो क्यान्टिन, त्यही पसलको पछाडिको कोठामा व्यवस्था गर्दा सस्तो, सफा, राम्रो क्यान्टिन हुने सोचले पनि आँगनलाई पसल राख्न दिएको हो । पसल पछाडि क्यान्टिन बनाउन तयारी गरिरहेको अवलोकन गर्न सकिन्छ ।”
कलेजसंग नयाँ भवन पुरा गर्न रकम नभएकैले कक्षा कोठा र डेस्क बेन्च आवश्यक भै सक्यो तर रकमको अभावबाट पूर्णता दिन नसकिरहेको यथार्थ पोख्नु हुँदै शिक्षक महर्जन भन्नु हुन्छ, “यी सबै सहुलियत रकम जोहो गर्न र नयाँ भवन छिटै पूर्णता दिन यस्ता योजनाहरु अगाडि ल्याएको हो भन्दा अतिसयुक्ति नहोला भन्ठान्छु।”
शिक्षक महर्जन भन्नु हुन्छ, “तसर्थ कलेज संचालनको लागि कलेज भवनको अगाडि पसल राख्न कलेज पनि चाहँदैन जस्तो लाग्छ तर यी सबै माथिका खर्च धान्ने कुनै योजना वा दाता छन् भने कलेजले तुरुन्तै हटाउनेछ होला ।”
शिक्षक नारायण महर्जनले यस विषयमा थप जानकारीका लागि कलेज प्रशासनमा सम्पर्क गर्न यस विषयमा चासो लिने सम्पूर्ण महानुभावहरुलाई अनुरोध पनि गर्नुभएको छ ।
Categorized in शिक्षा

