STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

‘सामूहिक अधिकार’ नारा बोकेर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव

Janjati Khabar – विजयरत्न असंबरे | २०८० मङ्सिर २२, शुक्रबार

मानव अधिकार चलचित्र केन्द्रको आयोजनामा ‘सामूहिक अधिकार’ नारासहित नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव काठमाडौंमा मंसिर २३ गतेदेखि २६ (डिसेम्बर ९–१२ ) सम्म हुने भएको छ।

यो महोत्सवको ११औँ संस्करणको रुपमा हुन लागेको यस पटकको महोत्सव चार दिनसम्म नेपाल पर्यटन बोर्ड र चावहिलस्थित चलचित्र विकास बोर्डमा सञ्चालन हुनेछ ।  

महोत्सवको उद्घाटन  मंसीर २३ गतेका दिन लाइभ सांगीतिक कार्यक्रमसहित काठमाडौँको नेपाल पर्यटन बोर्डमा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तप बहादुर मगरले गर्नेछन्। महोत्सवको उद्घाटन चलचित्रको रुपमा सुभांगी खड्काको वृत्तचित्र ‘द एज अफ लर्निङ’ प्रदर्शन गरिने कार्यक्रम रहेको छ। 

विश्वभरिबाट डकुमेन्ट्री, सर्ट, एनिमेसन र फिक्सन गरी २६ देशका ५४ वटा चलचित्रहरु यस महोत्सवमा प्रदर्शन गरिनेछ। महोत्सवमा नेपाल लगायत फ्रान्स, स्पेन, बेलायत, अमेरिका, अस्ट्रेलिया, क्यानडा, ओमान, थाइल्याण्ड, म्यान्मार, दक्षिण कोरिया, जर्मनी, इरान, टर्की, क्रोएसिया, इटली, अयारल्याण्ड, किर्जिस्तान, जर्जिया, पोल्याण्ड, ताजिकिस्तान, नर्वे, युक्रेन, बङ्गलादेश र भारतबाट प्राप्त मानवअधिकारका विषयमा निर्मत चलचित्र तथा वृत्तचित्रहरु प्रदर्शन गरिनेछ।

महोत्सवको जुरीमा बेलायतका माइकल ब्राउन, भारतकी अनुपमा बोस र नेपालकी पशुपति राई रहेका छन्। महोत्सवमा जुरीबाट छनौट भएका उत्कृष्ट पाँच चलचित्रहरुलाई अन्तर्राष्ट्रिय फिचर प्रतिस्पर्धा, अन्तर्राष्ट्रिय शर्ट फिक्सन तथा ननफिक्सन र नेपाली सर्ट फिक्सन तथा ननफिक्सन विधामा नगद सहित पुरस्कार प्रदान गरिने छ। त्यस्तै महोत्सवमा एकजना उत्कृष्ट नेपाली महिला निर्देशकलाई पनि पुरस्कृत गरिनेछ।

महोत्सवमा चलचित्र प्रदर्शनसँगै चलचित्रकर्मी, दर्शक, विश्लेषक र मानव अधिकारकर्मीबीचको बहस हुनेछ। यसवर्ष महोत्सवमा ‘सिनेमा विकासको लागि राजनीतिक प्रतिबद्धता’ र ‘सामूहिका अधिकार : अन्तर्राष्ट्रिय प्रतिबद्धता, अभ्यास र राज्यको दायित्व’ विषयमा राजनीतिकर्मी, अधिकारकर्मी र चलचित्रकर्मीहरुबीच दुईओटा प्यानल छलफल पनि राखिएको छ। 

साथै महोत्सवमा मानव अधिकारसँग सम्बन्धित फोटो प्रदर्शनी पनि हुने कुरा आयोजक ले बताएका छन् । महोत्सवको समापन समारोहमा बेलायतको एल्हम एहसासको सर्ट फिल्म ‘येल्लो’ प्रदर्शन हुनेछ। समापन समारोह मङ्सिर २६ गते काठमाडौँको नेपाल पर्यटन बोर्डमा सम्पन्न हुनेछ।

Categorized in सिनेमा