STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

‘येँ देय् म्हसीके’ अर्थात् काठमाडौं चिनौं पाठ्यपुस्तकको विमोचन सम्पन्न

Janjati Khabar – विजयरत्न असंबरे | २०७७ फाल्गुण २८, शुक्रबार

काठमाडौँ महानगर क्षेत्र भित्रका विद्यालयमा अब १ देखि ८ सम्म १०० पूर्णाङ्कको स्थानीय विषयको पठन–पाठन
काठमाडौं महानगरपालिकाले आधारभूत  तहको स्थानीय पाठ्यपुस्तक तथा पाठ्यक्रम ‘येँ देय् म्हसीके’ (काठमाडौं चिनौं) को विमोचन भएको छ । काठमाडौं महानगरपालिका शिक्षा विभागले आयोजना गरेको कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठ र काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले आज संयुक्त रुपमा ती पुस्तकको विमोचन गर्नुभएको हो ।  
विमोचन कार्यक्रममा बोल्नुहुँदै मन्त्री श्रेष्ठले काठमाडौँ महानगरपालिकाले स्थानीय शिक्षाको क्षेत्रमा ऐतिहासिक र साहसिक काम गरेको भन्दै प्रसंषा गर्नुभयो ।

मन्त्री श्रेष्ठले मेयर शाक्य उपत्यका नगरपालिका फोरमको समेत अध्यक्ष भएको भन्दै अब विस्तारै कम्तीमा पनि काठमाडौँ र उपत्यकामा यो शिक्षा लागु गर्ने एजेण्डा बनाएर अघि बढ्न सुझाव दिनुभयो ।  

प्रमुख शाक्यले यःमरि, मरुहिटी, क्वहिटी, थँहिटी आदि जस्ता रैथाने शब्दहरू अरु भाषामा बुझाउन सकिँदैन, ती कुराहरूलाई बुझ्ने मात्र होइन विद्यार्थीहरूले त्यसलाई आत्मसात समेत गर्न सकुन भन्ने उद्देश्यले त्यस्ता स्थानहरूको अवलोकन भ्रमण सहित स्थानीय भाषामै पढाउने गरी पाठ्यक्रम तयार पारेको जानकारी दिनुभयो ।

शाक्यले काठमाडौँ नेवारहरुको बाहुल्यता रहेको ठाउँ भएको र यहाँ ७७ वटै जिल्लामा नागरिक बसोबास गर्ने भएकाले सबैलाई यहाँको हावापानी, संस्कृति, परम्पराबारे जानकारी दिने उदेश्यले यो शिक्षा लागु गरेको पनि जानकारी दिनुभयो ।

उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले पनि यहाँका गुठी–परम्परा, जात्रा–पर्वलगायतका बारेमा विदेशमा जानकारी दिनलाई शिक्षा उपयोगी हुने बताउनुभयो ।

आधारभत तह कक्षा १ देखि कक्षा ८ सम्म हुने भए पनि आज कक्षा १ देखि ४ सम्मको पाठ्यपुस्तक विमोचन गरिएको हो । काठमाडौं महानगरपालिकाले आफु मातहत रहेका सम्पूर्ण सामुदायिक र निजी विद्यालयहरूमा यसै वर्षदेखि उक्त पाठ्यपुस्तक पठनपाठन गर्ने निर्णय गरिसकेको छ । नेपालको संविधानको भाग ३ मौलिक हक अन्तर्गत धारा ३२ को उपधारा (२) व (३) मा मुलुकको हरेक स्थानीय तहबाट आफू मातहत रहेका सामुदायिक र संस्थागत विद्यालयहरूमा स्थानीय पाठ्यक्रमका रूपमा आफैले एक विषय अध्ययन अध्यापन गराउन सकिने व्यवस्था गरिएको छ । काठमाडौं महानगरपालिकाले सोही व्यवस्था अन्तर्गत यो पाठ्यपुस्तक तयार गरेको हो ।

काठमाडौं महानगरपालिका क्षेत्रभित्र मूलतः नेपालभाषाभाषीहरूको बाहुल्यता रहेको कारणले महानगरपालिकाले नेपालभाषाको माध्यमबाट उक्त पाठ्यक्रम पठनपाठन गर्ने नीति लिएको हो । काठमाडौं महानगरपालिका क्षेत्र भित्र मानिने चाडपर्व, संस्कार संस्कृति, सीप कौशल, व्यवसाय, नैतिक शिक्षा, भौगोलिक प्राक् स्वरुप, स्वास्थ्य र सरसफाई, रहनसहन, व्यक्तित्व परिचय, भाषा र लिपी जस्ता विषय बारे परिचित गराउने उद्देश्यले उक्त विषयको पठन–पाठन सुरु गरेको काठमाडौँ महानगरपालिकाले जानकारी दिएको छ ।  

पाठ्यपुस्तक र पाठ्यक्रम लेखनमा शुरुदेखि सहभागी हुँदै आउनुभएका वरिष्ठ संस्कृतिविद् डा. चुन्दा वज्राचार्य पाठ्यपुस्तक नेपालभाषामा लेखिएको भए पनि यो भाषा सिकाउने पुस्तक नभएको बताउनुहुन्छ । पाठ्यपुस्तकमा काठमाडौं महानगरभित्र रहेका विभिन्न जात्रा, पर्व, ढुंगेधारा, पाटी, सत्तल, व्यक्ति आदि सम्बन्धी पाठहरू मात्र समावेश गरिएको उहाँको भनाई छ ।  पाठ्यपुस्तकमा काठमाडौंका प्रमुख जाति नेवारको जनजीवन, कला, खानपान, जात्रापर्व, भाषा, लिपि, परम्परागत खेलजस्ता विषय समेटिएका छन् । बालबालिकालाई नेपाल भाषा लाद्ने गरी होइन, परम्परागत ज्ञानसीपबारे जानकारी दिने गरी पाठ्यक्रम विकास गरिएको भन्दै शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले  उक्त पुस्तकको अध्ययनले काठमाडौं महानगरलाई नजिकै रहेर हार्दिकतापूर्वक बुझ्न सकिने बताउनुभयो ।

बालबालिकालाई सिक्न सजिलो होस भन्ने उदेश्यले १ देखि ३ सम्म १०० पूर्णाङ्कमा १०० नै अभ्यासगत पठन–पाठन गरिने छ भने कक्षा ४ र ५ मा ७५ अभ्यासगत र २५ सैद्धान्तिक पठन–पाठन हुने छ,’ सुवेदीले भन्नुभयो, ‘कक्षा ६,७ र ८ मा भने ५० अभ्यासगत र ५० सैद्धान्तिक पठन–पाठन हुने व्यवस्था गरिएको बताउनु भयो ।

काठमाडौं महानगरपालिकाको सातौं नगरसभाले स्थानीय पाठ्यक्रम अन्तर्गत स्थानीय महत्वका विषयहरू बारे महानगरवासीलाई परिचित गराउने उद्देश्यले स्थानीय भाषाबाटै पठनपाठन गर्ने निर्णय गरेको थियो  । कार्यक्रममा पाठ्यपुस्तक लेखन समितिका प्रमुख प्राविधिक सल्लाहकार एवं लेखक वरुणप्रसाद वैद्यलगायतले पनि बोल्नुभएको थियो ।

Categorized in शिक्षा