‘बालश्रम शोषण विरुद्ध बाल अधिकारको अभियान’ः अनुग्रह बाल क्लब
Janjati Khabar – जनजाति खबर | २०७५ फाल्गुण २४, शुक्रबार
‘बालश्रम शोषण विरुद्ध बाल अधिकारको अभियान’ विगुल फुकी ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर ६ सिद्धिपुरमा संचालित अनुग्रह बाल क्लबले विशेष अभियानको थालनी गरेको छ ।
असल नागरिक निर्माणमा विद्यालय शिक्षा मात्र नभई व्यवहारिक शिक्षा पनि अपरिहार्य हुन्छ भन्ने कुरा विभिन्न अध्ययनहरुबाट तथ्य सार्वजनिक भइसकेको कुरालाई मनन गरी सो अभियानको थालनी गरेका हुन् ।
अनुग्रह बाल क्लबका संरक्षक विनोद महर्जनले हाम्रा बालबालिकाहरु कुमालेको माटो जस्तै हुन् भन्ने कुरालाई मध्यनजर गर्दै भन्नुहुन्छ, “बालबालिकाहरुले घर तथा विद्यालयमा जस्तो वातावरणमा हुर्कने अवसर पाउँछन्, ती बालबालिकाहरु भविष्यमा त्यस्तै बन्नेछन् । तसर्थ बालबालिकाहरुलाइै समयमैं विद्यालय शिक्षाको साथसाथै व्यवहारिक शिक्षा, मनोसामाजिक परामर्श, शारीरिक तथा मानसिक विकासको लागि खेलकुदमा सहभागिता, सामुहिकता तथा नेतृत्व विकासका अवसरहरु प्रदान गर्नुपर्ने हुन्छ ।”
बाल क्लबका संरक्षक महर्जनले यस्ता व्यवहारिक विषयहरु हम्रा विद्यालयहरुमा समावेश हुन सकिरहेको अवस्था छैन भन्नु हुँदै यसै परिप्रेक्ष्यमा अनुग्रह बाल क्लबले ललितपुरको ठैब, हरिसिद्धि तथा सिद्धिपुरका विद्यालय उमेरका ३ वर्षदेखि २० वर्षसम्मका करिब १४० विद्यार्थीहरुलाई उनीहरुको विद्यालय शिक्षामा रहेका कमी कमजोरीलाई परिपूर्ति गर्दै असल नागरिक हुनको लागि आवश्यक पर्ने विभिन्न व्यवहारिक शिक्षा, परामर्श, तालिम तथा सिपहरु, सामुहिकता, सरसहयोग तथा नेतृत्व विकास, खेलकुद, संगीत तथा साहित्यसंग सम्बन्धित विभिन्न क्रियाकलापमा समावेश हुने अवसरहरु प्रदान गर्दै आइरहेको जानकारी दिनुभयो ।
अनुग्रह बाल क्लबले ठैवस्थित एक स्कूलमा आफ्ना गतिविधिहरु संचालन गर्दै आइरहेकोमा व्यवहारिक कठिनार्यको कारण विद्यालयमा गतिविधिहरु संचालन गरिरहन असहज भएको हुँदा हाललाई जग्गा भाडामा लिई खुल्ला जग्गामा आफ्ना क्रियाकलापहरु संचालन गर्दै आइरहेको जानकारी पनि संरक्षक महर्जनले दिनुभयो ।
खुल्ला खेतमा बाल क्लबका गतिविधि संचालन गर्दा घाम, पानी, हावाका कारण नियमित रुपमा संचालन गर्न कठिनाई भएको कारण उक्त जग्गामा एक बाँस र जस्ता प्रयोग गरी हल निर्माण गर्न लागिरहेको जानकारी दिनु हुँदै बाल क्लबका संरक्षक विनोद महर्जनले उक्त हल निर्माण भए पश्चात सम्पूर्ण बालबालिकाहरुलाई सुरक्षित रुपमा एकसाथ विभिन्न गतिविधिहरुमा सहभागी गराउन सकिने विश्वास पनि व्यक्त गर्नुभयो ।
अनुग्रह बाल क्लबका संरक्षक विनोद महर्जनले क्लबका सदस्यहरुबाट सानोतिनो स्वेच्छिक आर्थिक तथा जिन्सी सहयोगबाट आफ्नो नियमित गतिविधिहरु संचालन गर्दै आइरहेको जानकारी दिदैं उहाँले उक्त सहयोगबाट हल निर्माण सम्भव नभएको विचार व्यक्त गर्नुभयो । उहाँले बालबालिकाहरुको उज्ज्वल भविष्यको लागि सम्बन्धित क्षेत्रका सहयोगी संघसंस्था, कार्यालय तथा व्यक्तित्वहरुबाट आर्थिक सहयोगको अपेक्षा राखेको जानकारी पनि दिनुभयो ।
Categorized in राष्ट्रिय

