STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

‘पञ्चबुद्ध पाँच पाण्डव होइनन्’

Janjati Khabar – जनजाति खबर | २०७६ भाद्र १०, मंगलबार

भक्तपुरमा बौद्ध धर्मावलम्बीहरुले मनाउने पञ्चदान पर्वमा विभिन्न बिहारबाट निस्केर नगर परिक्रमा गर्ने पञ्चबुद्ध पाँच पाण्डव नभएको सरोकारवालाहरुले बताएका छन् । बौद्ध धर्मावलम्बीहरुले पाँच बुद्धलाई दान दिएर मनाउने पञ्चदान पर्वमा हिन्दू धर्मावलम्बीहरुले पाँच पाण्डवको रूपमा पूजा एवं दान गरेर मनाउँदै आएका छन् । हरेक वर्ष गुँलागा त्रयोदशी भाद्र कृष्ण त्रयोदशी मा नेपाल मण्डलका बौद्ध धर्मावलम्बी नेवार समुदायले मनाउने यो पर्व हिन्दू धर्मावलम्बीले पनि महत्वपूर्ण पर्वको रूपमा मनाउँदै आएका छन् । दानलाई महत्व दिई सर्वहिताय दान भनिने पञ्चदान पर्व पाँच पाण्डवलाई नभई पञ्चबुद्धलाई दिइने सरोकारवालाहरुको भनाइ छ । बौद्ध धर्म विज्ञ पुष्परत्न शाक्यले महायान बौद्ध सिद्धान्तअनुरूप बुद्ध धर्ममा पञ्चदान गर्नाले लोभ नाश भई मनमा शान्ति प्राप्त हुने बताउनुभयो । अर्का विज्ञ शान्तरत्न बज्राचार्यले भक्तपुरमा पञ्चदानको हजार वर्ष अघिको प्राचीनता भए पनि राष्ट्रिय अन्तरराष्ट्रिय रूपमा यसको प्रचारप्रसार हुन नसक्दा एउटै ठाउँमा पनि बौद्धमार्गीले पञ्चदान र हिन्दूमार्गीले पाण्डवका रूपमा मान्ने गरेकाले यसलाई सबैमाझ पञ्चबुद्ध र दान पर्व भएको स्पष्ट पार्नुपर्ने औँल्याउनुभयो । भक्तपुरमा भोलि बुधबार पञ्चदान पर्व पाँच वटा दीपङ्कर बुद्धलाई सूर्यमढी ल्याएर राखिन्छ । करीब दुई घण्टा राखेर विभिन्न टोलबाट आएका भक्तजनहरुले पूजा गरिसकेपछि त्यहाँबाट नजिकको टोल टोलमा घुमाउने चलन छ । सूर्यमढीबाट भक्तपुर नगरको भित्री भागका विभन्न टोलहरूमा घुमाउँदै तःमारीमा पु¥याउने गरिन्छ । यतिबेलै तःमारीमा गुँला पर्वमा बजाउने बाजाहरुको प्रदर्शनी गर्ने गरिन्छ । त्यसपछि साकोथाको तीनदोबाटोमा पाँच वटा दिपङ्करहरुलाई आ–आफ्नो स्थानतिर लगेपछि यो पर्व सम्पन्न हुन्छ । यसदिन अन्न, गेडागुडी, फलफूल, औषधि र सियो धागो दान गरिन्छ । साथै पञ्चदानका रूपमा चामल, सुपारी, धान, मकै, गहुँ, भटमास, ढिकेनुन, पैसा, सुन चाँदी आदि चढाइन्छ । साथै जमिनबाट उत्पादन भएका विभिन्न प्रकारका काँचो खाद्यवस्तु आफ्नो गच्छेअनुसार चढाउने र दान दिने परम्परा रहेको छ । पिण्डपात्र दानको रूपमा पनि यस पर्वलाई लिइने गरिन्छ । पञ्चदानको अर्थ पाँच वस्तुको दान नभई पाँच दीपङ्कर बुद्धलाई गरिने दान भएको बताइन्छ । नेवार समुदायमा शाक्य र बज्राचार्यले यो दान ग्रहण गर्दछन् । दीपङ्कर बुद्धको मान्यता गरी उनीहरूको मूर्ति राखेर दान प्रदान गर्ने प्रचलन रहिआएको पाइन्छ । क्वाठण्डौको प्रसन्नशील, गोल्मढीको झौरवही, साकोथाको चतुरब्रह्म, भार्वाचोको थथुबही र कोथुबही महाबिहारबाट दीपङ्कर निस्किएर नगरको विभिन्न क्षेत्रको परिक्रमा गर्ने गरिन्छ । पाँच बुद्धको प्रतिमूर्तिसहित नगर परिक्रमा गरिएको दिपङ्कर सूर्यमढीको श्री पद्मबिहारमा आएर एकै ठाउँ भेला हुन्छन् । बिहानैदेखि पञ्चदान दिने परम्पराअनुसार शाक्य, बाहबहीका भिक्षुलाई भिक्षा दान दिइने परम्परा छ । नेपाल सम्वत् ५१२ मा शिवदेव तृतीयको शासनकालमा पैसासमेत राखेर पञ्चदान पर्वका लागि गुठी सञ्चालन गरिएको ताम्रपत्रमा उल्लेख भएअनुसार यो पर्व नेस ५१२ भन्दा अगाडि नै शुरु भएको बताइन्छ । यस दिनलाई सत्ययुगको उदय भएको दिनको रूपमा पनि मानिन्छ भने धानका देवताका रूपमा पनि मानिने भएकाले धानलगायतका अन्नहरु चढाउने र दान दिने प्रचलन छ ।
Categorized in विचार