‘नाम राख्ने जिम्मा अर्काे संसदलाई दिउँ’ : प्रदेश १ मुख्यमन्त्री
Janjati Khabar – Janjati Khabar | २०७९ श्रावण ५, बिहिबार
काठमाडौं - प्रदेश १ को नाम राख्नका लागि दलहरुले आन्तरिक गृहकार्य गरिरहेका बेला प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले नाम राख्ने जिम्मा अर्काे संसदलाई दिन प्रस्ताव गरेका छन् ।
बहुपहिचानका आधारमा नाम राख्नुपर्ने बताउँदै आएका मुख्यमन्त्री राईले राम्रो नाम दिन नसके अर्काे संसदलाई नाम राख्ने जिम्मा दिन प्रस्ताव गरेका हुन् । प्रदेशका ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले भूगोलका आधारमा नाम राख्नुपर्ने पक्षमा छन् ।
लिम्बूवान किरात प्रदेश माग गर्दै पुगेकाहरुलाई सम्बोधन गर्दै बिहीबार उनले भने,‘ ‘नराम्रो नाम लेखिनु भन्दा अहिलेलाई नलेखेर अर्काे संसदलाई छाड्दिनु राम्रो हुन्छ,यो लुकाउनु पर्ने कुरा होइन्, त्योसम्मको भूमिका मेरो रहनेछ ।’
प्रदेश १ को दसौैंं तथा अन्तिम अधिवेशनमा दलहरुले प्रदेशको नाम टुङ्गो लगाउनका लागि छलफल गरिरहेका छन् । नामका विषयमा छलफलका लागि साउन ८ गते प्रदेशसभाकोे बैठक बस्दैछ ।
‘एकदमै नेगेटिभ नाम राख्नुभन्दा नराख्नु राम्रोे हो,यसमा स्पष्ट छु, यो कुरा लुकाएर वा खुसुक्क भन्ने होइन,’ उनले भने,‘...पछि म जस्ताको इतिहास कतिको पढिन्छन् लेखिन्छन्, तर पढिन्छ लेखिन्छ भने म जस्ताले कता उभियो, के भूमिका खेल्यो भनेर संसारले थाहा पाउनुपर्छ ।’ उनले पालिकाहरुको नाम पनि पहिचानका आधारमा राखेको उल्लेख गर्दै प्रदेशको नाम पनि पहिचानका आधारमा राख्नुपर्ने बताए ।
‘पहिचानका आधारमा दिँदा सबै शान्त हुन्छ, सुबै खुसी हुन्छन्,’उनले भने,‘ नदिँदा आन्दोलन हुन्छ, त्यो आन्दोलनको सीमा अवधि हुन्न जहाँ पनि पुग्न सक्छ ।’
Categorized in राजनीति

