STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

‘गोकर्ण देशे’ मा नेवाः खुला सङ्ग्रहालय

Janjati Khabar – रासस | २०७७ कार्तिक २७, बिहिबार


गोकर्णेश्वर नगरपालिका वडा नं.–४ मा रहेको ऐतिहासिक राजा मानदेवले बसाएको विश्वास गरिने ‘गोकर्ण देशे’ नामक बस्तीमा नेवाः खुला सङ्ग्रहालय निर्माण शुरु भएको छ ।
 प्रदेश र स्थानीय सरकार साझेदारी कार्यक्रम अन्तर्गत गत आर्थिक वर्षमा छुट्याइएको रु ५० लाख बजेटले काम शुरु गरिएको वडा अध्यक्ष श्रीकुमार श्रेष्ठले राससलाई जानकारी दिनुभयो । ऐतिहासिक बस्तीलाई पुरानै स्वरुपमा संरक्षण गरी पर्यटक भित्र्याउने उद्देश्यले पुराना चीजबीजको संरक्षण गरी सङ्ग्रहालय निर्माण गर्न लागिएको हो । ऐतिहासिक बस्ती छिर्ने मूल सडकमा मूल ढोका निर्माण गरिनेछ । ‘गोकर्ण देशे’ छिर्ने बाटोमा रहेको भीमसेन र सरस्वतीको मूर्ति समेत संरक्षण गरिने छ । यस क्षेत्रमा रहेको पुरातात्विक महत्वको फल्चा, कुवा, ढुङ्गेधारा मासिन थालेकाले यसको समेत संरक्षणमा स्थानीय सरकार जुटेको छ ।
 विगतमा ढुङ्गाको सिँढीमा बसेर बुढापाकाले हुक्का तान्ने गरेकामा अहिले यो दृश्य समेत यहाँ देख्न पाइँदैन । चालु आर्थिक वर्षमा पनि यहाँका ऐतिहासिक चीजबीच संरक्षणका लागि प्रदेश सरकारले रु २० लाख बजेट थप गरेको छ । यो प्रदेश निर्वाचन क्षेत्रबाट निर्वाचित प्रदेश सभा सदस्य एवं वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाँलको पहलमा बजेट व्यवस्थापन गरिएको हो ।   बस्तीसँगै रहेको ऐतिहासिक दरबार पनि विसं २०७२  को भूकम्पले क्षतिग्रस्त छ । यसको पुनःनिर्माणमा सरोकार भएका निकायले ध्यान नदिएको वडा अध्यक्ष श्रेष्ठले गुनासो गर्नुभयो । हालै आयोजित सङ्ग्रहालय शिलान्यास कार्यक्रममा मन्त्री फुयाँल, सांसद कृष्ण राई, नगरपालिकाका प्रमुख सन्तोष चालिसे, उपप्रमुख शान्ति नेपाल लगायतले बस्ती एवं दरबार संरक्षणमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
 विगतमा राजनिकुञ्जको पर्खालभित्र पारिएको दरबार हाल नेपाल ट्रष्टको कार्यालय मातहत छ । भूकम्पको पाँच वर्ष बितिसक्दा समेत दरबार पुनःनिर्माणमा कुनै निकायले ध्यान नदिएको वडा कार्यालयले जनाएको छ ।

Categorized in उपत्यका