STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

‘कीर्तिपुरमा राहतको लागि संघ तथा प्रदेशबाट सहयोग आएन’

Janjati Khabar – जनजाति खबर | २०७७ बैशाख ४, बिहिबार

कीर्तिपुर – कीर्तिपुर नगरपालिकाका उपमेयर एवं प्रवक्ता सरस्वती खड्का रिजालले राहत वितरण गर्नको लागि संघीय सरकार र प्रदेश सरकारबाट कुनै राहत सामग्री सहयोग नआएको जानकारी दिएका छन् । कीर्तिपुर नगरपालिकाले आफ्नै कोष गठन गरी तथा विभिन्न संघसंस्थाको सहयोगमा राहत वितरण भइरहेको जानकारी पनि दिएका छन् । कीर्तिपुर नगरपालिकाले प्रत्येक वडाबाट विपन्न तथा मजदुरवर्गको लागि राहत वितरण गरिरहेको छ । उपमेयर रिजाल राहत वितरण सर्वदलीय अनुगमन समितिका संयोजक पनि हुन् । लकडाउनको समय वितरण गरेको राहत, त्यसको उपलब्धि र विविध गतिविधिको जानकारी दिन वैशाख ३ गते बुधबार एक पत्रकार सम्मेलन आयोजना गरिएको थियो । कीर्तिपुर नगरपालिकाले नगरभित्र कोही पनि खान नपाउने स्थितिमा नपुगोस् भन्ने उद्देश्य लिई काम गरिरहेको पनि उपमेयरले सम्मेलनमा जानकारी दिएका छन् । बहालमा बस्ने वा स्थानीय जोसुकै भए पनि नगरबासीलाई सेवा दिन नगरपालिका तयारी अवस्थामा रहेको जानकारी उनले पत्रकार सम्मेलनमा दिएका थिए । कीर्तिपुर नगर अहिलेसम्म कोरोना संक्रमणबाट सुरक्षित रहे पनि ढुक्क नै हुनुपर्ने स्थिति नरहेकोले सम्पूर्ण नगरबासीलाई लकडाउनको पालना गर्न पनि पत्रकार सम्मेलनमा आह्वान गरिएको थियो । पत्रकार सम्मेलनमा कीर्तिपुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सन्तमान श्रेष्ठले कीर्तिपुर नगरपालिकाले निर्माण गरेको क्वारेन्टाइन र आइसोलेसन वार्डबारे जानकारी दिएका थिए । विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार उक्त वार्ड निर्माण भएको र अहिले आठजना क्वारेन्टाइनमा रहेकोमा चारजनामा कुनै लक्षण नभेटिएकोले घर पठाइएको जानकारी श्रेष्ठले दिएका थिए । अहिले जाजरकोटका चारजना क्वारेन्टाइनमा रहेको उनले बताए । श्रेष्ठले चैत ३० गतेसम्म कीर्तिपुरमा विदेशबाट आएका ५२ जना आएकोमा हाल त्यो संख्या ६७ पुगेको जानकारी दिए । हालसालै विदेशबाट फर्किएकालाई दुईजना स्वास्थ्यकर्मीको उपस्थितिमा परीक्षण गराउने जानकारी दिँदै श्रेष्ठले अरु कोही विदेशबाट फर्किएको भए त्यसको जानकारी नगरपालिका वा वडामा दिन पनि आह्वान गरेका थिए । पत्रकार सम्मेलनमा कीर्तिपुर नगरपालिका १ वडाका वडाध्यक्ष, नगरपालिकाको स्वास्थ्य तथा फोहरमैला व्यवस्थापन समितिका प्रमुख हर्ष महर्जन, ९ वडाका वडाध्यक्ष एवं कीर्तिपुर विपद् व्यवस्थापन समितिका प्रमुख गंगाराम महर्जनलगायत विभिन्न संचारमाध्यमका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
Categorized in उपत्यका