STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

‘इलिफेन्ट्स् इन द फग’ लाई अन्तर्राष्ट्रिय सफलताबापत बोर्डद्वारा सम्मान

Janjati Khabar – विजयरत्न असंबरे | २०८३ आषाढ ७, आइतबार

काठमाडौं । अन्तर्राष्ट्रिय चलचित्र मञ्चमा नेपाली सिनेमाले हासिल गरेको ऐतिहासिक सफलताको कदर गर्दै चलचित्र विकास बोर्डले चलचित्र ‘इलिफेन्ट्स् इन द फग’ को निर्माण टिम तथा कलाकार समूहलाई नगद रु. दुई लाख ५० हजार  सहित सम्मान गरेको छ।

नेपाल पर्यटन बोर्डसँगको संयुक्त आयोजनामा बुधबार राजधानीमा आयोजित विशेष कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल ‘गनेस’,   सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिना र प्रधानमन्त्रीका प्रमुख राजनितिक सल्लाहकार अशिम शाह ले चलचित्र टोलीलाई सम्मान प्रदान गरेका हुन्। नेपाली चलचित्रले विश्वमञ्चमा नेपालको पहिचान, संस्कृति र सिर्जनशीलतालाई स्थापित गर्न पुर्‍याएको योगदानको कदरस्वरूप चलचित्र विकास बोर्डले उक्त सम्मान कार्यक्रम आयोजना गरेको हो।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री पौडेलले ‘इलिफेन्ट्स् इन द फग’ ले अन्तर्राष्ट्रिय मञ्चमा नेपाललाई चिनाउने महत्त्वपूर्ण काम गरेको भन्दै चलचित्र टोलीको योगदानप्रति उच्च सम्मान व्यक्त गरे। पछिल्ला वर्षहरूमा नेपाली चलचित्रले उल्लेखनीय फड्को मार्दै देशको प्रतिष्ठा उचो बनाएको उनको भनाइ थियो। “धेरैको सपना रहने अन्तर्राष्ट्रिय मञ्चमा यो चलचित्रले नेपाललाई चिनाएको छ। यस सफलताले समग्र नेपाली चलचित्र क्षेत्रलाई थप प्रेरणा दिएको छ, ” उनले भने।

सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. तिमिल्सिनाले चलचित्र टोलीले प्राप्त गरेको उपलब्धि केवल पुरस्कार नभई राष्ट्रका लागि अमूल्य गौरव भएको बताए। “यहाँहरूले प्राप्त गरेको सफलताको मूल्य दुई लाख ५० हजार वा दुई करोड ५० लाखले पनि मापन गर्न सकिँदैन। यो देशका लागि गौरवको विषय हो, ” उनले भने। चलचित्र क्षेत्रको विकासका लागि आवश्यक कानुनी तथा नीतिगत सुधारमा सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले गुणस्तरीय तथा देशको आवाज बोल्ने चलचित्र निर्माणलाई प्रोत्साहन गर्न चालु आर्थिक वर्षमा करिब साढे तीन करोड रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिए।

कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले ‘इलिफेन्ट्स् इन द फग’ को सफलताले नेपाली चलचित्र उद्योगलाई विश्वबजारमा आत्मविश्वासका साथ अघि बढ्ने प्रेरणा दिएको बताए। नेपाली चलचित्रले अन्तर्राष्ट्रिय पहिचान बनाउन थालेको उल्लेख गर्दै उनले वर्तमान सरकारले चलचित्र क्षेत्रलाई प्राथमिकताका साथ अघि बढाएकोमा धन्यवाद व्यक्त गरे। ५६ वर्षदेखि परिमार्जन हुन नसकेको चलचित्रसम्बन्धी कानुन निर्माण प्रक्रिया अघि बढिरहेको बताउँदै उनले चलचित्र क्षेत्रको दीर्घकालीन विकासका लागि सरकार सकारात्मक रहेको धारणा राखे। “अब नेपाल हिमालको देश मात्र होइन, ‘इलिफेन्ट्स् इन द फग’ को देश भनेर पनि चिनिने अवस्था बनेको छ, ” उनले भने।

सम्मान ग्रहण गर्दै चलचित्रका निर्देशक अविनाश विक्रम शाहले यो उपलब्धि व्यक्तिगत नभई सम्पूर्ण नेपाली चलचित्रकर्मीको साझा सफलता भएको बताए। “मेरो कामले नै मलाई यहाँसम्म ल्याएको महसुस भएको छ; देशभरिका मेरा सहकर्मीहरूलाई सम्झिरहेको छु। सिनेमा मनोरञ्जनको माध्यम मात्र होइन, हाम्रो संस्कृति, पहिचान र कथा संसारसामु पुर्‍याउने सशक्त माध्यम पनि हो, ” उनले भने।

नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मतसिंह ऐरले चलचित्रको अन्तर्राष्ट्रिय सफलताले नेपालको पर्यटन प्रवर्द्धनमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे। प्राकृतिक सौन्दर्य, संस्कृति र विविधताले भरिपूर्ण नेपाल चलचित्र छायांकनको उत्कृष्ट गन्तव्य भएको उल्लेख गर्दै उनले ट्राभल ट्रेड र चलचित्र निर्माताहरूलाई सिनेमालाई पर्यटनको दृष्टिकोणबाट समेत हेर्न आग्रह गरे। पर्यटन बोर्डबाट बरिष्ठ प्रबन्धक सुर्य थपलियाले सहकार्यको संयोजन गरेका थिए।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेत र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाको समेत उपस्थिति रहेको थियो।

कार्यक्रममा नेपाली चलचित्र क्षेत्रका विशिष्ट व्यक्तित्वहरू बसुन्धरा भुसाल, मदनकृष्ण श्रेष्ठ, शिव श्रेष्ठ, कृष्ण मल्ल, करिश्मा मानन्धर, निरुता सिंह, मोहन निरौला , जितु नेपाल, दयाहाङ राई, पशुपति राई, नकिम उद्दिन , मनोज पन्डित , रन्जित आचार्य, विकास सुवेदी र चलचित्र पत्रकार प्रकाश सुवेदी लगायतको उपस्थिति रहेको थियो। त्यसैगरी, चलचित्र क्षेत्रसँग सम्बन्धित १४ वटा संघसंस्थाका अध्यक्षसहित चर्चित कलाकार, निर्माता, निर्देशक तथा चलचित्रकर्मीहरूको उल्लेख्य सहभागिता रहेको थियो।

कान्स फिल्म फेस्टिभलको मञ्चमा प्रतिष्ठित जुरी अवार्ड  सहित उत्कृष्ट साउण्ड डिजाईन अवार्ड प्राप्त गरेको ‘इलिफेन्ट्स् इन द फग’ ले विश्वस्तरमा नेपाली कथावस्तु, संस्कृति र सिर्जनशीलताको क्षमता प्रस्तुत गरेको छ। बोर्डले प्रदान गरेको सम्मानले नेपाली चलचित्रकर्मीहरूलाई अन्तर्राष्ट्रियस्तरमा अझ उच्च आत्मविश्वासका साथ अघि बढ्न थप प्रेरणा दिने विश्वास व्यक्त गरिएको छ।

Categorized in सिनेमा