५०हजार मतान्तरले बालेनले हराए ओलीलाई
Janjati Khabar – Janjati Khabar | २०८२ फाल्गुण २३, शनिबार
काठमाडौँ - प्रतिनिधि सभा निर्वाचन अन्तर्गत पूर्वप्रधानमन्त्री केपी शर्मा ओली झापा–५ मा विशाल मतान्तरले पराजित भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका बालेन्द्र (बालेन) शाहसँग ओली पराजित भएका हुन् । बालेन ६८ हजार ३४८ मतसहित निर्वाचित हुँदा उनका मुख्य प्रतिस्पर्धी ओली १८ हजार ७३४ मतमा सीमित भए । बालेनले ओलीलाई ४९ हजार ६१४ मतले पराजित गरेका हुन् ।
श्रम संस्कृति पार्टीका समिर तामाङ तेस्रो स्थानमा रहे भने नेपाली कांग्रेसकी मंधरा चिमरिया चौथो स्थानमा रहिन् । समिरले ९ हजार २३३ मत प्राप्त गर्दा मंधराले १ हजार ८२१ मत गरिन् ।
झापा–५ बाट ओली पटक–पटक निर्वाचित हुँदै आएका थिए भने बालेन पहिलो पटक संसदीय निर्वाचनमा उम्मेदवार बनेका हुन् । बालेनलाई रास्वपाले भावी प्रधानमन्त्रीका रूपमा अघि सारेर निर्वाचन प्रचारप्रसार गरेको थियो । यसअघि काठमाडौँ महानगरपालिकाको मेयर रहेका बालेन प्रतिनिधि सभा निर्वाचन घोषणा भएपछि राजीनामा दिएर संसदीय यात्राको तयारीमा जुटेका थिए ।
हर्क साम्पाङको अग्रता कायमै
विराटनगर । सुनसरी क्षेत्र नम्बर १ बाट श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले आफ्नो मतान्तर फराकिलो बनाउँदै लगेका छन् ।
साम्पाङले पछिल्लो मतपरिणाम अनुसार १२ हजार ६८३ मत ल्याएका छन् । उनलाई रास्वपाकी गोमा तामाङले पछ्याइरहेकी छिन् । उनले ८ हजार ४९८ मत ल्याएकी छिन् ।
सो क्षेत्रबाट तेस्रो स्थानमा रहेको नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार सूर्यबहादुर भट्टराईले २ हजार ८०, एमालेका टिका राम लिम्बूले १ हजार ८४२ र कांग्रेसका सुजेन्द्र तामाङले १ हजार ३८९ मत ल्याएका छन् ।
Categorized in राजनीति

