STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

२५६७औं बुद्धजयन्ती भव्य रूपमा मनाइँदै

Janjati Khabar – Janjati Khabar | २०८० बैशाख २२, शुक्रबार

२५६७औं बुद्धजयन्ती तथा लुम्बिनी दिवस–२०८० को सम्पूर्ण तयारी पूरा भएको छ । बुद्धजयन्तीको पूर्वसन्ध्यामा लुम्बिनी सिंगारिएको छ। बुद्धजयन्तीको अघिल्लो दिन मायादेवी मन्दिर परिसरमा दीप प्रज्वलन र साँझ ७ देखि १२ बजेसम्म महापरित्राण भइरहेको छ।

भोलि वैशाख २२ गते शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को प्रमुख आतिथ्यतामा अन्तर्राष्ट्रिय सम्मेलन तथा ध्यान केन्द्रमा विशेष २५६७ औं बुद्धजयन्ती एवं लुम्बिनी दिवस विशेष समारोह हुने लुम्बिनी विकास कोषले जानकारी गराएको छ । 

लुम्बिनी विकास कोषका कोषाध्यक्ष तथा प्रचारप्रसार उपसमितिका संयोजक ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले विशेष समारोहअघि शुक्रबार बिहान ६ बजेदेखि ७ सम्म धार्मिक पूजा हुने जानकारी दिए । उनले बिहान ७ देखि ९ बजेसम्म ५ नम्बर गेटदेखि मायादेवी मन्दिर हुँदै विभिन्न झाँकीसहित सम्मेलन केन्द्रसम्म शान्ति र्‍याली निकालिने बताए ।

प्रधानमन्त्रीको सम्बोधन पश्चात साँस्कृतिक संस्थानका कलाकारहरुले पटाचारा नामक नाटक प्रदर्शन गर्ने उनले बताए ।

बुद्ध पूर्णिमाको अवसरमा अबदेखि लुम्बिनी परिसरभित्र चल्ने कुनै पनि सवारीसाधनहरुले हर्न बजाउन नपाउने नियम रहेको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बताए । उनले यसले परिसरभित्र हर्न निषेधित गरी शान्तिपूर्ण वातावरण कायम गर्न ठूलो मद्दत पुग्ने अपेक्षा गरिएको बताए ।

बुद्धजयन्तीको भोलिपल्ट बर्सेनि हुँदै आएको मायादेवीले बोधिसत्व सिद्धार्थलाई लिएर तिलौराकोट दरबार फर्किदै गर्दाको प्रतिकको रुपमा मायादेवी शोभायात्रा वैशाख २३ गते हुने कोषले जनाएको छ । कोषकाअनुसार कार्यक्रममा कृषि तथा पशुपंक्षी विकास मन्त्री बेदुराम भुसालको प्रमुख आतिथ्यता रहने र यो यात्राको रुट लुम्बिनीबाट कपिलवस्तु तिलौराकोटसम्म मायादेवी मार्ग हुँदै कायम गरिएको छ । वैशाख २३ गते बुद्ध जयन्ती विशेष समारोह तिलौराकोटमा आयोजना हुने कोषले जनाएको छ ।

भगवान शाक्यमुनी बुद्ध ईपू ६२३ मा लुम्बिनीको सुन्दर र पवित्र बगैचामा माता मायादेवीको कोखबाट वैशाख शुक्ल पूर्णिमाका दिन भएको थियो । बुद्धको जन्म, बोधिज्ञान प्राप्ती र महापरिनिर्वारणको नियोग परेको दिन अर्थात वैशाख पूर्णिमाको दिनलाई लुम्बिनी विकास कोषले विशेष महत्वका साथ बुद्धजयन्ती एवं लुम्बिनी दिवसका रुपमा मनाउँदै आएको छ ।

Categorized in राष्ट्रिय