STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

हिमपातको जोखिमका कारण अन्नपूर्ण बेसक्याम्प र मनाङ पदयात्रामा रोक

Janjati Khabar – Janjati Khabar | २०८२ कार्तिक १२, बुधबार

काठमाडौं - जाडोयाम सुरु भएसँगै हिमपातको जोखिम बढेकाले म्याग्दी जिल्ला प्रशासन कार्यालयले पर्यटकीय क्षेत्रहरूमा सतर्कता अपनाउन सूचना जारी गरेको छ। 

जल तथा मौसम विज्ञान विभागको बुलेटिनअनुसार देशका विभिन्न भू-भागमा कात्तिक १० देखि १२ गतेसम्म सामान्यदेखि हल्का वर्षा र हिमपात हुने सम्भावना रहेको छ।

म्याग्दी जिल्लाभर आजदेखि पानी परिरहेको र अन्नपूर्ण बेसक्याम्पमा हल्का हिमपात सुरु भइसकेको जिल्ला प्रशासन कार्यालयले जानकारी  दिएको छ।

जिल्लाका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुने सम्भावित क्षेत्र भएकाले प्रशासनले स्थानीय बासिन्दा, पर्यटक, पर्यटन व्यवसायी र पदयात्रीहरूलाई आफू रहेको र यात्रा गर्ने क्षेत्रको मौसमी अवस्था र बसोबासको व्यवस्था ख्याल गरेर सुरक्षित रहन अनुरोध गरेको छ।

जिल्ला प्रशासन कार्यालयले आज बेलुकादेखि कात्तिक १४ गते बेलुकासम्म अन्नपूर्ण बेसक्याम्प जान पूर्ण रूपमा रोक लगाइएको जानकारी दिएको छ।

पदयात्रा तथा हिमाल आरोहण नगर्न मनाङ प्रशासनको आग्रह

मनाङ जिल्लामा निरन्तर वर्षा र माथिल्लो भेगमा भारी हिमपात भएपछि जिल्ला प्रशासन कार्यालय मनाङले पदयात्रा तथा हिमाल आरोहण नगर्न आग्रह गरेको छ।

जिल्ला प्रशासन कार्यालय मनाङका प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले मंगलबार एक सूचना जारी गर्दै पदयात्रा र हिमाल आरोहण कार्य तत्कालका लागि स्थगित गर्न आग्रह गरेका हुन्।

उनका अनुसार, जल तथा मौसम विज्ञान विभागले कार्तिक १० गते जारी गरेको विशेष मौसमी बुलेटिनअनुसार गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा निरन्तर वर्षा र हिमपातको पूर्वानुमान गरिएको छ। त्यसअनुसार मनाङ जिल्लाको तल्लो भेगमा वर्षा र माथिल्लो भेगमा निरन्तर भारी हिमपात भईरहेकाले यात्रु तथा आरोहीको सुरक्षालाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको हो।

मुक्तिनाथ क्षेत्रमा भारी हिमपात

मुस्ताङ जिल्लाको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अन्तर्गत मुक्तिनाथ क्षेत्र लगायत उपल्लो मुस्ताङका अधिकांश स्थानमा भारी हिमपात भएको छ।

जिल्लाको घरपझोङ गाउँपालिका र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकासहितका क्षेत्रमा भएको हिमपातका कारण मुस्ताङ घुम्न आएका पर्यटक र मुक्तिनाथ दर्शन गर्न पुगेका दर्शनार्थीहरूलाई असहज भएको छ। 

गएको १२ घण्टामा विशेष गरी गण्डकी प्रदेश धेरै स्थानहरू तथा  लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरू साथै कोशी प्रदेश, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूका पहाडी र तराई भू-भागमा हल्का देखि मध्यम वर्षा  र हिमाली क्षेत्रमा हल्का देखि मध्यम हिमपात भइरहेको छ । 

गण्डकी प्रदेशको मनाङ र मुस्ताङ आसपासको हिमाली क्षेत्रमा भने मध्यमदेखि भारी हिमपात पनि भइरहेको छ । 

Categorized in स्वास्थ्य-मौसम