STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

हावाहुरीले मेचीनगरमा क्षति

Janjati Khabar | २०७९ जेठ ७, शनिबार

मेचीनगर नगरपालिका–७ मा गए राति हावाहुरीसहितको वर्षा आउँदा कुखुराको खोर ढलेर किच्दा एक मजदुर घाइते भएका छन् । कुखुरा फार्मका एक हजार ८०० ब्रोइलर चल्लासमेत मरेका छन् ।

हुण्डरीले बिजुलीका पोलमाथि रुख ढालेका कारण मेचीनगर क्षेत्रको विद्युत् आपूर्ति अवरुद्ध भएको छ । पाक्न लागेको मकैबाली ढलेका छन् ।

मेचीनगर वडा नं ७ को रौनिका कृषि तथा पशुपालन फार्मका कर्मचारी साजन लिम्बू कुखुराको खोर ढलेर घाइते भएका हुन् । फार्ममा एक हजार ३०० वटा ब्रोइलर कुखुराका चल्ला रातिको हुरीसहितको वर्षाले मरेको फार्मका सञ्चालक राजु थापामगरले बताउनुभयो ।

फार्मका तीनवटा खोर हुरीले पूरै भत्किएका छन् । खोरमा भण्डारण गरिएको १६ बोरा कुखुराको चारो पानीले भिजेर नष्ट भएको छ । टिनको छाना र बासको घेराबेरा रहेको खोर ढलेपछि किचिएर कुखुराका चल्ला मरेका हुन् । उहाँले खोर, चल्ला र चारो गरी रु १२ लाखभन्दा बढीको क्षति भएको बताउनुभयो ।

सोही वडास्थित हरि कटुवालको कुखुरा फार्ममा खोर ढलेर ५०० चल्ला मरेका छन् भने पक्की पिलर भएको खोरको टिनको छाना उडेर करिव ४०० मिटर टाढासम्म पु¥याएको छ । फार्मका सञ्चालक कटुवालले फार्ममा सात बोरा दानासहित पाँच लाखको क्षति भएको बताउनुभयो ।

सोही वडाको कमला कृषि फार्मको बाख्राको पक्की खोरसमेत हुरीले उडाएर क्षति पु¥याएको छ भने बालाजी नर्सरीका दुई टनेल भत्काएको छ । फार्ममा रु दुई लाखको क्षति भएको छ । स्थानीय पत्रकार देवेन्द्र खरेलका अनुसार उक्त वडामा सडकका विद्युतीय खम्बा ढलेका कारण पुरानो भन्सारको भित्री सडक अवरुद्ध भएको छ । रातिदेखि विद्युत सेवासमेत अवरुद्ध छ । उहाँले सडकमा लतारिएका विद्युतका तार र खम्बा छिटो उठाइदिन विद्युत् प्राधिकरणका कर्मचारीहरूलाई फोनमार्फत आग्रह गरिए तापनि सुनुवाइ नभएको गुनासो गर्नुभयो ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी वसन्त पाठकले पूर्वपश्चिम राजमार्गमा हावाहुरीले ढालेका थुप्रै रुखहरू हटाएर आवागमन खुलाइएको बताउनुभयो ।

Categorized in अपराध-दुर्घटना