स्वयंसेवकका लागि स्काउट परिचालन
Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण २८, मंगलबार
पवित्र तीर्थ गोसाइँकुण्ड मेलामा आउने भक्तजनलाई सहयोग पु¥याउन सोमबारदेखि रसुवाका स्काउट परिचालन भएका छन् । नेपाल स्काउट रसुवाका जिल्ला आयुक्त श्याम पुडासैनीका अनुसार स्वयंसेवकको रूपमा खटिएका स्काउट टोलीले यही साउन ३० गते जनैपूर्णिमाको दिन गोसाइँकुण्डमा स्नान गर्दा लाग्ने यात्रुको भीड व्यवस्थापनमा सहयोगको विशेष भूमिका निर्वाह गर्नेछन् ।
‘‘बिरामी परेकालाई उद्वारमा मद्दत, यात्रुका हराएका सामान खोजी गरी फिर्ता गराउने र धार्मिक मार्गमा उत्पन्न फोहर सङ्कलन तथा सफाइमा सहयोग गर्ने उद्देश्यले संस्थागत रूपमा स्काउट परिचालन गरिएको हो’’, उहाँले भन्नुभयो ।
परिचालन गरिएका स्काउटहरूमा १३ महिला र आठ पुरूष रहेको गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमले बताउनुभयो ।
मेला यात्रुको सहयोग एवं सुरक्षाको लागि उद्वार टोलीसमेत नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षा अङ्गका ६० सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिँदै रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले यात्रुको सुरक्षा व्यवस्था चुस्त दुरूस्त पारिएको जानकारी दिनुभयो ।
नागपञ्चमीदेखि पुत्रदा एकादशीसम्म पाँच हजार भक्तजनले गोसाइँकुण्डमा स्नान गरिसकेको र ३० गते जनैपूर्णिमा पर्वका लागि स्नान गर्न भक्तजन आउने क्रम जारी रहेको समेत प्रमुख जिल्ला अधिकारी भण्डारीले बताउनुभयो ।
काठमाडौँदेखि धुञ्चेसम्म यात्रुवाहक सवारीसाधन सहजरूपले गुड्ने वातावरणका लागि ट्राफिक प्रहरीले राजमार्गको विशेष अनुगमन गरिरहेको र मोटरको अन्तिम विन्दु धुञ्चेका विभिन्न खाली स्थानमा मोटर पार्किङको व्यवस्था मिलाइसकेको जिल्ला प्रहरी प्रमुख भाग्येन्द्रपुरूष ढकालले जानकारी दिनुभयो ।
प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गएको सुरक्षा प्रमुखसमेतको जिल्लास्तरीय उच्च टोलीले धार्मिकस्थल अवलोकन गरी यात्रुहरूलाई निर्धारित दरभाउमा खाना खुवाई रातको बास सहज तरिकाले दिन धार्मिक मार्गका सबै व्यवसायीलाई आग्रह गरिएको प्रहरी प्रमुख ढकालले बताउनुभयो ।
Categorized in राष्ट्रिय


