STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

स्थानीय निकाय र सुरक्षा प्रशासन कमजोर रहेको कीर्तिपुरबासीको आरोप

Janjati Khabar – जनजाति खबर | २०७७ बैशाख १, सोमबार

ललेन्द्र शाक्य

कीर्तिपुर– कोहलपुरबाट कीर्तिपुर बस्न आएका गर्भवती महिला र उनको श्रीमान्को ‘पावर’ र अहंको कारण कीर्तिपुरमा तनाव उत्पन्न भएपछि स्थानीय निकाय र प्रशासन कमजोर रहेको स्थानीयले आरोप लगाएका छन् । कोरोना भाइरस संक्रमण आशंकित ती दम्पत्ति ८ दिनअघि कोहलपुरबाट कीर्तिपुर आइपुगेका थिए । यता आएर क्वारेन्टाइनमा नबसेकाले स्थानीयले त्यसको विरोध गरेपछि यसले तनावको स्थिति ल्याएको थियो । कीर्तिपुरका स्थानीयले यस घटनापछि स्थानीय निकाय र स्थानीय सुरक्षा प्रशासन कमजोर रहेको आरोप लगाइरहेका छन् । लकडाउनको समय कोहलपुरबाट एम्बुलेन्समा कीर्तिपुर आइपुगेका ती दम्पत्ति स्थानीय गणेशमान महर्जनको घरमा डेरा गरी बस्ने बहिनीकोमा बस्न आएका थिए । सुदूरपश्चिमबाट आएकाले कोरोनाको आशंकामा स्थानीयले तिनीहरुलाई क्वारेन्टाइनमा बस्न तथा स्वास्थ्य परीक्षण गर्न भनेका थिए । तर शक्तिको आडमा विना स्वास्थ्यपरीक्षण फर्किएका, बार्दलीबाट थुक, खकार फाल्ने गरेका र बाहिर निस्केर पानी भर्न आएपछि पछि चैत ३० गते आइतबार बेलुका स्थानीयसँग वादविवाद परेको थियो ।स्थानीयलाई डर, धम्की देखाएर गालीगलौज गरेपछि वादविवादले चर्को रुप लिएको थियो । वादविवाद बढ्दै गएपछि प्रहरी नै आएर स्थितिलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीसँग पनि भनाभन परेको थियो । गर्भवती महिलाका श्रीमान् कोहलपुरका एक उच्च पदमा रहेको, अहिले बसिरहेको घर–कोठको तस्बिर लिएर पत्रकारहरु, सिडिओ, डिएसपीलाई देखाइदिन्छु भनी घरधनी गणेशमान महर्जनलाई ‘टर्चर’ दिइरहेको आरोप पनि स्थानीयले लगाएका छन् । कीर्तिपुर नगरपालिकाले बनाएको क्वारेन्टाइनका चिकित्सकहरु आएका, एकजनाको स्वास्थ्य परीक्षण गरेको जसको रिपोर्ट नेगेटिभ आएको जनाइएको छ । तर स्थानीयले एकजनाको मात्र नभएर सम्पूर्ण परिवारकै स्वास्थ्य परीक्षण हुनुपर्ने माग पनि राख्दै आएको छ । आइतबार साँझ क्वारेन्टाइनमा बस्न स्थानीयले अनुरोध गरेपछि बस्न नजाने धम्की ती दम्पत्तिले स्थानीयलाई दिएको थियो । स्थानीयले आइतबार नै क्वारेन्टाइनमा जानुपर्ने माग राखेका थिए । विवाद बढेपछि कीर्तिपुर १० वडाका वडाध्यक्ष अमन महर्जनले सोमबार बिहान मात्र क्वारेन्टाइनमा लैजाने बताएपछि उनीविरुद्ध पनि स्थानीयले नाराबाजी गरेका थिए । स्थानीयको अडानपछि आइतबार अबेर साँझ ती दम्पत्तिलाई क्वारेन्टाइन लगिएको थियो । यस घटनालाई लिएर स्थानीय निकाय र सुरक्षा निकाय सम्वेदनशील नभएको गुनासो स्थानीयको छ । बाहिरबाट आएकालाई क्वारेन्टाइनमा राख्नुपर्ने दायित्व बोकेका स्थानीय निकाय उल्टै प्रहरी प्रशासन लगाएर स्थानीय आवाज दबाउन खोजेको उनीहरु बताउँछन् । उच्च पदमा आसीन व्यक्ति हुने वित्तिकै उसको ‘पावर’ अगाडि स्थानीय निकाय झुकेको र स्थानीय प्रहरी प्रशासनलाई स्थानीयविरुद्ध प्रयोग गरेको आरोप उनीहरुको छ । क्वारेन्टाइनमा राखिएका ती दम्पत्तिको गम्भीर स्वास्थ्य परीक्षण हुनुपर्ने, त्यसो नभए कीर्तिपुर नगर नै खतरामा पर्ने स्थानीय बताउँछन् । यस्तो अवस्थामा सम्बन्धित निकायले गम्भीर कदम चाल्नुपर्ने आजको आवश्यकता रहेको स्थानीय बताउँछन् ।
Categorized in उपत्यका