स्थानीय तह उपनिर्वाचनको नतिजा दुई दिनभित्र
Janjati Khabar – Janjati Khabar | २०८१ मङ्सिर १४, शुक्रबार
काठमाडौं - पर्सि आइतबार हुने स्थानीय तह उपनिर्वाचनको नतिजा मतदान सकिएको दुई दिनभित्र सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले दुई दिनभित्र सबै स्थानीय तहको नतिजा सार्वजनिक गर्नेगरी आयोगले आफ्नो काम गरेको बताए।
‘मतदान सम्पन्न भएको भोलिपल्ट नै अधिकांश स्थानको नतिजा आइसक्छ,’ प्रमुख थपलियाले न्यूजगृहसँग भने, ‘कुनै अवरोध भएन र स्मुथली काम गर्न दिने हो भने मतदान भएको दुई दिनभित्र नतिजा आइसक्छ।’
कानुन अनुसार मतदान भइसकेर मतपेटिका जम्मा भइसकेपछि राजनीतिक दलको सहमति जुटाएर मात्र मतगणना सुरु गर्नुपर्ने अवस्था रहेको छ। पालिका अध्यक्ष, उपाध्यक्ष, नगरप्रमुख, उपप्रमुख र वडाध्यक्षसहित ४१ पदका लागि मङ्सिर १६ गते आइतबार मतदान हुँदैछ।
यसैबीच, स्थानीय तह उपनिर्वाचनको मौन अवधि आजदेखि सुरु भएको छ। निर्वाचन आयोगले निर्वाचन प्रचारप्रसार निषेध अवधि सुरु भएको उल्लेख गर्दै उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्न सबैलाई आग्रह गरेको छ।
कीर्तिपुरका दुई उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
निर्वाचन आयोगले कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिएका दुई जनालाई स्पष्टीकरण सोधेको छ।
आयोगले माओवादी केन्द्रका शिवशरण महर्जन र स्वतन्त्र उम्मेदवार राजमान महर्जनलाई स्पष्टीकरण सोधेको हो।
निर्वाचन आयोगले प्रचार प्रसारको क्रममा अनुगमन गर्दा आचार संहिता विपरीत कार्य गरेकाले स्पष्टीकरण सोधेको जनाएको छ। ‘अनुगमन टोली आउँदा आचारसंहिता विपरीत गतिविधि देखिएको हुँदा स्पष्टीकरण सोधिएको हो,’ आयोग स्रोतले भन्यो।
कीर्तिपुरमा दल र स्वतन्त्र गरी २० जनाले प्रमुख पदमा उम्मेदवारी दिएका छन्। एकीकृत समाजवादीका भानु रिजालले माओवादी केन्द्र शिवशरण र स्वतन्त्र उम्मेदवार नरेश श्रेष्ठले अर्का स्वतन्त्र उम्मेदवार राजमानलाई सघाउने निर्णय लिएका छन्।
आइतबार कीर्तिपुरको मेयरका लागि मतदान हुँदैछ ।
Categorized in राजनीति