STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

सोती घटनामा संलग्न २३ जनालाई जन्मकैदको सजाय

Janjati Khabar – Janjati Khabar | २०८० मङ्सिर १९, मंगलबार

काठमाडौं - चौरजहारी नगरपालिका–८ सोती गाउँमा अन्तरजातीय प्रेमसम्बन्धको विषयलाई लिएर जाजरकोटका नवराज विकसहित ६ जनाको हत्यामा संलग्न २३ जनालाई जिल्ला अदालतले जन्मकैद सजाय सुनाएको छ ।

साढे तीन वर्षअघि भएको घटनासँग सम्बन्धित कर्तव्य ज्यान र जातीय छुवाछूतको मुद्दामाथि रुकुम पश्चिम जिल्ला अदालतका न्यायाधीश खड्गबहादुर केसीको इजलासले जन्मकैदको सजाय सुनाएको हो ।

आइतबारदेखि उक्त मुद्दामा अन्तिम सुनुवाइ सुरु भएकोमा मंगलबार अन्तिम आदेश आएको हो । २३ जनालाई जातीय छुवाछुतको कसुरमा थप दुई वर्ष कैद र ५० हजार जरिवानाको पनि फैसला भएको छ ।

उक्त घटनामा संलग्न रहेका २३ पूर्वपक्षका लागि कारागारमा थिए भने ३ जना थुना बाहिर थिए । थुना बाहिर रहेका ३ जनालाई जातीय छुवाछुतको कसूरमा २ वर्ष कैदको सजाय सुनाइएको छ । दोषीबाट जनही ४० हजार रुपैयाँ क्षतिपुर्ती भराउने र उक्त रकम मृतकका परिवारलाई दामासाहीले दिने पनि फैसलामा छ । घटनामा संलग्नताको आरोप लागेका ८ जनाले भने सफाइ पाएका छन् ।

२०७७ जेठ १० मा जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षीय नवराज विक आफ्ना साथीहरू लिएर मल्ल थरकी प्रेमिकालाई भगाएर बिहे गर्न सोतीगाउँ पुगेका थिए । त्यहीबेला उनीहरूमाथि सोती गाउँका स्थानीयले योजनाबद्ध आक्रमण गर्दा नवराजसहित ६ जनाको ज्यान गएको थियो भने १२ जना घाइते भएका थिए । उनीहरूको शव दुई सातासम्मको खोजीपछि भेरी नदी किनारबाट संकलन गरिएको थियो । घटनामा नवराजसहित उनका साथीहरू सन्दीप विश्वकर्मा, टीकाराम सुनार, गणेश बुढा, लोकेन्द्र सुनार र गोविन्द शाहीको ज्यान गएको थियो ।

नवराजका बुबा मुनलाल नेपालीको जाहेरीका आधारमा उक्त घटनामा चौरजहारी–८ का तत्कालीन वडाध्यक्ष डम्बरबहादुर मल्लसहित ३४ जनाविरुद्ध मुद्दा चलेको थियो । उनीहरूमध्ये १ जना (किशोरीकी आमा) धरौटीमा र अन्य १० जना सामान्य तारिखमा छुटेका थिए भने २३ जना पुर्पक्षका लागि कारागार चलान भएका थिए ।

६ जनाको हत्या गरी भेरी नदीमा फालेको अभियोगमा जिल्ला अदालतमा २०७७ जेठ ३२ मा मुद्दा दायर गरिएको थियो । ३३ जनालाई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जातीय भेदभाव र छुवाछूत कसुरको अभियोग छ भने एक जनालाई मतियारको अभियोग लागेको थियो ।

Categorized in अपराध-दुर्घटना