सुपरभाइजर कविर महर्जनको खोजी एवं उद्धार गर्न कीर्तिपुर नपा मेयर डंगोलको प्रतिबद्धता
Janjati Khabar – ललेन्द्र शाक्य | २०८३ भाद्र १७, बुधबार
–ललेन्द्र शाक्य
कीर्तिपुर । भोटेकोशी–रसुवा बाढीका कारण त्रिशुलीस्थित अपर ए थ्री हाइड्रो पावरहाउसमा थुनिएका कीर्तिपुर नगरपालिका ५ वडा पांगा निवासी मेकानिकल सुपरभाइजर कबीर महर्जनको खोजी तथा उद्धार सम्बन्धमा कीर्तिपुर नगरपालिकाकाका नगर प्रमुख कृष्णमान डंगोललाई ध्यानाकर्षण पत्र हस्तान्तरण गरेको । उक्त ध्यानाकर्षण पत्र जनसेवा भूतपूर्व विद्यार्थी संघ (जेसा) ले हस्तान्तरण गरेका हुन् ।
जनसेवा माध्यमिक विद्यालय भूतपूर्व विद्यार्थी संघ (जेसा)का अध्यक्ष कृष्णभोला महर्जनद्वारा हस्ताक्षर गरिएको उक्त ध्यानाकर्षण पत्र कीर्तिपुर नगरपालिका वडा ५ कार्यालय जाखा पांगा तथा उपप्रमुख सचिवालय कीर्तिपुर नगरपालिका कार्यालयलाई बोधार्थ गरिएको छ ।
ध्यानाकर्षण पत्रमा मिति २०८३ भाद्र १० गते बुधबार भोटेकोशी तथा त्रिशूली नदी क्षेत्रमा आएको भीषण बाढी र पहिरोका कारण माथिल्यो त्रिशूली थ्री ए जलविद्युत आयोजनामा कार्यकरण प्राविधिक तथा कर्मचारीहरु बेपत्ता तथा सम्पर्कविहीन भएको जानकारी दिँदै उल्लेख गरिएको छ, “सोही आयोजनामा सुपरभाइजर पदमा कार्यरत कीर्तिपुर नगरपालिका वडा ५ का स्थायी निवासी कबीर महर्जन घटना घटेको दिनदेखि हालसम्म निरन्तर सम्पर्कविहीन हुनुहुन्छ । प्राकृतिक विपत्तिका कारण टनेल तथा आयोजना स्थलमा फसेका कर्मचारी तथा प्राविधिकहरुको वस्तुस्थिति सार्वजनिक नहुँदा र खोजतलासको कार्यले तीव्रता नपाउँदा परिवारजन तथा स्थानीय समुदाय अत्यन्त चिन्तित एवं त्रसित बनेका छन् ।”
कीर्तिपुर नगरपालिका कार्यालय एवं नगर प्रमुख कृष्णमान डंगोललाई ध्यानाकर्षण गराउँदै कीर्तिपुर नगरपालिका ५ वडास्थित जनसेवा माध्यमिक विद्यालयका भूतपूर्व विद्यार्थीहरुको तर्फबाट ३ बुँदे लिखित मागप्रति स्थानीय सरकार एवं सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गरिएको छ उक्त ध्यानाकर्षण पत्रमा ।
उक्त ध्यानाकर्षण पत्रमा निम्न बमोजिमका ३ बुँदे माग उल्लेख गरिएको छ, “१. तीव्र खोज तथा उद्धार– बाढी र पहिरोले बन्द भएका टनेलका मार्ग तथा प्रभावित क्षेत्रहरुमा अत्याधुनिक प्रविधि र थप सुरक्षा निकाय परिचालन गरी कबीर महर्जन लगायत बेपत्ता कर्मचारीहरुको खोजतलास तथा उद्धार कार्यलाई तत्काल द्रूत गतिमा अघि बढाइयोस् । २. सूचना सम्प्रेषण– उद्धारको वर्तमान अवस्था, प्रगति र वस्तुस्थितिका बारेमा पीडित परिवारलाई निरन्तर र आधिकारिक जानकारी उपलब्ध गराइयोस् । ३. सहयोग– बेपत्ता व्यक्तिहरुका परिवारलाई तत्काल आवश्यक मनोसामाजिक सहयोग तथा समन्वयका लागि स्थानीय प्रशासनबाट तदारुकता देखाइयोस् ।”
ध्यानाकर्षण पत्रमा उल्लेखित न्यायोचित मागहरुलाई गम्भीरतापूर्वक लिई यथाशीघ्र ठोस कदम चालिनेछ भन्नेमा कीर्तिपुर नगरबासी विश्वस्त रहेको पनि उल्लेख गरिएको छ ।
ध्यानाकर्षण पत्र हस्तान्तरण पछि कीर्तिपुर नगरपालिकाका नगर प्रमुख कृष्णमान डंगोलले सुपरभाइजर कबिर महर्जन लगायत कीर्तिपुर नगर क्षेत्रबाट उक्त भोटेकोशी–रसुवा बाढीका कारण बेपत्ता भएका नागरिकहरुको खोजी एवं उद्धार कार्यमा आफूले सक्दो पाईला चाल्ने प्रतिबद्धता जाहेर गर्नुभएको थियो ।
ध्यानाकर्षण पत्र हस्तान्तरण कार्यक्रममा कबीर महर्जनकी श्रीमती हिराशोभा महर्जन एवं श्रद्धालक्ष्मी महर्जनका साथै थुप्रै कीर्तिपुर नगरबासीहरुको उपस्थिति रहेको थियो ।



