सिल्भरलाईन अस्पतालले कलाकारलाई सहुलियत दरमा उपचार गर्ने
Janjati Khabar – विजयरत्न असंबरे | २०८१ आषाढ १९, बुधबार
नेपाल चलचित्र कलाकार संघ र बालाजुस्थित सिल्भरलाईन हस्पिटल बीच स्वास्थ्य सहुलियतमा भारी छुट दिने कुराको घोषणा गरेको छ । सोही घोषणा अनुरुप कलाकार संघ र अस्पताल बीच बुधबार सम्झौता भएको छ । कलाकार संघका अध्यक्ष मोहन निरौला र सिल्भरलाईन हस्पिटलका प्रबन्धक डाक्टर अभिषेक राज सिंह बीच सम्झौता पत्रमा हस्तक्षर भएको हो । बुधवार हस्पिटलमा एक औपचारिक कार्यक्रमको आयोजना गरी दुबै पक्ष बीच हस्ताक्षर गरिएको हो ।
सम्झौता पछी कलाकार संघका सदस्यहरुले आफ्नो परिचय पत्रको आधारमा छुट पाउने घोषणा गरेको छ । सबै खालको सेवा प्रदान गर्दै आएको सो अस्पताल गैर नाफामुलक हस्पिटल हो । झण्डै १४ रोपनी क्षेत्रफलमा फैलिएको हस्पिटलमा आईसियु, आईआईसियु, सिटीस्क्यान, अर्थोपेडिक, न्युरोलोजी, गाइनोलोजी, ग्यास्ट्रोलोजी, पेडिएट्रिक, कार्डिओलोजी, नेफ्रोलोजी, न्युरोसर्जरी, न्युरोफिजिएट्री, फिजिओथेरापी, इएनटी, इन्टर्नल मेडिसिन, अनेस्थेसिआ, जनरल ल्यापरोस्किपिक, रिडियोलोजीलगायत विभिन्न सुविधाहरु न्युनतम खर्चमा गुणस्तर सेवा प्रदान गर्दै आएको छ ।
कलाकार संघका सदस्यहरुको लागि सिल्भरलाईनले निःशुल्क एम्बुलेन्स सेवा पनि प्रदान गरिने भएको छ । उच्चस्तरीय प्रविधि र नयाँ व्यवस्थापन सहित हस्पिटल अहिले संचालनमा छ । सो सम्झौता कार्यक्रमको सम्पूर्ण व्यवस्थापन कलाकार तथा निर्माता रविन्द्र सिंह बानियाँ र कार्यक्रम संयोजक तथा कलाकार संघका उद्वव प्रसाद भट्टराईले गरेका हुन । कार्यक्रममा बरिष्ठ कलाकारहरु बसुन्धारा भुषाल, भुवन चन्द, चैत्यदेवी सिंह, लय संग्रौला, पुरन जोशी सहित कलाकार संघका निवर्तमान अध्यक्ष रविन्द्र खडका का साथै संघको सम्पूर्ण पदाधिकारी, चलचित्रकर्मी र हस्पिटल परिवारको उपस्थिती रहेको थियो ।
कलाकार संघका अध्यक्ष मोहन निरौलाले कलाकार संघले धेरै समय विभिन्न हस्पिटलमा छुट पाए पनि औपचारिक रुपमा पहिलो पटक सम्झौता सिल्भरलाईन हस्पिटलसँग भएको बताए । उनले धेरै सुविधा र छुट सिल्भरलाईनबाट पाएको बताए । यस्तै हस्पिटलका निर्देशक डाक्टर अनिमेश जोशीले कलाकार संघका पदाधिकारी र सदस्यहरुलाई सम्झौतामा उल्लेख भएको सेवा बाहेक अन्य विभिन्न व्यवहारिक पक्ष र सेवामा समेत भारी छुट हुने बताए । उनले हस्पिटलमा सबै डाक्टर युवा उमेरका रहेकाले सेवाको लागि गुणस्तरमा पूर्ण प्रतिबद्ध रहेको बताए ।
कार्यक्रम संचालन कलाकार गोपाल ढकाल (छन्दे)ले गरेका थिए ।
Categorized in सिनेमा