STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

सिङमा हरियो रङ लगाइएको खसीबोका मात्र खरिद गर्न काठमाडौं महानगरको आग्रह

Janjati Khabar – Janjati Khabar | २०८० आश्विन १९, शुक्रबार

काठमाडौं- काठमाडौं महानगरपालिकाले आगामी मंगलबार देखि दसैँ लक्षित खसीबोका लगायत चौपायाको स्वास्थ्य परीक्षण गर्ने भएको छ । महानगरले विगतका वर्षमा भन्दा यस वर्ष केही दिनअघिबाट चौपायाको स्वास्थ्य परीक्षण गर्न लागेका हो । अघिल्ला वर्षमा घटस्थापनादेखि नवमीसम्म मात्र बजार अनुगमन गर्दै आएको थियो ।

महानगरले कलङ्की, टुकुचा, बालाजु, कोटेश्वर र खाद्य संस्थानको बिक्री केन्द्रमा चौपायाको स्वास्थ्य परीक्षण गर्ने तयारी गरेको छ । अनुगमन समितिको संयोजकसमेत रहेकी सुनिता डङ्गोलको संयोजकत्वमा महानगर कृषि तथा पशुपन्छी विभाग, पशु चिकित्सक, महानगर प्रहरी र वडाको समन्वयमा खसीबोका लगायत चौपायाको परीक्षण गर्ने महानगर कृषि विभाग प्रमुख डा. अवधेश झाले जानकारी दिए ।

डा. झाका अनुसार खसीबोकाको बिक्री केन्द्रमा नै गरिने अनुगमनका क्रममा स्वस्थ खसीबोकाको सिङमा हरियो र अस्वस्थको सिङमा रातो रङ लगाइने तयारी रहेको छ । परीक्षणपछि उपभोक्तालाई खरिद गर्न सहज हुने भन्दै उनले सिङमा हरियो रङ लगाइएको खसीबोका मात्र खरिद गर्न आग्रह गरे ।

उक्त समयमा महानगरले चौपाया बिक्री स्थान, मासु पसल र वधशाला लगायतका स्थानमा समेत अनुगमन गर्ने जनाएको छ । प्रत्येक स्थानमा पशु चिकित्सक, सहायकसहित अन्य पाँच जना टोलीले परीक्षण गर्ने तयारी गरेको छ । दसैँका लागि मात्र महानगरले जिल्ला पशुसेवा कार्यालय वा भेटनरी जनस्वास्थ्य कार्यालय वा स्वतन्त्र भेटनरी चिकित्सकको सहयोगमा चौपायाको स्वास्थ्य र मासु निरीक्षण गर्ने गरेको छ ।

चालु आर्थिक वर्षमा महानगरले स्वास्थ्य क्षेत्रका लागि ९२ करोड ६६ लाख ४४ हजार रुपैयाँ विनियोजन गरेको छ । जसमा व्यक्तिगत तथा संस्थागत भान्साघर स्वास्थ्यकर बनाइराख्नका लागि तीन करोड ५० लाख रहेको छ ।

बजारलाई थप व्यवस्थित गर्न महानगरले गत साउनभित्र अनुगमनका सूचक तयार गरी भदौ १ देखि नियमित अनुगमन गर्दै आएको छ । चाडबाड आउनै लाग्दा मात्रै अनुगमनको काम गर्ने गरेको थियो । मौसमी रूपमा गरिएको अनुगमनको महानगरले प्रभावकारी नभएको र त्यसले उपभोक्तालाई राहत नमिलेको भन्दै अहिले महानगरले चाडबाड सुरु हुनु केही महिनाअघिदेखि नै अनुगमनको कामलाई निरन्तरता दिइरहेको छ ।

Categorized in उपत्यका