साहित्यकार एवं उद्योगी वसन्त चौधरी लगायत वासु शशी स्मृति परिषद बाट पुरस्कृत हुने
Janjati Khabar – विजयरत्न असंबरे | २०८२ फाल्गुण ८, शुक्रबार
अमर साहित्यकार बाशु शशीकाे नाममा स्थापित "वासु शशी स्मृति परिषद्ले साहित्यकार वसन्त चौधरीलाई “वासु शशी साहित्य पुरस्कार २०८२” प्रदान गर्ने भएकाे छ । परिषद ले साहित्यकार जयदेव भट्टराईलाई “वासु शशी स्रष्टा पुरस्कार-२०८२” र साहित्यकार हरि मञ्जुश्रीलाई “कृष्ण-सरस्वती साहित्य पुरस्कार-२०८२” प्रदान गर्ने निर्णय गरेको छ। उक्त पुरस्कारको राशि रू. २५,०००।- (पच्चीस हजार) र स्रष्टा पुरस्कार रू. २१,०००।- रहेको छ।
परिषद्का अध्यक्ष कालीप्रसाद रिजालको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले सो निर्णय गरेको हो।
उक्त पुरस्कार वरिष्ठ कवि एवं नाटककार वासु शशीको ९० औं जन्मजयन्तीको अवसरमा आगामी चैत १३ गते समर्पण गरिने परिषद्का सदस्य-सचिव प्रद्युम्न जोशीले बताए।
वासु शशी साहित्य पुरस्कारबाट यसअगि कवि एवं साहित्यकारहरू विनोद अश्रुमाली, मञ्जु काँचुली, बद्री पलिखे, गणेश रसिक, हेम हमाल, विश्वविमोहन श्रेष्ठ, अशेष मल्ल, हरि अधिकारी, कृष्णभूषण बल, काजी रोशन, डा. विष्णुविभू घिमिरे, नरेन्द्रबहादुर श्रेष्ठ, डा. विमल कोइराला, तीर्थ श्रेष्ठ, कणाद महर्षि, उषा शेरचन, गोविन्द गिरी प्रेरणा, शैलेन्दुप्रकाश नेपाल, इन्दिरा प्रसाई, राधेश्याम लेकाली, माेमिला, श्यामल, प्रतिसरा सायमि र विमल वैद्य पुरस्कृत भइसकेका छन्।
यसैगरी वासु शशी साहित्य सम्मानबाट वरिष्ठ साहित्यकारहरु तीर्थराज वन्त, डा. मोहनहिमांशु थापा, तुलसी दिवस, भैरवनाथ रिमाल ‘कदम’, प्रदीप रिमाल, यादव खरेल, गीताकेशरी, शिव रेग्मी, परशु प्रधान, कालीप्रसाद रिजाल, कृष्ण जोशी, रमा शर्मा, श्रीधर खनाल, ज्ञान उदास, भागिरथी श्रेष्ठ, कल्पना प्रधान, श्रेष्ठ प्रिया पत्थर, कर्ण शाक्य, हिरण्य भाेजपुरे, किरण खरेल र मनबहादुर मुखिया सम्मानित भइसकेका छन् ।"
Categorized in साहित्य-कला

