STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

सामुदायिक वन डढेलोको उच्च जोखिममा

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख ३, मंगलबार

झापाका सामुदायिक वन आगलागीको उच्च जोखिममा रहेको पछिल्लो तथ्याङ्कले देखाएको छ । डिभिजन वन कार्यालय झापाका अनुसार चालू आर्थिक वर्षको पाँच महीनाको अवधिमा मात्र १० सामुदायिक वनमा आगलागी भएको छ । चालू आर्थिक वर्षको मङ्सिरदेखि चैत मसान्तसम्ममा १० सामुदायिक वनमा आगलागी हुँदा ५८।७५ हेक्टर वनक्षेत्र प्रभावित बनेको डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेले जानकारी दिनुभयो । आगलागीबाट प्रभावित हुने सामुदायिक वनमा मेचीनगर, भद्रपुर नगरपालिका, हल्दिबारी, केचनाकवल र बाह्रदशी गाउँपालिकाका रहेका छन् । जिल्लामा जम्मा ५९ सामुदायिक वन रहेका छन् । वनमा आगो लगाउँदा गाईवस्तुलाई खुवाउने घाँस पलाउने, जङ्गली जीवजन्तुबाट बच्न सकिनेलगायतका कारण वन नजिकै रहेका उपभोक्ताले नै सामुदायिक वनमा आगो लगाउने गरेको हुनसक्ने बताउँदै प्रमुख घिमिरेले भन्नुभयो, “उपभोक्ताले नै चाँडै हरियो घाँस पलाउने र वनमा खुला भयो भने टाढैबाट जङ्गली जनावर आएको देख्न सकिने कारण आगो लगाउने गरेका छन् ।” उहाँले हालसम्म आगो लगाउने व्यक्ति वा समूहको पहिचान हुन नसकेको बताउनुभयो । फेला परेमा उनीहरुलाई कानूनअनुसार कारवाही गर्ने उहाँको भनाइ छ । प्रमुख घिमिरेले जिल्लाका सामुदायिक वन उच्च आगलागीको जोखिममा नभएर न्यून जोखिममा रहेको बताउनुभयो । वनमा हुने डढेलोले जैविकता तथा पर्यावरणमा समेत नकारात्मक असर पार्ने हुँदा नियन्त्रणका निम्ति वाटरसुटर, बेल्चा, दाँतेलगायतका आवश्यक सामग्री वनलाई कार्यालयमार्फत वितरण गरिएको उहाँले बताउनुभयो । नेपालमा डढेलोको प्रकोप वैशाख र जेठमा हुने भए पनि जिल्लाका अधिकांश वनमा माघ÷फागुनमा आगलागी भएको सामुदायिक वन महासङ्घका झापा अध्यक्ष वेदप्रसाद भण्डारीले बताउनुभयो । उहाँले यसपालि यति चाँडै धेरै वन क्षेत्रमा डढेलो लाग्नुमा पानी समयमा नपर्नु र वनक्षेत्र सुख्खा भएका कारण रहेको बताउनुभयो । पछिल्लो समय वनमा चोरीसिकारी बढेको कारणले उनीहरुबाट पनि आगलागी हुने गरेको बताउँदै उहाँले भन्नुभयो, “जङ्गली जनावरको सिकार गर्न वनक्षेत्रमा पसेका सिकारीले हरिण, मृगलगायतका जनावर खोज्न सजिलो हुँदा पनि आगो लगाउने गर्छन् ।” उहाँले डढेलोको मुख्य कारण मानवीय हेलचेक््रयाइँ नै भएको बताउनुभयो । डढेलो नियन्त्रणका लागि सामुदायिक वन महासङ्घ र डिभिजन वन कार्यालयले जिल्लाभर सचेतनामूलक कार्यक्रम गर्दै आएको बताउनुभयो ।
Categorized in अपराध-दुर्घटना