STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

सांगीतिक आकाशका एक अमर तारा : प्रेमध्वज प्रधान

Janjati Khabar – विजयरत्न असंबरे | २०७८ बैशाख २७, सोमबार

प्रेमध्वज प्रधानलाई नेपालको गोल्डेन भ्वाइस मानिएको छ । संगीत क्षेत्रमा प्रेमध्वज प्रधानजस्ता अतुलनीय अन्य कलाकार छैनन् र हुँदैनन् पनि । नेपालभाषाको पहिलो पप म्ये भनिएको ‘बाला बाला चिंगु मिखा’ जस्तो उल्लेखनीय गीत गाउनुभएका प्रेमध्वज नेपालको संगीत क्षेत्रका त्यस्ता एक प्रतिभा हुन् जसको वर्णन केही हजार शब्दमा गर्न सम्भव छैन ।

नेपालभाषाको संगीत क्षेत्रमा प्रेमध्वजले जति पनि गीत गाए, ती सबै लोकप्रिय भए र अहिले ती अमर बनेका छन् । ‘बालाबाला चिंगु मिखा’ गीत नेपालभाषाको प्रथम पप गीतको रुपमा अमर रहे नै, ‘उपहार थ्व मतिनाया’ गीत नेपालभाषाको प्रथम जन्मदिनको शुभकामना गीत हो । प्रेमध्वजले लोकसंगीतमा गीतहरुमा आफ्नो गोल्डेन भ्वाइस दिएका छन् । यीमध्ये लोकप्रिय ‘राजमति कुमति जिके वःसा पिरती’ पनि एक हो । पहिले अरुले गाए पनि प्रेमध्वज प्रधानको आवाजमा आएपछि यो गीत अझै लोकप्रिय बन्यो । नेवार संगीत क्षेत्रको एक लोकप्रिय गीतको रुपमा यो स्थापित भयो । यीबाहेक ‘व छु गल्ली थ्व छु गल्ली’, ‘वय् जि छन्थाय् छाय् मवय्’, ‘छंगु मिखा’, ‘जीवन छु खः निन्हुया नखः’, ‘पिलिपिलि पिलिक्क’ र ‘वाउँगु लप्ते’ जस्ता लोकप्रिय गीतहरुमा प्रेमध्वजको गोल्डेन भ्वाइस रहेको छ ।

काठमाडौंको थाएमदु (बांगेमुढा)मा बाल्यकाल बिताएका प्रेमध्वज प्रधानले किलागलमा रहेका अर्का संगीतकर्मी नारायणगोपाल गुरुवाचार्य साथीको रुपमा पाए । त्यस समय प्रेमध्वज प्रधानले डबलीमा  गीत गाउँदा उनका कतिपय गीतहरुमा नारायणगोपालले बाजा बजाई सहयोग गरिदिन्थे पनि ।

थाएमदुमा बाल्यकाल बिताएका प्रेमध्वज प्रधान सिन्धुपाल्चोक चौताराका हुन् । प्रेमध्वजका आमा प्राणदेवी प्रधान पनि संगीत मनपराउने कलाकार हुन् । प्रधान १० वर्षका हुँदा नै राजा त्रिभुवनको दरबारमा पुगी शास्त्रीय संगीत प्रस्तुत गर्दथे । प्रेमध्वजका हजुरबुवा उत्तरध्वज प्रधानको संगीतमा त्यति रुचि नभए पनि आफ्ना नाति गणेशध्वजको लागि उस्ताद गणेशलाल श्रेष्ठबाट संगीत–कक्षाको व्यवस्था गरिदिए  । पछि सोही गणेशध्वज प्रेमध्वज प्रधानको नामबाट लोकप्रिय गायक बने । गणेध्वजलाई प्रेमध्वज नाम दिने श्रेय विश्वनिकेतन विद्यालयका तत्कालीन प्रिन्सिपल प्रेमलाल श्रेष्ठलाई जान्छ ।

विसं २०११ सालमा चौताराबाट उपत्यका झरेका प्रेमध्वजको जन्म चौतारामै सन् १९३८ जून ६ तारिखमा भएको थियो । कलाकारिता क्षेत्रमा प्रेमध्वजको प्रथम पाइला अभिनय थियो । तत्कालीन समय टोल–टोलमा देखाइने दबू प्याखं (डबली नाटक) ‘सत्तलसिंह महाराज’मा प्रेमध्वजले महिला भएर अभिनय गरेका थिए । पहिले अर्कै कलाकारले गर्ने भनिए पनि सो कलाकार अनुपस्थित भइदिँदा सो रोल प्रेमध्वजलाई दिइएको थियो । रंगरुप मिलेका प्रेमध्वजलाई महिलाको रुप त्यति सुहाएको थियो कि उनलाई धेरैले महिला नै ठानेका थिए ।
प्रेमध्वज प्रधानले पद्मोदय हाइस्कुलबाट विसं २०१ सालमा एसएलसी दिए । तर संस्कृत विषयमा अनुत्तीण भएपछि उनको एक वर्ष पढाइ हुन पाए । सो समय प्रधान भारत घुम्न गए । भारतको दिल्ली, बम्बई पुगे उनी । उताको भ्रमणपछि उनले शिक्षाको महत्व बुझे । भारत भ्रमणको समय प्रेमध्वजले रेडियो सिलोन र विविध भारती नामक भारतीय रेडियो कार्यक्रमहरु धेरै सुने । संगीततर्फ उनको झुकाव अझै बढ्यो ।
भारतबाट फर्किएपछि प्रेमध्वजले रेडियो नेपालमा भ्वाइस टेष्ट दिन जाँदा त्यहाँको वातावरण देखी उनी अझै प्रभावित बने । वनको मनमा गायक हुने ईच्छा उत्कर्षमा पुग्यो । भ्वाइस टेष्ट उत्तीर्ण गर्ने ठाने ।

तत्कालीन समय गीत रेकर्डिङ्गको चलन आएको थिएन । उनले गाएको प्रथम गीत ‘याद आइरहन्छ कसैको जिन्दगी’ हो । यसरी संगीतमा लागेपछि कमाइ नहुने देखी प्रेमध्वजले ट्युशन पढाउने सुरु गरे । उनकी आमाले यसअघि पनि कतांमरि (पुतली) बनाएर बेच्दै आइरहेका थिए । ट्युशन पढाएर प्रेमध्वजले सर्वप्रथम ३६ रुपैयाँको कमाइ गरे । पछि उनले अमेरिकन लाइब्रेरीमा जागिर पनि खाए । त्यसबेला अमेरिकन एम्बेसीले दिएको रकेर्डिङ्ग मेसिनमा तारादेवीसँग ‘यो नेपाली शीर उचाली’ गीत रेकर्ड गराए ।

सांगीतिक यात्रामा लागेका प्रेमध्वज प्रधानले भारतको फिल्मनगरी बम्बई यात्रा पनि धेरैपटक गरेका थिए । कहिले संगीतको अध्ययनको लागि त कहिले गीतका रेकर्डिङ्गको लागि उनी बम्बई गइरहन्थे । एकपटक न उनले भारतको ठूलो कहलिएको फिल्मफेयर अवार्डको कार्यक्रममा समेत गीत गाउने मौका पाएका थिए । प्रेमध्वज प्रधानलाई भारतमै बसी संगीतमा लाग्न अनुरोध पनि आए । तर आमाको बिसन्चोको खबर पाएपछि उनी नेपाल फर्किए ।

प्रेमध्वज प्रधानले ‘माइतीघर’ फिल्मा उषा मंगेशकरसँग ‘नमान लाज यसरी’ र ‘मायालु’ फिल्मको लागि आशा भोसलेसँग ‘टाढा भई’ गीत गाएका छन् । ‘माइतीघर’ फिल्मको लागि उनलाई हिरोको लागि प्रस्ताव पनि आएको भए पनि उनले त्यसलाई अस्वीकार गरेका थिए । उनले ‘जीवनरेखा’ फिल्मको लागि गएका गीत ‘पल पल चुमेर’ र ‘तिम्रो नाम अझै छ’ लोकप्रिय रहे ।

प्रेमध्वज प्रधानका स्मरणीय एल्बमहरुमा – हिमालयन बोक्वेट अफ स्विंगिंग काठमाडौं सन् १९६३, प्रेमध्वज प्रधानका सुमधुर गीत संगालो, बालाबालाचिंगु मिखा (नेपालभाषा गीत संग्रह २०५० साल), घाइते जवानी २०४९ साल, किचः (नेपालभाषा गीत संग्रह, २०४९), बालाबालाचिंगु मिखा भाग २ (नेपालभाषा गीत संग्रह, २०५३ साल), माया नमार (२०५४ साल ), कतै यो शहरमा (२०५६ साल), ख्वबि (नेपालभाषा गीत संग्रह, २०६५ साल) रहेका छन् ।

उनका लोकप्रिय गीतहरुमा गोरेटो त्यो गाउँको, तिमी आए मेरो दिलमा, घुम्तीमा नआउ है, माया नमार मायालु, तारा मात्र होइन तिमीलाई, पर लैजाऊ फूलहरु, हाँस्ने रहरहरु, टाढा भइगयो तिमी, यो नानीको शिरैमा, नमान लाज यस्तरी  र  तिमीलाई अचेल कहाँ भेटौं... छन् ।

नेपालको संगीत क्षेत्रको लागि अमीट छाप छोडिगएका प्रेमध्वज प्रधान सांगीतिक आकाशका एक अमर तारा हुन् ।

Categorized in साहित्य-कला