STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सहकारीबाट महिला आत्मनिर्भरतर्फ उन्मुख

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ १२, आइतबार

रामपुर नगरपालिका–१० पाल्पाका महिला सहकारीलाई सहारा बनाएर कृषि कर्ममार्फत आत्मनिर्भर हुन थालेका छन् । बाख्रा, भैँसी, बङ्गुर, कुखुरापालन तथा तरकारीखेती गरेर आत्मनिर्भर बनेका महिला पछिल्लो समय भने तराईतिरबाट उन्नत जातका भैँसी ल्याएर पालन शुरु गरेका छन् । आधारशिला सामाजिक उद्यमी महिला सहकारी संस्थाबाट ऋण लिएर महिलाले यतिबेला भैँसी पालन व्यवसाय शुरु गरेका हुन् । आफूलाई चाहिएको टिका, पोते, सिन्दुरका लागिसमेत सधैँ श्रीमान्को भर पर्नुपरेपछि उनीहरु आफैं आत्मनिर्भर बन्न बाख्रापालन गर्नुभएका रामपुर बर्दलेका ईन्द्रा गाहाले अहिले तराईबाट भैँसी किनेर ल्याएको बताउनुभयो । उहाँले पालेका एक हल गोरु हटाएर भैँसी किनेर ल्याएको सुनाउनुभयो । “गोरु पाल्नुभन्दा भैँसी पाल्छु र दैनिक दूध बेचेर आम्दानी लिन्छु, यसबाट चाहिएका बेला पैसो हात पर्ला नि”, गाहाले भनिन् । आठ वटा बाख्रा पाल्नुभएकी बर्दलेकै ललिता सिञ्जालीले पनि उन्नत जातको भैँसी किनेर ल्याउनुभएको छ । चार, पाँच लिटर दूध दिने भैँसी किनेर ल्याएपछि दूध बिक्रीबाट राम्रो आम्दानी हुने सिञ्जालीको अपेक्षा छ । सहकारीमा आवद्ध १५ जना महिलाले उन्नतजातका भैँसी खरीद गरेको संस्थाका व्यवस्थापक सविना न्यौपानेको भनाइ छ । उहाँले भन्नुभयो,“तराईबाट दशवटा भैँसी महिलाले ल्याउनुभएको छ, स्थानीयस्तरमै अरु पाँचवटा किन्नुभयो, अझै थप्ने धेरैको इच्छा छ ।” दिनभरि खाली बसेर समय बिताएका महिला आफूहरुले आम्दानी गर्ने उहाँको भनाइ छ । महिलाले रु ७९ हजारदेखि एक लाख २० हजार मूल्यका भैँसी खरीद गरेका छन् । संस्थामा ऋण लिएर आयआर्जन गर्ने महिला करीब दुई सयको हाराहारीमा रहेको संस्थाले जनाएको छ । यसअघि गाउँका महिलाले उत्पादन गरेको दूध सहकारीले नै स्याङ्जाको गल्याङ् पु¥याएर बिक्री गर्ने व्यवस्था मिलाएको थियो । सहकारीका सदस्य लक्ष्मी श्रेष्ठले दूध बिक्रीबाटै आउने पैसाले छोराछोरी पढाउन समेत सजिलो भएको अनुभव सुनाउनुभयो । विसं २०६६ मा महिला समूह गठन गरेर २०६९ सालमा सहकारीका रुपमा दर्ता गरेर काम गरेको संस्थामा शुरुमा १० रुपैयाँ बचत गर्दै आएका महिलाले अहिले महीनामा २५० रुपैँया बचत गर्दै आएका छन् । समूहका अध्यक्ष सीता देवकोटाले अहिले खर्च गर्ने पैसा श्रीमान्सँग माग्नु नपरेकोमा जोड दिँदै सहकारीले ऋण प्रवाह गरिदिएर सञ्चालन भएका व्यवसायबाटै महिला आत्मनिर्भर बन्दै गएको बताउनुभयो । शुरुमा २५० रुपैँया कसरी जम्मा गरिएला जस्तो लाग्ने भए पनि अहिले आफूले खर्च गर्ने पैसासमेत आफै जुटाउने गरेको उहाँको भनाइ छ । दैनिक रुपमा ४० देखि ८० लिटरसम्म दूध महिलाले गल्याङ् पु¥याउँछन् । महिलाले घरमा उत्पादन गरेको दूध सहकारीले नै गाडीभाडासहित बिक्रीको व्यवस्था मिलाइदिँदा महिला दङ्ग छन् । पाल्पा रामपुरको गेझा बर्दलेमा रहेको सहकारीमा अहिले करीब ४०० महिला शेयर सदस्य छन् । सहकारीले कृषि क्षेत्रको विकासलाई ध्यानमा राखेर मलखादको समेत व्यवस्था गरेको छ ।
Categorized in राष्ट्रिय