सरकारी विज्ञापनबारे सरकारकाे निर्णयप्रति असहमति - चलचित्र पत्रकार संघ
Janjati Khabar – Janjati Khabar | २०८२ चैत्र २०, शुक्रबार
सरकारी विज्ञापन केवल सरकारी सञ्चार माध्यममार्फत मात्र प्रवाह गर्ने सरकारको निर्णयप्रति चलचित्र पत्रकार सङ्घ नेपालले आपत्ति प्रकट गरेको छ । सङ्घले एक प्रेस विज्ञप्ति जारी गर्दै सरकारको यो निर्णयप्रति पूर्ण असहमति जनाएको हो ।
सङ्घका महासचिव रघुनाथ सापकोटाद्वारा शुक्रबार जारी विज्ञप्तिमा सरकारको यो कदमले लोकतान्त्रिक मूल्य र मान्यतामा रहेर नागरिकलाई सुसूचित गर्दै आएका निजी सञ्चारमाध्यममाथि प्रत्यक्ष प्रहार गरेको उल्लेख गरिएको छ । खुला र प्रतिस्पर्धात्मक सूचना प्रणालीलाई निषेध गरेर विज्ञापनमा ‘सिन्डिकेट’ लाद्न खोजिएको र यसले निजी तथा सामुदायिक सञ्चारमाध्यमलाई धराशायी बनाउने सङ्घको ठहर छ ।
विज्ञापनको प्रवाहलाई सङ्कुचित बनाउँदा अन्ततः अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने र लोकतन्त्रमा यस्तो प्रवृत्ति कदापि स्वीकार्य नहुने विज्ञप्तिमा भनिएको छ । चलचित्र पत्रकार सङ्घ नेपालले प्रेस स्वतन्त्रता, लोकतान्त्रिक मूल्य र नागरिक अधिकारको संरक्षणका लागि उक्त निर्णय तुरुन्त फिर्ता लिन वा सच्याउन सरकारसँग विज्ञप्ति मार्फत जोडदार माग समेत गरेको छ ।
Categorized in राष्ट्रिय

