STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

सम्पदा निर्माण/पुनर्निर्माण महानगरको प्राथमिक योजना - मेयर शाक्य

Janjati Khabar – विजयरत्न असंबरे | २०७७ मङ्सिर २०, शनिबार

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले संस्कृति र परम्पराको जगेर्ना गर्ने कुरामा काठमाडौँ महानगरपालिका दत्तचित्त भएर लागेको बताउनु भएको छ । उहाँले सम्पदा संरक्षणलाई महानगरपालिकाले  प्राथमिकतामा राखेर निर्माण–पुनर्निर्माणको अभियान अघि बढाएको पनि बताउनु भयो । आज वडा २५ श्रीघः, नघलस्थित धर्मकीर्ति विहारको विस्तारित भवनको शिलान्यास गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

मेयर शाक्यले सम्पदा निर्माण गर्दा जनसमुदायको पनि अपनत्व हुने गरी काम आग्रह समेत गर्नुभयो । 

मेयर  शाक्यले कार्यक्रममा सम्बोधन गर्दै कामपाले विभिन्न थेरवादी तथा बज्रयानी विहारहरू निर्माण गर्न आवश्यक सहयोग पुर्याउँदै आएको स्मरण समेत गराउनुभयो । काठमाडौं नगर भित्र अवस्थित बुद्ध विहारको मुल भवन, लुम्बिनीको बज्रयान महाविहार, जनबहाल (सेतो मत्स्येन्द्रनाथ)को दिगीछेँ, स्वयम्भूस्थित भजनघरसँगैको विहार, स्वयम्भूस्थित आनन्दकुटी विहार, किम्डोलस्थित आनन्दभुवन विहार, वानेश्वरस्थित अन्तर्राष्ट्रिय बौद्ध भावना केन्द्र निर्माण गर्न सहयोग गरिरहेको जानकारी समेत दिनुभयो । काठमाडौं  सहरभित्रका सम्पदालाई काठमाडौंबाहिरका सम्पदासँग जोडेर पर्यटन क्षेत्रको विकास गर्ने र यसबाट स्थानीयको आयमा समेत वृद्धि गर्ने योजना अनुसार केही दिन अघि मात्रै  लुम्बिनी प्रदेशको रामग्राम नगरसँग भगिनी सम्बन्ध स्थापना गरेकाे कुरा पनि उल्लेख गर्नु भयो । यसै गरी भगवान वुद्धको मावली घर भएको पण्डितपुरमा कोलिय शान्ति पार्क निर्माण गर्न १ करोड ५० लाख रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय गरेकाे पनि बताउनु भयाे । उहाँले सम्पदा क्षेत्रको व्यवस्थापनमा गरिएको त्यो लगानीले पर्यटन उद्योगमार्फत राष्ट्रिय समृद्धिमा टेवा पुग्ने अपेक्षा लिएको पनि बताउनुभयो ।  

विहारको विस्तारित भवनको लागत ४ करोड २८ लाख रुपैयाँ हो । त्यसमध्ये पहिलो चरणमा करीब १ करोड लागतकाे काम हुनेछ । विस्तारित भवन निर्माण उपभोक्ता समितिका संयोजक अभयरत्न कंसाकारले पहिलो चरणमा लाग्ने कुल ९९ लाख ९९ हजार १६५ रुपैयाँको १५ प्रतिशत अर्थात् १४ लाख ९९ हजार ८७४ रुपैयाँ उपभोक्ता समितिले व्यहोर्नेछ । बाँकी ८५ प्रतिशत अर्थात् ८४ लाख ९९ हजार २९० रुपैयाँ महानगरपालिकाको सहयोग हुने कुराको जानकारी दिनु भयाे ।

Categorized in उपत्यका