STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

सन्दीप लामिछाने अझै स्वदेश फर्केनन्

Janjati Khabar – Janjati Khabar | २०७९ भाद्र २९, बुधबार

काठमाडौं - बलात्कार आरोपमा उजुरी परेपछि जिल्ला अदालत काठमाडौं नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेलाई पक्राउ गर्न अनुमति दिएको बुधबार एक हप्ता बितिसकेको छ । प्रहरी परिसर काठमाडौंमा एक किशोरीले आफूमाथि बलात्कार भएको भन्दै लामिछानेविरुद्ध उजुरी दिएको तीन दिनपछि गत बिहीबार जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । 

अदालतले पक्राउ पुर्जी जारी गरेपछि गत शुक्रबार जमैकाबाटै लामिछानेले सामाजिक सञ्जालमार्फत आफू नेपाल फर्किने बताएका थिए । उनले नेपाल आउने बताएपछि अध्यागनमन विभागले पनि उनलाई कालो सूचीमा राख्यो । नेपाल आउनासाथ पक्राउ गर्ने तयारीका साथ उनलाई कालो सूचीमा राखिएको थियो । तर, बुधबारसम्म उनी नेपाल आएनन् । 

सन्दीप आफैँ नेपाल नफर्केपछि प्रहरी अहिले उनलाई विमानस्थलमा कुरेरै बसेको छ । उनी आफैँ नआएसम्म प्रहरीले हालका लागि उनलाई पक्राउ गर्ने कुनै उपाय छैन । नेपाल प्रहरीका सहायक प्रवक्ता एसएसपी दानबहादुर कार्की भन्छन्, ‘अहिले नै रेडकर्नर नोटिस जारी अवस्था छैन । यसका धेरै प्रक्रिया पूरा गर्नुपर्छ ।’ उनका अनुसार जिल्ला अदालतमा अभियोजन नभएसम्म रेडर्कनर नोटिस जारी हुँदैन । 

प्रहरीले अहिले घटनाबारे अनुसन्धान गरिरहेको उनले जानकारी दिए। घटना अनुसन्धानमै रहेकाले धेरै विषय सार्वजनिक गर्न नमिल्ने उनले बताए । 

केन्यासँगको द्विपक्षीय सिरिज खेल्न त्यसतर्फ जानुअघिल्लो दिन लामिछानले एक किशोरीलाई नगरकोट घुमाएर तीनकुनेस्थित एक होटलमा लगेर बलात्कार गरेको आरोप छ । तर, लामिछानले सामाजिक सञ्जालमार्फत आफू निर्दोष रहेको जिकिर गर्दै आरोपको सामना गर्ने बताएका थिए । 

Categorized in खेलकुद