STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

सत्यनारायण बहादुर श्रेष्ठ स्मृति मिडिया कपमा चितवन च्याम्पियन

Janjati Khabar – विजयरत्न असंबरे | २०८० पौष ९, सोमबार

नेवाः पत्रकार राष्ट्रिय दबु (एनएफएनजे) को आयोजनामा  नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनाराणबहादुर श्रेष्ठको १०८ अौं स्मृति दिवसको अवसरमा आयोजना गरेको सत्यनारायणबहादुर स्मृति मिडिया कप फुटसल प्रतियोगितामा नेवाः पत्रकार राष्ट्रिय दबु चितवन च्याम्पियन भएको छ ।

आदर्श विद्या मन्दिर (एभिएम) विद्यालयस्थित फुट्सल मैदानमा भएको प्रतियोगिताको फाइनलमा चितवनको टिमले एनएफएनजे काठमाडौँलाई ८–४ ले पराजित गरी च्याम्पियन बनेको हो । 

च्याम्पियन टिमका लागि अनिश श्रेष्ठ र गगन श्रेष्ठले चार–चार गोल गर्नुभयो । यसैगरी काठमाडौँका अभिनव जोशीले पनि फाइनलमा चार गोल गर्नुभएको थियो । प्रतियोगितामा नेवाः पत्रकार राष्ट्रिय दबू, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), नेवाः कलाकार र एनएफएनज ललितपुरको पनि सहभागिता रहेको थियो ।

छ टिमलाई दुई समूहमा विभाजन गरिएको फुटसल मा समूह ‘ए’ मा आयोजकसहित ललितपुरको पत्रकार टिम र कलाकार तथा समूह ‘बी’ मा काठमाडौँ, चितवनको पत्रकार टिम र फोनिज रहेका थिए । समूह ‘ए’ बाट नेवाः कलाकार विजेता र आयोजक एनएफएनजे उपविजेता बनेर सेमिफाइनल पुगेका थिए । यसैगरी चितवन समूह ‘बी’ को विजेता र काठमाडौँ उपविजेताको हैसियतमा अन्तिम चारमा पुगेका थिए ।

सो प्रतियोगिताको समूह चरण सकिएपछि नेवाः महिला पत्रकार र नेवाः महिला कलाकारबिच मैत्रीखेल भएको थियो । जसमा नेवाः महिला पत्रकार टिम २–१ ले विजेता बनेको थियो । सो प्रतियोगिताको उद्घाटन ललितपुर महानगरपलिका –५ का अध्यक्ष विकासमान श्रेष्ठ र समापन ललितपुर उपमहानगरपालिकाका उपमेयर मञ्जली शाक्यले गर्नुभएको थियो ।

नेवाः पत्रकार राष्ट्रिय दबुले शिक्षाविद् तथा पत्रकार श्रेष्ठलाई नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्षको पहिचानको मागसहित हरेक वर्ष विभिन्न कार्यक्रम गरी अभियान चलाउँदैआएको छ ।

नेवाः पत्रकार राष्ट्रिय दबूले यस पटक श्रेष्ठको १०८ औँ जन्मोत्सव मनाउने क्रममा फुटसलको आयोजना गरेको छ । श्रेष्ठको १०८ औँ जन्मोत्सवको प्रमुख कार्यक्रम भने पुस १३ गते हुनेछ । सोही दिन मिडिया कपको विजेता, उपविजेता टिमलाई पुरस्कृत गरिनेछ । नेवाः पत्रकार राष्ट्रिय दबूका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले वि सं  २००८ सालमा नेपाल टुडेको सम्पादक श्रेष्ठले आफ्नो अध्यक्षतामा पहिलो पटक नेपाल पत्रकार संघको गठन गरेको बताउनुभयो ।

२०१२ सालमा पत्रकारको अर्को बैठकबाट पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति कृष्णप्रसाद भट्टराईको सभापतित्वमा नेपाल पत्रकार संघको पुनर्गठन गरिएको थियो । त्यसपछि सोही तथ्यलाई पहिलो घटनाको रुपमा व्याख्या गरी भट्टराईलाई नेपाल पत्रकार महासंघको संस्थापक मानिँदैआएको भए पनि त्यो गलत भएको उहाँले बताउनुभयो ।

Categorized in खेलकुद