STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

सत्ता गठबन्धनको आजको बैठक निष्कर्षविहीन, शुक्रबार पुनः बस्ने

Janjati Khabar – Janjati Khabar | २०७८ फाल्गुण ५, बिहिबार

फागुन ५, काठमाडौं - सत्ता गठबन्धनको बैठक भोलि पुनः बस्ने भएको छ । प्रतिनिधिसभाको बैठकमा अमेरिकी सहायता परियोजना एमसीसी टेबल गर्ने तथा बैठक निर्वाध सञ्चालन गर्नेलगायत विषयमा सहमति जुटाउन भोलि पुनः बैठक बस्ने भएको हो ।

प्रधानमन्त्री निवास, बालुवाटारमा आज साँझ बसेको बैठक निष्कर्षमा नपुगेपछि भोलि बिहान १० बजे पुनः बस्ने गरी बैठक सकिएको हो ।

आजको बैठकमा प्रतिनिधिसभाको बैठक बिनाव्यवधान सञ्चालन गर्ने तथा एमसीसी सम्झौता टेबल गर्नेबारेमा घनीभूत छलफल भएको  सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । छलफल सकारात्मक रहेको कार्कीले बताए ।

'सत्ता साझेदार दलबीचको छलफल जारी रहेकाले भोलि बिहान १० बजे हुने बैठकले निर्णय गर्ने गरी आजको बैठक समाप्त भएको छ,' कार्कीले भने ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी प्रधान कार्यालयले यही फागुन १६ गतेभित्र सम्झौता अनुमोदनका निम्ति गरेको आग्रहलाई समयमै पूरा गर्न नेतृत्वपङ्क्तिलाई अनुरोध गरेको कार्कीले जानकारी दिए ।

सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसले प्रतिनिधिसभामा उक्त सम्झौता हिजो बुधबार टेबल गर्ने तयारी गरेको भए पनि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आग्रहमा शुक्रबारसम्मका लागि स्थगित गरिएको थियो ।

भोलिको संसद बैठकमा एमसीसीलाई टेबल गर्न सत्ता साझेदार दलबीच सहमति जुटाउनुपर्नेमा अध्यक्ष प्रचण्डले जोड दिएका थिए । सत्ता गठबन्धनबीचको सहकार्यलाई निरन्तरता दिँदै अघि बढ्नुपर्ने उनको जोड थियो ।

बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नारायणकाजी श्रेष्ठ, कांग्रेसका महामन्त्री गगनकुमार थापा, सोही पार्टीका नेताहरू कृष्णप्रसाद सिटौला र पूर्णबहादुर खड्का सहभागी थिए ।

त्यसैगरी नेकपा (एकीकृत समाजवादी) का तर्फबाट अध्यक्ष माधवकुमार नेपाल, नेता झलनाथ खनाल तथा जनता समाजवादी पार्टी नेपालबाट बाबुराम भट्टराई बैठकमा सहभागी थिए । रासस ।

Categorized in राजनीति