STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

संवेदनहीन र गैरजिम्मवारीले उपत्यकामा कोरोना आतंक

Janjati Khabar – जनजाति खबर | २०७७ जेठ १, बिहिबार

निश्चल

मंगलबार दिउँसो एकैपटक ५७ जनामा कोरोना भाइरस संक्रमण देखिएको समाचार बाहिरिएपछि सर्वसाधारणमा आतंक छायो । उनीहरुको कुराकानीको विषय यसमै केन्द्रित भयो, “यो त मध्य दिनको मात्र संख्या हो, अझै कति संक्रमित बढ्ने हुन् ?” कोरोना भाइरसका कारण विदेशमा २४ घण्टामा यतिजना संक्रमित देखिए, यतिजनाको मृत्यु भयो भन्ने समाचार सुनिरहेकाले होलान्, नेपालमा पनि त्यस्तो हुनेमा सर्वसाधारणमा त्रास देखियो । अनुमान लगाएजस्तै बेलुका फेरि २६ जना नयाँ संक्रमित भेटिएको समाचार बाहिरियो । नेपालमा कोरोना संक्रमितको संख्या मंगलबार बेलुकासम्म २१७ पुग्यो । फ्रन्ट लाइनमा काम गर्ने स्वास्थ्यकर्मी तथा सुचना सम्प्रेषणमा अग्रसर पत्रकारमा समेत पहिलोपटक कोरोनाको संक्रमण देखियो । नेपाल कम्युनिष्ट पार्टीका शीर्षस्थ नेता भीम रावलका पिसिओलाई समेत कोरोना संक्रमण देखियो । संक्रमितको संख्या बढ्दै गएर बुधबार बेलुकासम्म २४३ पुगिसकेको छ । यसले कोरोना भाइरसले नेपालमा पनि महामारीकै रुप लिएको स्पष्ट संकेत गरेको छ । अझ देशकै राजधानी काठमाडौं उपत्यकामा समेत नयाँ ५ जनामा कोरोना भाइरसको संक्रमण देखियो । उपत्यकामा देखिएका कोरोना संक्रमितहरु लकडाउनकै समयमा विभिन्न जिल्लाबाट काठमाडौं छिरेका थिए । मच्छेगाउँका महिला महेन्द्रनगरबाट फर्किएका थिए भने भक्तपुरमा देखिएका दुईजना संक्रमित पनि रामेछाप र सुनसरीबाट फर्किएका थिए । बाहिरबाट उपत्यका भित्रिएकाहरुले विशेष पास भिरेर नै काठमाडौं छिरेका देखियो । समाचारअनुसार पछिल्लो एक साताको अवधिमा उपत्यकामा ५ सयभन्दा बढी मालवाहक गाडी र २७ सय बढी यात्रुवाहक गाडीमा ६४ सय मानिस भित्रिए । यसअघि विदेशबाट आएकाहरुबाट सतर्क हुनुपर्ने अवस्था मात्र थियो भने अब काठमाडौंमा उपत्यका बाहिरबाट आएकाहरुबाट पनि सतर्क रहनुपर्ने अवस्था आइसकेको छ । अझ उपत्यकाभित्रै संक्रमितहरु भेटिएपछि को–कोबाट सतर्क रहने भन्ने पनि अवस्था रहेन । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि सरकारले गरेको लकडाउनको आदेशलाई मानिरहेका उपत्यकाबासीमा अहिले आतंक फैलिएको छ । अहिलेको अवस्थाले चैत ११ गतेदेखि ५० दिन लामो लकडाउन उपत्यकाबासीको लागि अर्थहीन बनेको विश्लेषण गरिँदैछ ।
Categorized in विचार