STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

श्रीघःबहालमा हारती अजिमाको मन्दिर शिलान्यास

Janjati Khabar – Janjati Khabar | २०७८ माघ ४, मंगलबार

श्रीशान्तिघट बज्रधातु चैत्य महाविहारअनि काशि स्वयम्भु भनेर पनि चिनिने श्रीघःबहालमा रहेको   हारती अजिमा द्यःको  मन्दिर पुननिर्माण मंगलबार बाट थालिएको छ । काठमाडौँ महानगरपालिका वडा नं. २५ श्रीघः विहार, श्रीशान्तिघट बज्रधातु चैत्य महाविहार परिसरमा रहेको मन्दिरको काठमाण्डौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले शिलान्यास गरेर पुननिर्माणको काम शुरुवात गर्नुभएको हो । पुननिर्माणका लागि महानगरले  १ करोड रुपैयाँ उपलब्ध गराउनेछ । यसमा श्रीशान्तिघट बज्रधातु चैत्य महाविहार संरक्षण समितिले उपभोक्ताकातर्फबाट ५ प्रतिशत रकम थप गरेर पुननिर्माण गर्नेछ ।

शिलान्यासपछि संक्षिप्त प्रतिक्रिया दिँदै मेयर शाक्यले, काठमाडौँको इतिहासलाई जीवन्त बनाइराख्न प्राचीन स्मारकहरुको मर्मत, सम्भार, जीर्णोद्धार र पुननिर्माणलाई  महानगरपालिका को  नीतिगत प्रबन्ध, बजेट र कार्यक्रमबाट काम गरिरहेको बताउनुभयो ।  उहाँले काठमाडौँ प्राचीन सांस्कृतिक र ऐतिहासिक सहर हो । यसको पहिचानलाई दिगो बनाइ राख्न, सहरमा भएका स्मारकहरुलाई यथावत राख्नुपर्छ । त्यसैले हामीले जीवन्त सांस्कृतिक सहरको पहिचान जोगाउन समुदाय, पुजारी र गुठीयारहरुसँग सहकार्य गरिरहेका छौँ  भनि भन्नु भयो । हारती माता मन्दिर पुननिर्माणको सन्दर्भ उठाउँदै मेयर शाक्यले  मन्दिरका काठहरु मकिएका थिए । पर्खाल कमजोर भएको थियो । त्यसैले परम्परागत निर्माण सामग्रीको प्रयोग गरेर पूर्ववत स्वरुप र शैली हुने गरी उपभोक्ता, गुठीयार र शाक्य कुलका पुजारीहरुसँगको सहकार्यमा हारति अजिमा मन्दिर पुननिर्माण थालेका  हौं भनि भन्नु भयो ।

उपभोक्ता समितिका पदाधिकारीकाअनुसार मन्दिर करीब ३ सय बर्ष भएको र यसको पुननिर्माण आजभन्दा करीव १ सय ५६ बर्ष अघि एक पटक भएको अभिलेख देखिन्छ ।  उपभोक्ता समितिका पुरन शाक्यले वि सं १९९० सालको भूकम्पको धक्का व्यहारे पनि मन्दिरलाई कुनै क्षति नपुगेको तर २०७२ सालको भूकम्पले भने भित्रभित्रै कमजोर बनाएको कुरा बताउनु भयो ।

शिलान्यास अवसरमा  सो विहार का शाक्य कसलपुत्रहरु मध्ये सबैभन्दा जेष्ठ सदस्यका रुपमा रहनु भएका सकारात्मक अभियानका अग्रज तथा पर्यटन व्यवसायी कर्ण शाक्य , श्रीशान्तिघट बज्रधातु चैत्य महाविहार संरक्षण समितिका अध्यक्ष शुभकाजी शाक्य ,  वडा  २५ का अध्यक्ष एवं विपद व्यवस्थापन समितिका संयोजक नीलकाजी शाक्य, कार्यपालिका सदस्य रमिताकमल स्थापितसहित जनप्रतिनिधि र संरक्षण समितिका पदाधिकारी सहभागी हुनुहुन्थ्यो ।

Categorized in उपत्यका