STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

श्रीकरुणामय रथयात्राको क्रममा भएको घटनाले मर्माहत भएकी छु ‒ प्रदेश सभा सांसद शाक्य

Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र १९, शुक्रबार

विजयरत्न असंबरे


कोरोना महामारीको कारण उत्पन्न विषम परिस्थितीले गर्दा लामो समयदेखि स्थगनमा रहेको वर्षा र सहकालको देवता बुंगःद्यः श्रीकरुणामयको जात्रालाई सम्पन्न गर्न स्वःस्फूर्तमा आयोजित दबाबमूलक कार्यक्रममा उत्पन्न अप्रिय स्थीतिलाई लिएर बागमति प्रदेश सभा सांसद शोभा शाक्यले एउटा वक्तव्य प्रकाशित गरी दुःख व्यक्त गर्नु भएको छ । साझा पार्टीका केन्द्रिय सदस्य समेत रहनु भएका माननीय सांसद शोभा शाक्यले वक्तव्यमा , “ हाम्रो संस्कृति र हाम्रो सम्पदा प्रति हामीलाई धेरै माया छ र आस्था छ । त्यही असिम आस्थाको कारण करुणाको प्रतीकका रुपमा रहेका बुंगःद्यः अर्थात श्रीकरुणामयको रथारोहणमात्र सम्पन्न गरी कोरोना भाइरसको संक्रमणबाट हुने कोभिड १९ महामारीको जोखिमको कारण देखाई लामो समयदेखि अलपत्र पारी राखेको र विश्वको एक लामो रथ जात्राको रुपमा विश्व विख्यात जात्रा सम्पन्न गर्न कफ्र्यु लगाएर , डोजर र क्रेन प्रयोग गरी रथ तान्ने सुझावहरु विभिन्न समयमा विभिन्न माध्यमबाट दिंदा पनि सम्बन्धित सरोकारवाला निकायहरुले कुनै चासो नदेखाएको कारण दबाब दिनु पर्ने स्थीति सिर्जना भएको र त्यही स्वस्फूर्त दबाबलाई दमन गर्न खोज्दा अप्रिय घटना घटेको हो । ” भनि उल्लेख गर्नु भएको छ । वक्तव्यमा सांसद शाक्यले ,“ यस्तो अप्रिय घटना नहुनु पर्ने हो तर भयो । मलाई अत्यन्त दुःख लागेको छ । यो अप्रिय घटना हुनुमा दोष सम्बन्धित सरोकारवाला निकायहरुको नै छ जस्तो मलाई लाग्छ । ” भन्नु हुँदै उहाँले , “ यो कोरोनाको कहरले ताण्डव मचाइरहेको बेला जात्रामा रमाउने मन कसको होला । त्यसैले जात्रालाई व्यवस्थित , नियन्त्रित र सुरक्षित रुपमा सम्पन्न गर्न बेलाबेलामा सुझाव र दबाब दिंदै आईरहेको थियो । तर लामो समय व्यतीत भई सक्दा पनि सम्बन्धित सरोकार निकायहरुले कुनै ठोस कदम उठाउन नसकेको कारण असह्य भएर करुणामयका असंख्य भक्तजन र जनताहरु स्वस्फूर्त रुपमा जम्मा भई रथ यात्रा अबिलम्ब सम्पन्न गर्न दबाबमूलक कार्यक्रम गर्न बाध्य भएका हुन् । तसर्थ हिजो भएको अप्रिय घटना प्रति दुःख प्रकट गर्दै घाइते भएका सबैको शिघ्र स्वास्थ्य लाभ होस् भन्दै श्रीकरुणामय बुंगःद्यःले हामी सबैको रक्षा गरुन भनि कामना गर्दछु । साथै यो रथ जात्रा व्यवस्थित र सुरक्षित रुपमा सम्पन्न गर्न सबै पक्षबाट सकारात्मक पहल होस् भनि अनुरोध पनि गर्दछु । ” भनेर उल्लेख गर्नु भएको छ ।
Categorized in उपत्यका