STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

शिक्षकमा कोरोना देखिएपछि विद्यालय बन्द

Janjati Khabar – Janjati Khabar | २०७७ मङ्सिर २८, आइतबार

सुर्खेत - आइतबार सुर्खेतकाे एउटै विद्यालयका ११ सहित १७ जना शिक्षकमा कोरोना भाइरस संक्रमण देखिएपछि अहिले विद्यार्थी, अभिभावक, शिक्षक सबै डराएका छन् । 

कर्णाली प्रदेश अस्पताल–पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा १७ जना शिक्षकमा संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि भएपछि उनीहरु सबै होम आशोलेनमा रहेका छन् ।  पञ्चपुरी नगरपालिकाको सुर्यप्रकाश माध्यमिक विद्यालय, पलैटेका ११ जना शिक्षकमा संक्रमण देखिएको नगर स्वास्थ्य शाखा प्रमुख गंगादेव पुरीले बताए । विद्याज्योती माद्यामिक विद्यालय बाबियाचौरका दुईजना शिक्षकलाई पनि संक्रमण देखिएको छ ।

नगर स्वास्थ्यशाखा प्रमुख पुरीका अनुसार दुई विद्यालयका ३९ जना शिक्षकको पीसीआर परिक्षण गर्दा १३ जना शिक्षकको रिर्पोट पोजेटिभ आएको थियो । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि शिक्षकहरुको पीसीआर परिक्षण गरिएको थियो ।

सुर्खेतकै गुर्भाकोट नगरपालिकाको नेपाल राष्ट्रिय माध्यामिक विद्यालयका दुईजना र जनसेवा आधारभुत विद्यालयका एकजना शिक्षकमा पनि कोरोना संक्रमण देखिएको छ । नगर शिक्षा प्रमुख पदम विकका अनुसार शिक्षकहरुमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि स्वाब संकलन गरिएको थियो ।

प्रत्यक्ष सिकाइ सहजीकरण निर्देशिकाले तोके बमोजिम स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर कक्षा सञ्चालन गर्न सुर्खेतका स्थानीयपालिकाले अनुमति दिएपछि यहाँ विद्यालयहरु खुलेका थिए ।

तिहारपछि धेरैजसो विद्यालयहरुले पठनपाठन शुरु गरे । तर पछिल्लो समय शिक्षकहरुमा कोरोना भाइरसको संक्रमण देखिपछि भने विद्यालय बन्द भएका छन् । गुर्भाकोट नगरपालिकाका विद्यालयहरुमा मंसिर पहिलो साताबाट पठनपाठन सुरु भएको थियो ।

 

Categorized in शिक्षा