STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

शान्तिको सम्भावना छैन, फेरि बन्दुक उठ्छ : मोहन वैद्य

Janjati Khabar – Janjati Khabar | २०७७ चैत्र २, सोमबार

काठमाडाैं – नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यले नेपालमा शान्तिको सम्भावना नरहेको र नेपालमा पुनः नेपालमा बन्दुक उठ्ने चेतावनी दिएका छन् ।

आइतबार नेकपा (क्रान्तिकारी माओवादी) सम्बद्ध जनवर्गीय संगठन तथा मोर्चाहरूले काठमाडौंको शान्तिबाटिकामा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै महासचिव वैद्यले नेपालमा क्रान्ति पूरा नभएकाले शान्तिको सम्भावना नरहेको बताएका हुन् ।

क्रान्ति गरेपछि मात्रै शान्ति आउने भन्दै उनले नेपालमा बन्दुक उठ्ने चेतावनी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले केही समयअघि सबै पार्टीहरू संसदवादी मुलधारमा आएको अभिव्यक्ति दिएकोप्रति टिप्पणी गर्दै महासचिव वैद्यले क्रान्तिकारीहरू संसदवादी मुलधारमा नभएको र आफूहरूले वर्तमान व्यवस्था नमान्ने पनि बताए ।

‘प्रधानमन्त्रीले सबै संसदवादी मुलधारमा आए भनेर झुठ बोल्नु भयो । हामी यो व्यवस्थालाई मान्दैनौँ । त्यसैले संसदीय मुलधारमा जाने कुरा आउँदैन । अब फेरि क्रान्ति गर्नुपर्छ,’ उनले भने ।

वैद्यले प्रधानमन्त्री ओलीले अब शान्तिको नयाँ युग सुरु भयो भनेर झुठ बोलेको बताए । ‘विप्लवजीहरूले सम्झौता गर्न बित्तिकै शान्तिको युग प्रधानमन्त्रीजीले भनेजस्तो सुरु भएको छैन,’ उनले भने ।

वैद्यले शान्तिको युग क्रान्ति गरेपछि आउने पनि बताए । ‘सत्ताधारी वर्गले जनतालाई शोषण, उत्पीडन, दमन गर्ने कम्युनिष्ट नामधारीहरू शहिदको रगतको आहालमा डुबेर सत्तामा जाने अनि शान्ति कसरी हुन्छ ? शान्तिको युग क्रान्ति गरेपछि आउँछ । बन्दुक उठाएपछि के हुन्छ ? बन्दुक उठ्छ,’ उनले भने ।

महासचिव वैद्यले मजदुर, किसान, महिला, दलित, आदिबासी जनजाति, मधेसीलगायतको समस्या समाधान नभएकाले समस्या समाधानका लागि क्रान्तिको तयारी गर्नुुपर्ने बताए ।

Categorized in राजनीति